जिरीमा ५ सय मेट्रिकटन क्षमताको चिस्यान केन्द्र निर्माण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्कर्मा
चरिकोट, असार २०  
दोलखाको जिरी नगरपालिका वडा नं. ५ स्थित लिंकन बजारमा निर्माणाधीन ५ सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेशको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माणाधीन केन्द्रको ९८ प्रतिशत सम्पन्न भएको हो ।
कुल पाँच करोड ३७ लाख लागतमा निर्माण सुरु भएको निर्माणाधीन केन्द्रको फिनिसिङको काम भइरहेको जिरी नगरपालिकाका कृषि प्राविधिक लबहरी खत्रीले बताउनुभयो । उहाँका अनुसार इलेक्ट्रिकल र वायरिङको काम धमाधम भइरहेको छ । सोको समापन पश्चात केन्द्र सञ्चालनका लागि तयार हुने छ । “अहिले बाँकी रहेका कामहरू पूर्णता दिन लागिएको छ । केही दिनमै सो काम पूरा भएपछि केन्द्र सञ्चालन गर्न सकिने छ ।” कृषि प्राविधिक खत्रीले भन्नुभयो, “ यसमा विषेश गरी किवी र आलु भण्डारण हुने छ ।” किसानद्वारा उत्पादित तरकारी र फलफूल बिक्री एवं खपत नभएको खण्डमा ६ महिनासम्म केन्द्रमा भण्डारण गरी सुरक्षित राख्न सकिन्छ । राम्रो भाउ पाएको बेला भण्डारण गरिएको कृषि उपज बिक्री गरी आम्दानी लिन सकिन्छ ।
व्यवसायिक किसानहरूलाई लक्षित गरी निर्माण भएको चिस्यान केन्द्र मुख्य बजार र सडक सञ्जालसँग जोडिएका कारण पनि लक्षित किसानलाई सहज हुने बताइएको छ । केन्द्र सञ्चालनमा आउन लागेपछि किसानहरू उत्साहित भएका वडाध्यक्ष नर बहादुर जिरेलले बताउनुभयो । उहाँले कृषिमा किसानको आकर्षण बढाउन र उत्पादित तरकारी तथा फलफूलको बजारीकरणमा सहजिकरणका लागि चिस्यान केन्द्र महत्व रहेको सुनाउनुभयो । किसानहरूले चिस्यान केन्द्र अभावमा लामो समयसम्म कृषि उपज राख्न नसक्ने अवस्था थियो । तर अब केन्द्रको सञ्चालनसँगै भण्डारणमा सहज हुने वडाध्यक्ष जिरेलले बताउनुभयो ।
शनिबारे हाट पुनः सुरु
जिरीमा उपभोक्ता र उत्पादक उपस्थित भएर खरीद तथा बक्रिी गर्नको लागि हाट लाग्न थालेको छ । करिब १५ वर्षपछि जिरी उद्योग वाणिज्य संघ र स्थानीयहरुको पहलमा पुनः नियमित हाट लाग्न थालेको हो । शनिबार लाग्ने हाटमा कृषि उपज, घरेलु तथा साना उद्योगमा उत्पादित सामाग्रीहरू ल्याएर बिक्री गर्ने र उपभोक्ताले आवश्यकता अनुसार खरीद गरी लैजाने गरेका छन् ।  साना किसान र उद्योगीहरूले उत्पादन गरेका सामाग्रीहरूको बजारीकरणको लागि हाटबजार सञ्चालन भइरहेकोमा करिब १५ वर्षदेखि बन्द अवस्थामा थियो । तीन साता अघिबाट पुनः लिंकन बजारमा हाट सञ्चालनमा आउन थालेको वडाध्यक्ष जिरेलले बताउनुभयो ।

Shares

Dikshan Online TV

Be the first to comment on "जिरीमा ५ सय मेट्रिकटन क्षमताको चिस्यान केन्द्र निर्माण"

Leave a comment

Your email address will not be published.


*