एईईमा जिल्ला प्रथम हुने विद्यार्थी र विद्यालयलाई ५० हजार पुरस्कार वितरण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा
चरिकोट, भदौ २३
२०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दोलखा जिल्ला प्रथम भएका दुई विद्यार्थी नगदसहित पुरस्कृत हुनुभएको छ । पुरस्कृत हुनेमा बैतेश्वर गाउँपालिका, मैनापोखरी स्थित हनुमन्तेश्वर माविका आदेश दाहाल र पूर्णिमा मिजार हुनुहुन्छ । उहाँहरुलाई बैतेश्वर गाउँपालिकाले विद्यार्थी प्रोत्साहन कार्यक्रम अन्र्तगत जनही ५० हजार रुपैयाँ सहित सम्मानपत्रले सम्मान गरेको हो ।
सम्मान ग्रहण गर्दै उहाँहरुले नमूना विद्यालयमा अथक लगनशीलता र मिहिनेतपूर्वक गरिएको अध्ययनको प्रतिफल एईईको नतिजामा आएको र त्यसको कदर गर्दै गाउँपालिकाले गरेको सम्मानले आफूहरुलाई निकै खुशी बनाएको बताउनु भयो । एउटा खुट्किला एईईलाई उत्कृष्टता र सफलता पूर्वक पार गरिएको र अबको बाटो अझ बृहत हुने भएकोले उत्कृष्टताका लागि मिहिनेतलाई जारी राख्ने उहाँहरुले सुनाउनु भयो ।
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा गाउँपालिकाले एईईमा जिल्ला प्रथम हुन सफल हुने विद्यार्थी, विद्यालय र पालिकाभित्रका उत्कृष्ट विद्यार्थीहरुलाई अध्ययनमा उत्कृष्टता कायम राख्न प्रोत्साहन स्वरुप पुरस्कृत र सम्मानित गरेको हो । गाउँपालिकाका शिक्षा शाखाका शाखा अधिकृत ऋषिराम ज्ञवालीका अनुसार कार्यक्रममा एक दशक देखि उत्कृष्ट र नमूना नतिजा ल्याउन सफल हनुमन्तेश्वर माविलाई नगद ५० हजार सहित प्रमाणपत्रले सम्मान गरिएको छ । त्यसैगरी गाउँपालिकाभित्रको सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गरी एसईईमा उत्कृष्ट नजिता ल्याएर उत्तीर्ण भएका ३२ जना विद्यार्थीलाई पनि नगदसहित पुरस्कार वितरण गरिएको हो ।
उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहन होस् भन्ने उद्देश्यले एईईमा जिल्ला प्रथम हुने विद्यार्थी, र उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरिएको र उत्कृष्ट हुने विद्यालयलाई उत्कृष्टता निरन्तरतामा प्रोत्साहन मिलोस् भनेर सम्मान गरिएको शिक्षा शाखाका सहायक प्राविधिक जनक अधिकारीले सुनाउनु भयो । गाउँपालिकाले नै उत्कृष्ट विद्यार्थी र विद्यालयलाई पुरस्कृत गरेपछि पालिकाका अन्य विद्यालयलाई समेत उत्कृष्ट हुन प्रेरणा मिल्ने बताइएको छ । कार्यक्रममा बालबालिकाहरुले सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि सहित शिक्षक, विद्यार्थी र सरोकारवाला सबैको उपस्थिति रहेको थियो ।

Shares

Dikshan Online TV

Be the first to comment on "एईईमा जिल्ला प्रथम हुने विद्यार्थी र विद्यालयलाई ५० हजार पुरस्कार वितरण"

Leave a comment

Your email address will not be published.


*