काठमाडौं, ७ पौष । नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको लामो शक्तिसंघर्षपछि नेकपा फुटेको हो । ओली र प्रचण्ड दुवै पक्षले नेकपामा आफू वैधानिक भएको दाबीका लागि पत्र निर्वाचन आयोगमा पठाएपछि नेकपा फुटेको हो ।सोमबार नै अध्यक्ष ओलीलाई अनुशासनको कारबाहीको जानकारीसहितको पत्र प्रचण्ड पक्षीय नेकपाले निर्वाचन आयोगमा दर्ता गराएको थियो । स्थायी कमिटी सदस्य लिलामणि पोखरेल उक्त पत्र लिएर निर्वाचन आयोग पुगी दर्ता गराएका थिए । आज ओलीमाथि प्रचण्ड पक्षीय केन्द्रीय कमिटी बैठक बसेर पार्टी सदस्य समेत नरहने गरी कारबाहीको निर्णय गर्दैछ ।प्रचण्ड पक्षीय केन्द्रीय कमिटी बैठक बस्नुपूर्व ओली पक्षीय बैठक बालुवाटारमा बसेर अर्को निर्णय गरेका छ । जसमा पार्टी केन्द्रीय कमिटी विस्तार गरी ४४७ बाट ११ सय ९९ पुर्याइएको छ । आजै ५ सय ५६ जना थप गरिएको र बाँकी एक सय ९७ जना पछि थप्ने भनिएको छ । यो निर्णयको पत्र निर्वाचन आयोगमा अध्यक्ष ओलीको हस्ताक्षरसहित पुगेको छ । महासचिव विष्णु पौडेलले यसको माइन्युट गरेका छन् ।प्रचण्ड पक्षले ओलीलाई अध्यक्षबाट हटाएको पत्र निर्वाचन आयोगमा पुगेको भोलिपल्ट ओलीले आफ्नो बहुमत सिद्ध गर्न केन्द्रीय कमिटी विस्तारको निर्णयको पत्र दर्ता गराएका हुन् । यसले नेकपा फुटिसकेको अवस्था छ । तर, नेकपाको वैधानिक अध्यक्ष र कमिटी कुन हुने भन्ने प्रश्न तेर्सिएको छ । यसको टुंगो निर्वाचन आयोगले लगाउनेछ । नेकपाको वैधानिक कमिटी ओली या प्रचण्डमध्ये जस्को हुन्छ उसैको झण्डा र चुनाव चिन्ह हुनेछ । विशेषगरी नेकपाको चुनाव चिन्ह सुर्य लिने प्रतिष्पर्धा चलेको छ ।
नेकपा फुट्यो

Be the first to comment on "नेकपा फुट्यो"