पालिकाको भवन बनाउन
जग्गा खोज्दै दोलखाका दुई पालिका

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर विश्वकर्मा ÷चरिकोट– स्थानीय तहको पहिलो कार्यकालमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षसम्म पनि गाउँपालिकाको भवन नबनाई बिदा भए । दोस्रो कार्यकालका लागि निर्वाचित नयाँ जनप्रतिनिधिहरूले भने आफ्नो कार्यकालको सुरुवातमै पालिकाको भवन निर्माणको लागि तदारुकता देखाएका छन् । मेलुङ र तामाकोसी गाउँपालिकाको सेवा प्रवाह अस्थायी कार्यालयबाट हुँदै आएका छन् । अहिले दुबै पालिकाका जनप्रतिनिधिहरूले स्थायी कार्यालय सञ्चालनको लागि आवश्यक प्रक्रिया सुरु गरेका छन् । पहिलो कार्यकालमा निर्वाचित जनप्रतिनिधिहरूले पनि पालिकाको भवन बनाउन नचाहेका भने होइनन्, तर केन्द्र सम्बन्धी उत्पन्न विवाद समाधान गर्न र जग्गा प्राप्त गर्न असफल भएपछि बाध्यतावश गाउँपालिकाको सेवा प्रवाह अस्थायी कार्यालयबाट गरेका थिए । तर अहिले नयाँ जनप्रतिनिधिहरूले आफ्नो कार्यकालको सुरुवाती वर्षमै केन्द्र तोक्ने र कार्यालय भवन निर्माण गर्ने गरी जग्गा प्राप्तिका लागि सक्रियता बढाएका छन् । जिल्लाको मेलुङ गाउँपालिकाको स्थायी भवन नहुँदा पालिकाको सेवा प्रवाहको लागि निजी घरबाट कार्यालय सञ्चालन भइरहेको छ । यसरी प्रवाह हुने सेवा प्रभावकारी नहुने भएकोले आफ्नै भवन निर्माणको लागि जग्गा छनौट गर्न लागेको छ । गाउँपालिकाले केही दिन अघि सूचना प्रकाशित गरी स्थायी कार्यालय सञ्चालनको लागि भवन बनाउन जग्गा दान गर्न चाहने जग्गाधनीलाई निवेदन पेश गर्न अनुरोध गरेको छ । पालिकाले वडा नं. ४ मा मुडे–मेलुङ सडकको भेड्पुपोखरी देखि धारापानी सडकखण्ड आसपासमा रहेको जग्गा गाउँपालिकाको स्वामित्वमा दान गर्न चाहने जग्गाधनीलाई निवेदन पेश गर्न अनुरोध गरेको हो । जग्गा दान गर्न चाहनेले मापदण्ड अनुसारको जग्गाको चार किल्ला खुलाई कार्यालय समयमा असार २५ गते भित्र निवेदन पेश गर्न सक्ने सूचित गरिएको छ । मुख्य सडकबाट दायाँबायाँ ५०० मिटर सम्मको २५ रोपनी क्षेत्रफल भएको, एक वा एकभन्दा बढी व्यक्तिहरूले स्वामित्व वा भोगचलन रहेको भए उनीहरूको मन्जुरी भएको, यथासम्भव समथर भूभाग र बस्ती स्थलबाट टाढा भएको, प्राकृतिक प्रकोपको जोखिम नभएको, भोगचलन सम्बन्धमा कुनै प्रकारको विवाद वा कानूनी अवरोध नभएको जग्गा पालिकाको स्वामित्वमा दिन अनुरोध गरिएको छ । उक्त स्थानमा उपर्युक्त किसिमको जग्गामा प्राप्ति भएपछि पालिकाको कार्यालय भवन निर्माणको प्रक्रिया सुरु गरिने गाउँपालिका अध्यक्ष हिरा थोकरले बताउनुभयो । “गाउँपालिका जग्गा र भवन अभावमा छ । पहिलो कार्यकालमा पनि यसको परिपूर्तिका लागि कोसिस गरेका थियौँ । तर चाहँदाचाहँदै पनि सम्भव भएन ।” अध्यक्ष थोकरले भन्नुभयो, “पहिलो कार्यकालमा सम्भव नभएको काम अहिलेको कार्यकालमा सम्पन्न गर्ने छौँ ।” उहाँका अनुसार गाउँपालिकामा केन्द्र सम्बन्धी विवाद छैन । तर जग्गा नहुँदा भने आफ्नै भवन निर्माण गर्न सकिएको थिएन । जग्गा प्राप्त हुन साथ भवन निर्माण प्रक्रिया शुभारम्भ हुने छ । अहिले पालिकाको कार्यालय निजी घरबाट सञ्चालन भइरहेको छ । तामाकोसी गाउँपालिकाले सेवा प्रवाहलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन मुख्य प्रशासकीय भवन निर्माण गर्नको लागि जग्गादान गर्न चाहने जग्गाधनीहरुलाई निवेदन दिन अनुरोध गरेको थियो । अहिले मालुको छापडाँडामा ६० रोपनी बढी र जफे स्थित मानेडाँडामा नौ रोपनी जग्गा दान गर्न मञ्जुरीसहित जग्गाधनीबाट निवेदन प्राप्त भएको छ । अध्यक्ष प्रोणप्रताप केसीले जग्गा उपयुक्त ठहर भएमा पालिकाको कार्यालय लगायतका संरचना निर्माणका लागि पास गरिने र गाउँसभाको निर्णयाअनुरुप गरिने बताउनुभयो । “दुई स्थानमा जग्गा प्राप्त भएको छ । तर जफेमा कम रोपनी प्राप्त भएको छ । मालुमा चाहेजति जग्गा प्राप्त भएको छ ।” उहाँले भन्नुभयो, मापदण्ड पुरा भएका जग्गा पालिकाको स्वामित्वमा ल्याइने छ । जग्गा प्राप्ति हुनु केन्द्र कायम हुने सम्भावनाका आधार हुन् ।” गाउँपालिकाको कार्यालय अहिले जफे स्थित स्वास्थ्यचौकीको पुरानो भवनमा रहेको छ । जसले सेवा प्रवाहमा कठिनाइ भएको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "पालिकाको भवन बनाउन
जग्गा खोज्दै दोलखाका दुई पालिका"

Leave a comment

Your email address will not be published.


*