दोलखामा उम्मेद्वारले निर्वाचनको खर्च बुझाएनन्

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा /चरिकोट,–स्थानीय तहको निर्वाचनमा भाग लिएका दोलखाका एक हजार ४५ जना उम्मेदवारहरुले निर्वाचन खर्च विवरण पेश गर्न आलटाल गरेका छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न पदका लागि उम्मेद्वार बनेका एक हजार ४ सय २३ जना मध्ये तीन सय ७८ जनाले मात्र निर्वाचन खर्च पेश गरेका छन् । तर एक हजार ४५ जनाले भने निर्वाचन सक्किएको दुई महिना बितिसक्दा पनि अझै खर्च विवरण बुझाएका छैनन् । निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिन भित्र निर्वाचनको समयमा भएको खर्च विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिहले पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । तर स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई महिना बितिसक्दा पनि कुल उम्मेदवारमध्ये न्यून संख्याको मात्र खर्च विवरण भएको र बाँकी रहेका उम्मेदवारहरुद्धारा कानुनी व्यवस्थाको वेवास्ता भएको देखिएको हो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा (४) अनुसार तोकिएको ढाँचामा निर्वाचनमा भएको खर्च विवरण निर्वाचन आयोगमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।
तर, उम्मेदवारहरुले निर्वाचन खर्च पेश नगर्दा उक्त कानूनी व्यवस्था कार्यान्वयनमा चुनौती देखिएको छ । निर्वाचन कार्यालयका अनुसार गाउँपालिकाका प्रमुख उम्मेवदवार ७७ मध्ये ३० जना, उपप्रमुखका उम्मेदवार ४० जनामध्ये १६ जना, वडाध्यक्षका उम्मेदवार तीन ७७ मध्ये ९२ जना, सदस्य पदका उम्मेवदार ४ सय ९० मध्ये १ सय २१ जना, महिला सदस्यका उम्मेवदार २ सय ३० मध्ये ६४ जना र दलित महिला सदस्यका उम्मेदवार २ सय ९ मध्ये ५५ जनाले मात्र खर्च विवरण पेश गरेका छन् ।
अब गाउँपालिका प्रमुखका उम्मेदवार ४७ जना, उपप्रमुखका २४ जना, वडाध्यक्षका २ सय ८५ जना, सदस्य तर्फका ३ सय ६९ जना, महिला सदस्य तर्फका १ सय ६६ जना र दलित महिला सदस्यका १ सय ५४ जना उम्मेदवारले खर्च विवरण पेश गर्न बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विशाल केसीले बताउनुभयो । उहाँले निर्वाचनमा भएको खर्च विवरण बुझाउन पटकपटक अनुरोध गरिएको भएपनि खर्च विवरण बुझाउने न्यून रहनुले कानून र निर्वाचन कार्यालयको अनुरोधको वेवास्ता भएको बताउनुभयो । ‘निर्वाचन खर्च विवरण अनिवार्य बुझाउनुपर्ने कानूनले तोकेको छ । त्यसैले तोकिएको ढाँचा अनुरुप विवरण पेश गर्नुपर्छ ।’

Shares

Dikshan Online TV

Be the first to comment on "दोलखामा उम्मेद्वारले निर्वाचनको खर्च बुझाएनन्"

Leave a comment

Your email address will not be published.


*