गर्जाङ–खिम्ती प्रसारण लाइन निर्माण सुस्त

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट, १७ साउन
१३२ केभी रामेछाप–गर्ज्याङ÷खिम्ती प्रसारण लाइनको निर्माण सुस्त गतिमा अघि बढेको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको प्रसारण लाइन अबको ५ महिनामा पूरा गर्नुपर्ने तालिका भए पनि कामले गति लिन नसकेको हो ।
रामेछापको गोकुलगंगा गाउँपालिकाका चुचुरेमा निर्माण हुने १३२ केभी सबस्टेसनको डिजाइन परिवर्तन गर्नु परेकाले तालिका अनुसार प्रसारण लाइनको प्रगति हुन नसकेको आयोजना प्रमुख प्रनिल पराजुलीले बताए । उनका अनुसार यो प्रसारण लाइन पूरा गर्न ६ महिना अवधि लम्बिने भएको छ । ‘सबस्टेसनको डिजाइन २ पटक गर्नु परेकाले निर्माणमा केही ढिलो भएको हो,’उनले भने,‘जग्गा प्राप्ती, वनको रुख कटानलगायत महत्वपूर्ण कामको स्वीकृति मिलिसकेकाले वर्षापछि कामले गति लिन्छ ।’
जग्गा अधिग्रहण गर्न तथा वनको रुख काट्ने स्वीकृति लिन समय लागेकाले प्रसारण लाइनको काम सुरु गर्न ढिलाइ भएकाले थोरै प्रगति देखिएको उनको भनाई छ । प्रसारण लाइनको रुट पर्ने सामुदायिक र राष्ट्रिय वन क्षेत्रको १ हजार ५ सय रुख काटिएको छ । गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने १ सय ५० रुख कटान गर्न पनि स्वीकृति प्राप्त भइसकेको छ । सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर ६ महिना अघिबाट निर्माण थालिएको प्रसारण लाइन १० प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ ।
चुचुरेस्थित सबस्टेसनमा पावर ट्रान्सफर्मरको जग निर्माण भइरहेको छ । सबस्टेसनको ‘कन्ट्रोल रुम’ पनि तयार भइरहेको छ । यस्तै, प्रसारण लाइनको ‘फाउन्डेसन’को काम सुरु भएको छ । चुचुरेदेखि न्यु खिम्ती सबस्टेसनसम्म पर्ने ३१ किलोमिटर लामो प्रसारण लाइनको १ सय ५ मध्ये ९ वटाको फाउन्डेसन सकिएको छ । अवको ६ महिनामा सबस्टेसनको पावर ट्रन्सफर्मर राख्ने फाउन्डेसन तयार गरेर ७० वटा टावरको फाउन्डेसन पूरा गर्ने लक्ष्य छ ।
आयोजना अन्तर्गत प्राधिकरणले ३१ किलोमिटर लामो लाइन र एउटा सबस्टेसन निर्माण गर्नेछ । प्रसारण लाइन जोडिने न्यु खिम्ती प्रसारण लाइन अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले निर्माण गर्नेछ । यो प्रसारण लाइन पूरा भएपछि रामेछापमा निर्माणाधीन तथा निर्माणमा प्रवेश गर्ने क्रममा रहेका १ सय मेगावाट बराबरका आयोजनाको विद्युती प्रणालीमा जोडिनेछ । प्रसारण लाइन तथा सबस्टेसन पूरा गर्न १ अर्ब रूपैयाँ खर्च हुने अनुमान छ ।
यो प्रसारण लाइनमा तत्कालै हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरिरहेको १९ मेगावाटको उपल्लो खिम्ती र खिम्ती दोस्रो, साँढे ३ मेगावाटको चाके खोलाको विद्युत जोडिने छ । गर्जाङ–खिम्ती प्रसारण लाइनको काम हिमालय ऊर्जाकै टोलीले ठेकेदारीको काम गरिरहेको छ ।

Shares

Be the first to comment on "गर्जाङ–खिम्ती प्रसारण लाइन निर्माण सुस्त"

Leave a comment

Your email address will not be published.


*