पीपलबोटमा ज्येष्ठ नागरिक आरोग्य केन्द्र निर्माण

तस्बिर सौजन्यः विनिता शिवाकोटी

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर विश्वकर्मा
चरिकोट, असार ३०
दोलखाको चरिकोट–जिरी सडक खण्डको घुम्तीमा धार्मिक तथा प्राकृतिक महत्वको पीपलको एकवटा रूख छ । त्यही रुखको आधारमा त्यहाँको सुन्दर गाउँलाई ‘पीपलबोट’ को नामले चिनिन्छ । अहिले पीपलको रूख छेउमै भ्युटावर आकारको तीन तल्ले जेष्ठ नागरिक आरोग्य केन्द्रको भवन निर्माण भएको छ । जेष्ठ नागरिकको चाहना, माग र आवश्यकता बमोजिम निर्माण भएको केन्द्रमा धार्मिक पुस्तक तथा पत्रपत्रिका, वाद्यवादन सामग्री, टेलिभिजनको  व्यवस्था रहेको छ । तल्तिर तामाकोसी नदी सुसाइरहेको देखिन्छ, वरिपरि हेर्दा सैलुङ, भीमेश्वर, कालिञ्चोक, जिलु, बिरुवा, मार्बु, झुले लगायतका धार्मिक, पर्यटकीय तथा प्राकृतिक स्थलहरूको दृश्यावलोकन गर्न सकिन्छ ।


नातिनातिना अध्ययन र खेलमा, छोराछोरी तथा परिवारका अन्य सदस्य आफ्नै काममा व्यस्त । तर वृद्धवृद्धा भने  एक्लै घरमा ।  चाहेर पनि बुढ्यौली र रोगका कारण काम गर्न सक्दैनन्, उनीहरु परिवारका सदस्यसँग भरपुर कुराकानी गर्न पनि पाउदैनन् । यो समय उनीहरू भजनकीर्तन, वाद्यवादन, धार्मिक पुस्तक अध्ययन र आफूजस्तै साथीहरूसँग भलाकुसारीमा रमाउन चाहन्छन् । ज्येष्ठ नागरिकको यही चाहनालाई सम्बोधन गर्न केन्द्र निर्माण गरिएको वडाध्यक्ष बासु श्रेष्ठले बताउनुभयो । “ ज्येष्ठ नागरिकहरू जीवित भगवान हुन्, हाम्रा आदर्श र मार्गदर्शक हुन् ।” उहाँले भन्नुभयो “उनीहरूको चाहना र आवश्यकता पूरा नगर्ने हो भने, खुशी नपार्ने हो भने हामीले अरु जति नै विकास निर्माणका काम गरेपनि त्यसको महत्व हुदैन ।” त्यसैले ज्येष्ठ नागरिक केन्द्र बनाएर खुशी पार्ने कोसिस गरेका हौँ ।” भीमेश्वर नगरपालिकाको “एक वडा, एक ज्येष्ठ नागरिक आरोग्य केन्द्र” कार्यक्रम अन्तर्गत तीन वर्ष अघिदेखि उपभोक्ता समितिमार्फत निर्माण सुरु भएको केन्द्रको भवन अहिले सम्पन्न भएसँगै सञ्चालनमा आएको हो । वडाध्यक्ष श्रेष्ठका अनुसार ७५ लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको केन्द्र सञ्चालनमा आएसँगै ज्येष्ठ नागरिकहरू त्यहाँ आएर रमाउन थालेका छन् । ज्येष्ठ नागरिकहरूले मनोरञ्जन लिने र समय व्यतीत गर्ने उपयुक्त तथा सहज थलो बनेको केन्द्रमा ज्येष्ठ नागरिकहरू दिउँसो जुनसुकै समयमा पनि आउन सक्ने छन् । केन्द्र संरक्षणका लागि केन्द्र व्यवस्थापन समिति गठन गर्ने र माथिल्लो तल्लाका कोठाहरू भने व्यवसायिक प्रयोजनका लागि भाडा दिइने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकहरूको हकअधिकारको संरक्षण, सम्मान, पहुँच र सुनिश्चितताका लागि आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

ज्येष्ठ नागरिक विष्णु नेपालीले केन्द्र भवन बनेसँगै त्यहाँ सहजै र प्रभावकारी सेवा पाउनेमा आफू विश्वस्त रहेको सुनाउनुभयो । “ज्येष्ठ नागरिकका अनेकौँ समस्या र गुनासा छन्  । ती मध्ये एउटा गुनासो र चाहनाको सम्बोधन भएको छ । यसले हामीलाई खुसी नबनाउने त कुरै भएन ।” उहाँले भन्नुभयो   “अरु चाहना र गुनासो पनि सुनुवाई भएको र त्यसबाट हामीहरु लाभान्वित तथा अपेक्षित उपलब्धि प्राप्त भएको हेर्न चाहन्छौँ ।” स्थानीय सरकारले ज्येष्ठ नागरिक प्रति एउटा कर्तव्य पुरा गर्यो । अरु थुप्रै बाँकी रहेको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिक मिश्री खड्काले केन्द्रलाई उपयोगी बनाउन र ज्येष्ठ नागरिकहरूको केन्द्रको थलो बनाउन सुबिधाहरु थपेमा अझ राम्रो हुने बताउदैं भन्नुभयो “चाहेको सबै भएमा हामी जस्ता साथीहरु केन्द्रमा आउने हुन् । नत्र केन्द्रको ढोकामा ताल्चा लागिरहने अवस्था हुन्छ । भएका सामाग्री पनि प्रयोग विहीन हुन्छन् ।” उहाँले केन्द्रमा दिउँसो चिया खाजा र योग तथा व्यायामका लागि शिक्षकको समेत व्यवस्था भए सुनमा सुगन्ध हुने बताउनुभयो ।

फाइल तस्बिर
Shares

Dikshan Online TV

Be the first to comment on "पीपलबोटमा ज्येष्ठ नागरिक आरोग्य केन्द्र निर्माण"

Leave a comment

Your email address will not be published.


*