दोलखामा पाँच सय हेक्टरमा किवी खेती

ताजा समाचारको लागि फलो गर्नुहोस ।

नवराज शिवाकोटी चरिकोट÷ दोलखामा किवी खेती गर्न कृषक आर्कषित भएका छन् । पछिल्लो तंथ्याक अनुसार दोलखा जिल्लाको पाँचसय हेक्टर भन्दा बढी क्षेत्रफलमा किवी फलको खेती हुने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना कार्यन्वयन एकाइ,दोलखा अन्तर्गत किवी जोनमा संलग्न रहेका तथा जोन वाहिर समेत गरी उक्त क्षेत्रफलमा किवी खेती गर्ने गरिएको पाइएको हो । आर्थिक वर्ष २०७८÷ ७९ को अन्त्य सम्ममा किवी जोन अन्तर्गत ३९७ हेक्टरमा किवी खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, किवी जोन दोलखाकी निमित्त प्रमुख वरिष्ठ कृषि अधिकृत प्रज्ञा श्रेष्ठले जानकारी दिनुभयो । दोलखा जिल्लामा हालसम्म जोनमा कृषक समूह, सहकारी, निजी उद्यमी तथा कम्पनी गरी कुल २७१ ओटा किवी उत्पादक समूह सहभागी रहेको उहाँको भनाई रहेको छ । किवी जोनमा आवद्ध समूहभन्दा बाहेक पनि १४० हेक्टरभन्दा बढीमा विभिन्न समूह, सहकारी, कम्पनी तथा व्यक्तिहरुले किवी खेती गरिरहेको किवी जोन दोलखाकी अध्यक्ष उषा थापाले जानकारी दिनुभयो । नौ ओटा स्थानीयतहहरु रहेको दोलखा जिल्लामा नौ स्थानीयतह मध्ये छ ओटा स्थानीय तहको २२ वटा वडाहरु किवी जोनको कार्यक्षेत्र भित्र पर्ने किवी जोन दोलखाले जनाएको छ । जोनका अनुसार भीेमेश्वर नगरपालिका वडा नम्बर १,६ ,७, ८ र ९ , जिरी नगरपालिकाका , २,४,६ र ७ तथा कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ र ९ जोनको कार्यक्षेत्र भित्र पर्दछन् । त्यसैगरी विगु गाउँपालिकाका–३ र ४ गौरिशंकर गाउँपालिका –१,३ र ४ तथा शैलुङ गाउँपालिका–३,४,५,६,७ र ८ जोनको कार्यक्षेत्र रहेको छ । आफ्नो कार्यक्षेत्र भित्रका किवी उत्पादकहरुलाई विभिन्न खालका आर्थिक तथा प्राविधिक सहयोगहरु उपलब्ध गराउँदै आएको किवी जोन दोलखाले बताएको छ । चालु आबमा दोलखामा किवी उत्पादन बढ्ने अनुमान गरिएको छ । अघिल्लो वर्ष करीब ८ मेट्रिक टन जति किवी उत्पादन भएकोमा यो वर्ष जोनभित्र तथा बाहिर रहेका किवी उत्पादन क्षेत्रबाट करीब ९ दशमलव ५ मेट्रिकटन किवी उत्पादन हुने अनुमान किवी जोन दोलखाको रहेको छ । दोलखा जिल्लामा आठ प्रकारका किवीकोे खेती हुँदै आएको छ । जसमा, एलिसन हेवार्ड, मन्टि, बरुण, रेड किवी, एबोड, गोल्डेन, मिनी किवी रहेका छन् । किवी फल अत्यन्तै पोषिलो फल मानिन्छ साथै यसबाट उच्च गुणस्तरको जुस तथा वाइन समेत बनाउन सकिन्छ । दोलखाका स्थानीय बजारहरुमा हाल किवी फलको मुल्य प्रतिकेजी ३०० देखि ४०० रुपैयाँसम्म रहेको छ । अन्य किवीको दाँजोमा रेड किवीको मुल्य बढी रहेको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "दोलखामा पाँच सय हेक्टरमा किवी खेती"

Leave a comment

Your email address will not be published.


*