दोलखाका २ पालिकामा शैलुङ र बैतेश्वरमा खाजा खर्च थप

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार÷ चरिकोट, – दोलखाका दुई पालिकाले चालु आवदेखि विद्यार्थीहरुका लागि खाजा खर्च थपिदिएका छन् । विद्यालयको दिवा खाजा कार्यक्रमलाई दिगो, प्रभावकारी र गुणस्तरीय बनाउन बैतेश्वर र शैलुङ गाउँपालिकाले खाजा खर्च बापत ५ रुपैयाँ थप गरिदिएका हुन् । संघीय सरकारले १ सय ८० दिनका लागि प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ खाजा खर्च उपलब्ध गराइरहेको छ । त्यसमा पालिकाको तर्फबाट ५ रुपैयाँ थप गरिएपछि बैतेश्वर र शैलुङ गाउँपालिकाका सबै विद्यार्थीले चालु आवदेखि २० रुपैँया बराबरको खाजा खान पाउने भएका छन् । शैलुङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख सन्तोष दाहालले महङ्गीको बेलामा खाजा खर्चको रकम कम हुँदा मेनु अनुसार खुवाउन कठिनाई भएको भन्ने गुनासोलाई सम्बोधनका लागि पालिकाको तर्फबाट रकम थप गरिएको सुनाउनु भयो । “संघीय सरकारले एक जना विद्यार्थी बराबर दैनिक १५ रुपैयाँ खाजा खर्च उपलब्ध गराउने गरेको छ । त्यतिले मात्र विद्यार्थीलाई पर्याप्त नहुने भएकोले पालिकाको तर्फबाट ५ रुपैयाँ थपेर खाजा खुवाउन थालिएको छ ।” उहाँले भन्नुभयो “दिवा खाजा कार्यक्रम सञ्चालन हुँदा खुशी भएका विद्यार्थीहरुलाई पालिकाले पनि संघीय सरकारको खर्चमा थपेर, बढाएर खर्च दिन थालेपछि उनीहरुमा थप उत्साह र सन्तुष्टि मिलेको पाइएको छ ।” पहिले भन्दा अहिले खाजाको मात्रा र गुणस्तर पनि केही बढेको छ । मेनु अनुसार खाजा खुवाउन केही सहजता मिल्नुका साथै कार्यक्रम प्रभावकारी हुन थालेको शिक्षा शाखा प्रमुख दाहालले सुनाउनु भयो । शैलुङ गाउँपालिकामा २८ वटा विद्यालयमा खाजा कार्यक्रम सञ्चालन भईरहेको छ । बैतेश्वर गाउँपालिकाका प्राविधिक सहायक जनक अधिकारले दिवा खाजा कार्यक्रमको उत्कृष्टता र प्रभावकारिताका लागि खर्च थपिएको बताउनु भयो । पालिकामा कतिपय विद्यालयले विद्यालयमै खाजा बनाएर खुवाउने गरेका छन्, भने केहिले नगद दिने गरेका छन् । खाजा खर्च बापतको रकम थपिएपछि विद्यार्थीहरुमा उत्साह र पढाइमा जाँगर पनि थपिएको उहाँले बताउनु भयो । टाढा टाढाबाट विद्यालय आउने विद्यार्थीहरुलाई थकान र भोकको महसुस हुँदा उनीहरुले कक्षामै निदाउने र भोक मेट्न बिचमै कक्षा छाडेर घर जाने हुँदा पढाइ प्रभावित हुने गरेको थियो । पैसा हुनेहरुले पनि आफूखुशी पत्रु खाना (जङ्गफुड) र तयारी बासी खानेकुरा खाने हुँदा बेलाबेलामा विद्यार्थीहरु स्वास्थ्य समस्याको चपेटामा पर्ने गरेका थिए । दिवा खाजा कार्यक्रम लागू भएपछि विद्यालयमा सबै विद्यार्थीले समानस्तरको खाजा खान पाउँदा पढाइमा रुचि जगाएका छन् । विद्यार्थीमा पेटको भोक मेटेपछि शिक्षाको भोक जाग्ने गरेको हो । स्थानीय कृषि उत्पादनबाट बनाइने खाजा खुवाउन थालेपछि विद्यार्थीमा पत्रु खाना प्रतिको मोह कम भएको छ । अहिले विद्यार्थीहरु विद्यालयमा नियमित उपस्थित हुनुका साथै कक्षा छाड्ने क्रम पनि रोकिएको शिक्षकहरुले बताएका छन् ।

Shares

Dikshan Online TV

Be the first to comment on "दोलखाका २ पालिकामा शैलुङ र बैतेश्वरमा खाजा खर्च थप"

Leave a comment

Your email address will not be published.


*