कर्मचारी ट्रेड युनियन खारेज गर्न पोखरेलको माग

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ध्रुव आचार्य
चरिकोट, १४ पुस
दोलखाका जनप्रतिनिधिले कर्मचारी ट्रेड युनियन खारेजीको माग गरेका छन् । गाउँपालिका महासंघ नेपाल ३ नं. प्रदेश संयोजक समेत रहेका तामाकोसी गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले काम गर्नका लागि कर्मचारीले नै असहयोग गरेको भन्दै सम्पूर्ण ट्रेड युनियनहरु खारेजीको माग गरेका हुन् ।
शुक्रबार निजी आवास पुर्न निर्माणमा खटिएका प्राविधिकहरुका लागि सञ्चालित तालिमको समापन कार्यक्रममा अध्यक्ष पोखरेलले कर्मचारीहरुकै असहयोगका कारण स्थानीय सरकारले लक्ष्य अनुसार काम गर्न नसकेको दाबी गरे । ‘तामाकोसी गाउँपालिकामा ३० जनाको दरबन्दी छ, तर ३ जना मात्र कार्यरत छन्’ उनले भने ‘२७ पद रिक्त छ, न माथिबाट पठाउँछ, न त नयाँ भर्ना गर्न दिन्छ ?’काम गर्ने ठूलो संख्यामा कर्मचारी नहुँदा कसरी काम गर्न सकिन्छ ? उनले प्रश्न गरे ।
‘ट्रेड युनियनमा बस्ने कर्मचारीहरु सिंहदरबार वरपर बस्ने, न त आफू काम गर्छ न अरुलाई काम गर्न दिन्छ’ उनले भने ‘सरकार सफल हुन यस्ता ट्रेड युनियनहरु खारेज गर्नु पर्छ ।’
स्थानीय तहहरुमा कर्मचारी नहुँदा धेरै ठाउँमा कृषि र स्वास्थ्यका कर्मचारीलाई वडा सचिवको जिम्मा दिएका छन् । प्राविधिक कर्मचारीहरु अभावमा विकास निर्माणको काम प्रभावित भएको छ ।

उत्साहित भएर गाउँ फर्किए इञ्जिनियरहरु
पुर्न निर्माणमा खटिएका गाउँ गाउँमा कार्यरत इन्जिनियरहरु उत्साहित भएर गाउँ फर्किएका छन् । भवन निर्माण प्रविधि सम्बन्धि क्षमता विकास तालिममा सहभागी भएर जिल्लाभरका इन्जिनियरहरु पुर्न ताजगी भएर फर्किएका हुन् ।
हुराडेक दोलखा र ग्रामीण उद्यम विकास केन्द्र दोलखाको आयोजना भएको तालिममा निजी आवास पुर्न निर्माणमा संलग्न इन्जिनियर, सव इन्जिनियर, असिष्टेन्ट सव इन्जिनियर गरी १६६ जना सहभागी थिए । यूएडिपीको आर्थिक सहयोगमा सञ्चालित उत्थानसिल पुर्न निर्माण तथा पुनः स्थापना परियोजनाले २०७२ को भुकम्पपछि अति प्रभावित जिल्लामा सञ्चालित छ ।
तालिम समापन कार्यक्रममा दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेले प्रशासनिक गल्तिले ठूलो क्षति हुन्न दुःख पाइन्छ तर प्राविधिक त्रुटीले ठूलो दुर्घटना निम्त्याउने हुँदा प्राविधिकहरुलाई यसप्रति ध्यान दिन आग्रह गरे ।
हुराडेक दोलखाका अध्यक्ष होम पाठकले अनुदान वितरण न्यायोचित नभएको बताए । सक्षमहरुको घर बनि सकेको तर विपन्न, दलित, अपाङ्गको मात्र घर बन्न बाँकी भएकाले यसप्रति सहज गरिदिन समेत इन्जिनियरहरुलाई आग्रह गरे ।
ग्रामिण उद्यम विकास केन्द्र दोलखाका कार्यक्रम संयोजक सुमन उप्रर्ेती परियोजनाले पुर्ननिर्माण, जीविकोपार्जन र विपत् जोखिम न्यूनीकरणमा सहयोग गर्ने जानकारी दिए । हुराडेक नेपालका कार्यक्रम संयोजक मदनकुमार पाण्डेले ६ चरणमा सञ्चालित तालिमबाट निजी आवास पुनः निर्माणमा सहज बनाउने विश्वास व्यक्त गरे । परियोजना भीमेश्वर नगरपालिकाको वडा नं. ८ र ९ साथै शैलुङ गाउँपालिकाको वडा नं. ३, ४, ५, ६ र ७ मा सञ्चालन हुने छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "कर्मचारी ट्रेड युनियन खारेज गर्न पोखरेलको माग"

Leave a comment

Your email address will not be published.


*