खरी उद्योग पुनः सञ्चालनको माग

ताजा समाचारको लागि फलो गर्नुहोस ।

बाबुराम शर्मा (चरिकोट) –दोलखाको भीमेश्वर नगरपालिका–९ मा रहेको नेपाल ओरियन्ड म्याग्नेसाइट कम्पनी पुनः सञ्चालनमा ल्याउनु पर्नेमा दोलखाका राजनीतिकर्मी एवम स्थानीयले जोडदार माग गर्नु भएको छ । यो उद्योग पुनः सञ्चालनमा ल्याउन सके रोजगारीको अवसर पाउनु साथै देशको अर्थतन्त्रमा टेवा पुग्ने भन्दै स्थानीयले यो उद्योग संञ्चालनको माग गर्नु भएको हो । नेपाली काँग्रेस दोलखा जिल्ला पार्टी सभापति बर्मा लामाले भन्नु भयो, “यसलाई सरकारले चलाउन नसक्दा यो परिस्थिति आएको हो । सरकारले प्राइभेटलाई दिएर सञ्चालनमा ल्याई वाचडगको काम गर्नु पर्दछ । यसो गरे राष्ट्र र स्थानीयलाई समेत फाइदा हुन्छ । ”नेपाल कम्युनिस्ट पार्टी एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले भन्नु भयो, “यो कम्पनी सञ्चालनमा आउन नसक्नु सरकारको कमजोरी हो । यसैले निम्त्याएको भूक्षयले स्थानीयले दुरवस्था भोगिरहेका छन् । रोजगारी समेत सिर्जना हुने भएकाले छिट्टै चलायमान अवस्थामा उद्योग आउनु पर्दछ । ”स्थानीयले रोजगारी पाउने, राज्य तथा जिल्लालाई नै प्रत्यक्ष फाइदा हुने भएकाले तत्काल सञ्चालनमा ल्याउनुपर्ने धारणा राख्दै नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक कुलबहादुर बुढाथोकीले बताउनु भयो । भारतको कानुनलाई हटाएर नेपाल सरकारले नीति नियम बनाएर सञ्चालन गर्नुपर्ने उहाँले बताउनु भयो । करिब चार दशकभन्दा अघि सञ्चालनमा आई १० वर्ष नबित्दै बन्द हुन भएको थियो । ८० वर्षे आयोजना संञ्चालन गर्ने सम्झौता भएपनि सञ्चालकको विवादको कारण उद्योग बन्द भएको थियो । बजारमा राम्रो मुल्य नपाएको बाहाना बनाउँदै तत्कालिन अबस्थामा उद्योग बन्द गरिएको थियो ।
तीन अर्ब ५९ करोडको लगानीमा २०३६ सालदेखि सञ्चालनमा आएको उद्योगमा नेपाल सरकारको ७५ प्रतिशत, भारतीय कम्पनी उडिसा इन्ड्रस्ट्रिज लिमिटेडको साढे बाह्र प्रतिशत र नेपाली लगानीकर्ता मोहनगोपाल खेतानको साढे बाह्र प्रतिशत लगानी रहेको थियो । भारतीय लगानीकर्ताले आफ्नो लगानीको शेयर फिर्ता मागेकोमा नेपाल सरकारले भने चुक्ता गरिसकेको जनाएको छ । नेपाल सरकारले उद्योगमा लगानी गर्ने खेतानलाई उद्योग सञ्चालन गर्न अनुमति पनि दिएको थियो । म्याग्नेसाइट तथा खरी प्रशोधनका लागि सिन्धुपाल्चोकको लामोसाँघुसम्म पु–याउन २०४० सालतिर १६ करोड रुपियाँमा ८७ वटा रोपवे निर्माण भएकोमा ती रोपवे सञ्चालन गरेको एक हप्ता नबित्दै बिग्रिएपछि थन्किएका छन् । खानीमा एक हजार आठ सय टन म्याग्नेसाइट रहेको अनुसन्धनले देखाएको छ । यो उद्योगको रोपवे मात्र होइन खानी क्षेत्रमा निर्माण गरिएका अन्य भौतिक संरचना पनि बेवारिसे अवस्थामा छन् ।
करोडौँका सामान खिया लागे बिग्रिएका अवस्थामा छन् । खानी परिसरमा चार वटा डोजर, १२ वटा ट्रिपर र होल खोप्ने तीन वटा मेसिन अलपत्र अवस्थामा देखिन्छन् । स्थानीयका अनुसार उद्योगका भौैतिक संरचनामध्ये एक नम्बर कोलोनीमा रहेका भवन भग्नावशेष मात्र छन् । मुख्य साइटकार्यालय परिसरमा थोत्रा गाडी राखिएका छन् । विरलै चार÷पाँच जना चौकीदार मात्र त्यहाँ भेटिन्छन् । उद्योग सञ्चालनमा रहँदा पाँच सय कर्मचारी तथा दुई हजार मजदुर रहेका थिए । अहिले पनि खरिढुङगा, तौथली, टेकनपुर, लामोसाँघु र काठमाडौँमा गरी चौकीदारसहित १८ जना कर्मचारी छँदैछन् । यिनीहरुको तलब सरकारले व्यहोरिरहेको छ । अझै पनि खानीमा एक हजार आठ सय टन म्याग्नेसाइट रहेको अनुसन्धनले देखाएको छ । ४० वर्ष बितिसक्दा पनि व्यवस्थित रुपमा खानी सञ्चालन गर्ने सम्बन्धित निकायको खासै चासो नरहेकोमा स्थानीयहरु चिन्तित रहेका छन् ।

Shares

Be the first to comment on "खरी उद्योग पुनः सञ्चालनको माग"

Leave a comment

Your email address will not be published.


*