दोलखामा हरित विद्यालय कार्यक्रम शुभारम्भ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर विश्वकर्मा
चरिकोट, भदौ ७
दोलखामा २०७२ को भूकम्पबाट क्षतिग्रस्त धेरैजसो सामुदायिक विद्यालयका भवनहरू पुनर्निर्माण भइसकेका छन् । सुविधा सम्पन्न विद्यालयका भवन तथा कक्षाकोठा बालमैत्री र आकर्षक बनेका छन् । ती आकर्षक विद्यालयहरूमा अर्को आकर्षण थपिने भएको छ । अबको केही महिनापछि प्रत्येक माध्यमिक विद्यालयमा हरियाली छाउने भएको छ । हराभरा, सुन्दर, हरियाली युक्त वातावरणमा विद्यार्थीहरूले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा भाग लिन पाउने भएका छन् ।

सामुदायिक विद्यालयको वातावरणलाई हरियाली बनाएर शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउदै विद्यार्थी र अभिभावकको आकर्षण बढाउने उद्देश्यका साथ जिल्लामा हरित विद्यालय कार्यक्रम कार्यान्वयनको शुभारम्भ गरिएको छ । मंगलबार चरिकोटमा आयोजित एक समारोहका बिच बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्काले सो कार्यक्रम शुभारम्भ गर्नुभयो ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले सामुदायिक विद्यालयमा सौन्दर्य बढाउन र वातावरण संरक्षणका लागि हरित विद्यालय कार्यक्रमको सुरुवात गरिएको बताउनुभयो । विद्यार्थीले प्राप्त गरेका सैद्धान्तिक ज्ञानलाई व्यवहारिक कार्यान्वयनका लागि समेत कार्यक्रम उपयोगी हुने उहाँले बताउनुभयो । हरित विद्यालय कार्यक्रम निर्देशिका, २०७५ अनुसार जिल्लामा हरित विद्यालय कार्यक्रम लागू गरिएको हो । कार्यक्रम लागू भएसँगै सामुदायिक विद्यालयको स्वामित्वमा रहेका खाली जग्गामा अनिवार्य रुपमा फूल, फलफूल, काष्ठजन्य, जडिबुटी र औषधिजन्य लगायतका विभिन्न प्रजातिका बोटविरुवा रोपण, संरक्षण तथा संवर्द्धन गरिने भएको छ ।

केही विद्यालयहरूमा यसअघि नै रोपिएका बोटबिरुवा हुर्किएर हरियाली छाइरहेको छ । अब भने सबै माध्यमिक विद्यालयमा अनिवार्य रुपमा हरित कार्यक्रम सञ्चालन गरी हरियाली बनाउन लागिएको इकाई प्रमुख श्रेष्ठले बताउनुभयो । यसले विद्यार्थीको शैक्षिक र बौद्धिक विकासमा अभिवृद्धि गराउनुका साथै वातावरणमा संरक्षणमा मद्दत पुग्ने छ । विद्यालयमै आयआर्जन पनि सम्भव हुने छ । डिभिजन वन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, शिक्षा शाखा र अभिभावकको सहयोगमा कार्यक्रम अन्तर्गत विद्यालय र विद्यार्थीहरू वृक्षारोपण र संरक्षणमा सक्रिय हुने छन् ।

यसका लागि भदौ १५ गतेभित्र गाउँ तथा नगरस्तरीय हरित विद्यालय कार्यक्रम कार्यान्वयन समिति गठन, विद्यालयमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन समिति गठन गर्ने कार्यक्रम तय गरिएको छ । भदौ २० गतेभित्र हरित विद्यालय कार्यक्रममा सहभागी विद्यालयमा इको क्लब तदर्थ कार्य समिति गठन गर्ने र असोज मसान्त भित्र सो क्लबको विधान तयार, विद्यालय व्यवस्थापन समितिबाट सिफारिस गरी स्वीकृतिका लागि स्थानीय तहमा पेश गर्ने, स्थानीय तहसँग समन्वय गरी खाली जग्गाको उपयोग र व्यवस्थापन सम्बन्धी छलफल, अन्तरक्रिया र योजना निर्माण गर्ने गरी कार्यक्रम बनाइएको छ ।

कार्तिक १५ भित्र विद्यालयको हावापानी अनुकुल विभिन्न प्रजातिका बिरुवा वृक्षरोपणका लागि बिरुवाको विवरण विद्यालयले स्थानीय तहमा पेश गर्ने, कार्तिक २५ गते सबै विद्यालयको बिरुवाको विवरण एकीकृत गरी शिक्षा शाखाले इकाईमा विवरण पेश गर्ने र मंसिर पुस र जेठअसारमा इकाईले डिभिजन वनसँग समन्वय गरी बिरुवा व्यवस्थापन गराउने छ । त्यसपछि बिरुवा रोपेर नियमित गोडमेल, रेखदेख तथा संरक्षण विद्यालय र विद्यार्थीले गर्ने कार्यक्रम बनाइएको छ । यसै कार्यक्रम अनुरुप विद्यालयहरूमा हरित विद्यालय कार्यक्रम सञ्चालन हुने इकाई प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कार्यक्रम लागु हुने विद्यालयलाई इको बाल क्लब गठनका लागि बागमती प्रदेश वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालयमार्फत १० हजार रुपैयाँ उपलब्ध गराइने छ । प्रत्येक स्थानीय तहमा एक एक नमूना हरित उद्यान निर्माणका लागि पाँच लाख उपलब्ध गराइने छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "दोलखामा हरित विद्यालय कार्यक्रम शुभारम्भ"

Leave a comment

Your email address will not be published.


*