किसानहरूको गुनासोः बन्दुक पड्काए पनि भाग्दैन बाँदर

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर विश्वकर्मा
चरिकोट, साउन २४
दोलखाको भीमेश्वर नगरपालिकाका किसानहरूले बन्दुक पड्काउँदा समेत बाँदर भाग्न छाडेको गुनासो गरेका छन् । बाँदरले किसानलाई हैरानी खेलाएपछि नगरपालिकाले दुई वर्ष अघि राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँबाट खरिद गरी बाँदर भगाउन कार्बन पड्काउने ३० वटा बन्दुक नौ वटै वडामा वितरण गरेको थियो । सुरुमा सुरुमा बन्दुक पड्‌किँदा ठूलो आवाजले डराएर बाँदर भागेको र केही महिना गाउँमा देखिनै छाडेको थियो ।  तर अहिले बाँदरको संख्या बढेको र बन्दुक पड्काउँदा समेत भाग्नै छाडेको किसानहरूले गुनासो गरेका हुन् ।
बन्दुक पड्किने बित्तिकै बाँदर बेतोडले भाग्ने गरेको भएपनि अहिले बन्दुक पड्काउँदा पनि बाँदर भाग्न छाडेको वडा नं. ४ का किसान रामजीप्रसाद चौलागाइँले सुनाउनुभयो । “किसानहरूलाई समस्या भयो भनेर नगरपालिकाले दिएको बन्दुक अहिले दिनहुँ जसो पड्केको सुनिन्छ । त्यसले बाँदर तर्सिने तर भाग्न अटेर गर्ने गरेको छ । बरु उल्टै मानिसलाई अहित गर्ने गरी ध्वनि प्रदुषण भईरहेको छ ।” उहाँले भन्नुभयो “बाँदरको बदमासी बन्दुकको आवाजले मात्र रोकिएन । अब यसको विकल्पमा सरकारले तुरुन्तै अर्को उपाय निकालेर काम गर्नुपर्छ ।” पहिले बाँदरले घर भन्दा केही दूरीमा रहेको खेतबारीमा मात्र बदमासी ग¥थ्यो । मान्छेको नजिक हुन डर मान्थ्यो । तर अहिले त मानिस देखेर समेत बाँदर नभाग्ने बरु उल्टै आक्रमण गर्न खोज्ने र बन्दुकले समेत काम गर्न छाडेको उहाँले बताउनुभयो । “अहिले त खेतबारीमा मात्र होइन, घरघरमा बाँदर आएर आएर दुख दिन थालेको छ ।” उहाँले भन्नुभयो “घरमा चोरको भन्दा पनि बाँदरको डर मान्नु पर्ने बेला आयो । त्यसैले एक जना घर र एक जना बारीमा हेरालु बस्न थालेका छन्  ।”
किसानहरूले बाँदर भगाउन खेतबारीमा पहिले पहिले बुख्याँचा बनाए । गुलेली जस्ता सामान्य अस्त्रको प्रयोग गरे । त्यसले पनि सधैँको लागि बाँदर गाउँबाट भागेन ।  थाल र नाङ्लो ठट्याए । मुख दुख्ने गरी शङ्ख फुके । यसले छोटो समयको लागि काम गरे पनि दीर्घकालीन रुपमा बाँदर समस्या हटेन । अहिले बाँदर भगाउन बन्दुक जस्तो यन्त्र प्रयोग गरिएपनि त्यसले पनि दिगो रुपमा समस्या नटरेको भन्दै किसानहरूले आक्रोश व्यक्त गरेका छन् ।
 किसान चन्द्रलाल श्रेष्ठले भन्नुभयो “अन्य जिल्लामा बन्दुक पड्काउँदा बाँदर भागेको थाहा पाएर नगरपालिकाले पनि उही उपाय अनुसरण गरी आविष्कार केन्द्रबाट बन्दुक खरीद गरी बाँड्यो ।” तर किसानलाई सदाको लागि बाँदरबाट मुक्ति मिलेन । अब त बन्दुकको उपयोगिता देखिएन ।” उहाँले पहिले पहिले बाँदर भागेको कुरा सम्झिदै अहिले पनि भाग्ने आशाले बन्दुक पड्काउने गरेको भएपनि कार्बनको मात्र खर्च हुने तर बाँदर नभाग्ने बताउनुभयो ।
प्लास्टिकको पाइप जस्तो बन्दुकबाट आवाज मात्र निस्कने र बाँदरलाई कुनै हानी नगर्ने भएपछि बाँदर अटेरी बनेको उहाँको गुनासो छ । “बन्दुकबाट गोली निस्कने भएको भए बाँदर मर्ने र डराएर अरु बाँदर आउनै छाड्ने थियो कि !” उहाँले भन्नुभयो । उहाँले अब नयाँ उपाय निकाल्ने भए चाँडै निकाल्नु पर्ने र सम्भव नभए कानुन बनाएर बाँदर मार्ने वातावरण बनाउनु पर्ने उहाँले आक्रोश पोख्नुभयो ।
भीमेश्वर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता तारानाथ चौलागाईँले बाँदर भगाउने यन्त्रको प्रभावकारिता नदेखिएको स्वीकार गर्नुभयो । “दुई वर्ष अघि नगरपालिकाले ३० थान बाँदर भगाउने यन्त्र वितरण गरेको थियो । यो वर्ष पनि ५० वटा वितरण गरेको छ । तर त्यसले किसानलाई राहत दिन नसक्ने कुरा किसानहरुको गुनासो छ ।” उहाँले भन्नुभयो “ यन्त्रका लागि चाहिने केमिकल पनि पाउनै मुस्किल हुन्छ । यता पाउन सकिदैन । पाइहालेमा पनि त्यसलाई पड्काउँदा बाँदर भागेको पाइएको छैन ।” दुई वर्ष अघि बाँढेको यन्त्रको प्रभावकारिता नदेखिएकोले बरु गुलेली वितरण गर्नुपर्ने आफुले प्रस्ताव राखेपनि नगरपालिकामा त्यसको सुनुवाई नभएको बताउनुभयो । उहाँका अनुसार अहिले ग्रामीण क्षेत्रमा बाँदरको समस्या अत्यधिक मात्रामा रहेको छ । बाँदरले भर्खर टुसाएको देखि पाक्न लागेको अन्नबालीमा समेत क्षति गर्दा किसानहरु पीडित भएका छन् । बाँदरको बदमासी रोक्नका लागि अहिले सम्म विश्वासिलो, प्रभावकारी र सजिलो उपाय नदेखिएको प्रवक्ता चौलागाईँले बताउनुभयो । नगरपालिकाका अनुसार बाँदर भगाउने यन्त्र खरीदमा दुई पटकमा गरी दुई लाख बढी खर्च भएको छ । तर बाँदर भगाउने योजना सफल हुन नसकेको किसानहरूले बताएका छन् ।

Shares

Dikshan Online TV

Be the first to comment on "किसानहरूको गुनासोः बन्दुक पड्काए पनि भाग्दैन बाँदर"

Leave a comment

Your email address will not be published.


*