चरिकोट (दीस) ः दोलखाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चरिकोटमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरिने भएको छ । नयाँ वर्षको अवसरमा चरिकोटमा उक्त फेस्टिभल सञ्चालन गर्न लागिएको हो । “सडकमै खाऔँ, सडकमै रमाऔँ – रैथाने स्वाद र संस्कृतिसँगै नयाँ वर्ष चरिकोटमा मनाऔँ“ भन्ने नारासहित जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तीनदिने स्ट्रिट फुड फेस्टिभल २०८२ आयोजना गर्न लागिएको हो । दोलखा चेम्बर अफ कमर्स र होटेल तथा पर्यटन व्यवसायी संघ दोलखाले संयुक्त रूपमा फेस्टिभलको आयोजना गर्न लागेको सोमबार चरिकोटमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । चेम्बर अफ कमर्स दोलखाका अध्यक्ष रुद्रजंग बुढाथोकीले दोलखाको पर्यटन प्रवद्र्धन गर्न फेस्टिभल आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार फेस्टिभलमा दोलखाको रैथाने खानालाई प्राथमिकता दिइने छ ।
महाभूकम्प, नाकाबन्दी र आर्थिक मन्दीका कारण २०७६ सालमा देखिएको कोभिड १९ ले ठप्प पार्न लागेको व्यापार–व्यवसायलाई चलायमान गराउने उद्देश्यले दोलखाको कृषि, पर्यटन, महिला उद्यम, स्थानीय जातजातिका रैथाने परिकार तथा लोपोन्मुख सांस्कृतिक क्षेत्रलाई प्रवद्र्धन गर्न यो फेस्टिभल गर्न लागिएको उहाँको भनाइ छ ।
जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई दोलखाको धार्मिक, पर्यटकीय एवं सांस्कृतिक पहिचान स्थापित गराउने उद्देश्यले लोपोन्मुख जातजातिका रैथाने खानाको प्रवद्र्धन तथा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने योजना रहेको आयोजकले जनाएको छ । कार्यक्रममा खानाको प्रतियोगिता, प्रदर्शनी तथा स्वाद परीक्षण गरिने उहाँले बताउनु भयो ।
फेस्टिभलमा सांस्कृतिक कार्यक्रमअन्तर्गत स्वदेशगानमा नृत्य प्रतियोगिता, लाइभ दोहोरी, परम्परागत झाँकी प्रदर्शन लगायत विविध गतिविधि समावेश गरिने तथा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रत्यक्ष प्रस्तुति एवं प्रदर्शनी गरिने आयोजकले जानकारी दिएको छ ।
स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रत्यक्ष प्रस्तुति निशुल्क हेर्न पाइने व्यवस्था गरिएको जनाइएको छ ।
होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष कुमार श्रेष्ठका अनुसार फेस्टिभलमा पर्यटकलाई सडकमै खान खुवाइनेछ भने होटेलहरूले लजिङ सुविधामा ५० प्रतिशत छुट व्यवस्था मिलाएको छ । फेस्टिभल नयाँ बर्षको अवसरमा भएकाले यसलाई परिवारिक बनाउन पनि अनुरोध गरिएको उहाँको भनाई रहेको छ । उहाँका अनुसार चैत ३१ गते सुरु हुने यो फेस्टिभल वैशाख २ गते समापन हुने छ । फेस्टिभल सडकमा हुने भएकाले चरिकोटमा निर्माणधीन सडक छिटो सम्पन्न गरिदिन पनि आयोजकले आग्रह गरेको छ ।
चरिकोटमा तीनदिने ‘स्ट्रिट फुड फेस्टिभल’ आयोजना हुने

Be the first to comment on "चरिकोटमा तीनदिने ‘स्ट्रिट फुड फेस्टिभल’ आयोजना हुने"