खिम्ती १ को क्षमता १२ मेगावाट क्षमता बढाउने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा , २५ माघ
नर्वे सरकारको लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको क्षमता बढाउन हिमाल पावर लिमिटेडले आवेदन दिएको छ । पिपिए म्याद पूरा हुन दुई वर्ष बाँकी हुँदा क्षमता बढाउन विद्युत् विकास विभागमा आवेदन दिएको हो ।
सरकारले कम्पनीलाई २०५१ फागुन १ गते विद्युत् उत्पादन अनुमतिपत्र दिएको थियो । आयोजनाबाट २०५७ असार २७ गते (सन् २०००, जुलाई ११) मा विद्युत् उत्पादन भएको थियो । उत्पादन भएको मितिबाट सुरु भएर २० वर्षमा पिपिए संशोधन हुने प्रावधान छ ।
उत्पादन अनुमतिपत्र ५० वर्षका लागि दिए पनि पिपिए २० वर्षमा संशोधन हुने प्रावधान राखिएको छ । जसअनुसार २०७७ असार २६ गते (सन् २०२० जुलाई, १०) मा सम्झौता सकिन्छ । यसपछि आयोजनाको ५० प्रतिशत स्वामित्व सरकार वा नेपाल विद्युत् प्राधिकरणमा आउँछ । आधा स्वामित्व सरकारमा आएपछि आम्दानी कम हुने हुँदा क्षमता थप्न आवेदन दिएको विभागका उच्च अधिकारी बताउँछन् ।
कम्पनीले १२ मेगावाट क्षमता थपेर अर्धजलाशय निर्माण गर्ने प्रस्ताव गरेको छ । सरकारले नदी प्रवाही, अर्धजलाशय र जलाशय आयोजनाको पिपिए दर यसअघि नै निर्धारण गरेको छ । कम्पनीले अर्धजलाशयको पिपिए पाउन पनि क्षमता बढाउन लागेको विभागको तर्क छ ।
१२ थपिएपछि आयोजना ७२ मेगावाट हुनेछ । तर, १२ मेगावाटको मात्र नयाँ पिपिए हुनुपर्ने विभागका एक अधिकारीले बताए । ‘अर्धजलाशयको अध्ययन गर्न सैद्धान्तिक सहमति मागेको छ,’ उनले भने, ‘पिपिए संशोधन गर्नुपूर्व थप क्षमताको अनुमतिपत्र दिनु हुँदैन ।’ कम्पनीले गत मंसिर १३ गते विभागमा क्षमता थप्न आवेदन दिएको थियो ।
यस्तै, पुस १८ गते यसबारे प्रस्तुतिकरण समेत गरेको विभागले जानकारी दिएको छ । प्राधिकरणले खिम्तीको विद्युत् अहिले प्रतियुनिट १०.९५ रुपैयाँमा किनिरहेको छ । खिम्तीले सरकारलाई तिर्नुपर्ने विद्युत् रोयल्टी समेत प्राधिकरणले तिर्दै आएको छ । यो अमेरिकी डलरमा गरिएको अहिलेसम्मकै महँगो पिपिए हो ।
पहिलो पटक खिम्तीको पिपिए ५.२ सेन्टमा भएको थियो । पछि यसलाई संशोधन गरी ५.९ सेन्ट कायम गरियो । पिपिए दरमा राखिएको मूल्यवृद्धिले अहिले प्रतियुनिट झन्डै ११ रुपैयाँ पुग्छ । प्राधिकरणले आफ्नो वार्षिक आम्दानीको करिब ३० प्रतिशत खिम्ती र ४५ मेगावाटको भोटेकोसीलाई मात्र तिर्दै आएको छ ।

Shares

Be the first to comment on "खिम्ती १ को क्षमता १२ मेगावाट क्षमता बढाउने"

Leave a comment

Your email address will not be published.


*