पुस्तकालय जाने बढ्दै

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, भदौ १९
घट्दो पठन संस्कृति र बढ्दो आधुनिक सञ्चार माध्यमको प्रयोगसँगै देशको अन्य जिल्लाका पुस्तकालय सुनसान भएको खबर सुनिन्छ । तर दोलखा सदरमुकाम चरिकोटमा अवस्थित गौरीशंकर सामुदायिक पुस्तकालय भने दिनहुँ भरिभराउ हुन्छ ।
सुन्दर, शान्त, आकर्षक वातावरण र भौतिक संरचनाले सुविधासम्पन्न बहुप्रकोप प्रतिरोधी, अपाङ्गमैत्री भवनमा सञ्चालित पुस्तकालयमा पुस्तक अध्ययनसँगै कम्प्युटर शिक्षा, विपद् सम्बन्धी ज्ञान, सीप र मनोरञ्जनका लागि दैनिक ४० देखि ५० जनासम्म आउने गरेका छन् ।

पुस्तकालयका अध्यक्ष कृष्ण बहादुर बस्नेतका अनुसार पुस्तकालयमा भर्खरै सिक्दै गरेका सिकारुदेखि अनुसन्धानकर्ता सम्म आउने गरेका छन् । पुस्तकालय सबै क्षेत्रमा आबद्ध व्यक्तिहरूको बौद्धिक र शैक्षिक क्षमता बढाउने केन्द्र बन्न सफल भएको छ । नाति देखि बाजे सम्मको सिकाइ र अध्ययनको थलो बनेको छ पुस्तकालय ।
“पुस्तकालय पुस्तकको संग्रह मात्र हो भन्ने पुरानो धारणा रहेको छ । तर यो पुस्तकालयमा पुस्तकको संग्रह मात्र नभई बौद्धिक विकासका लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्री र सुविधा रहेको छ । जसले गर्दा पनि यसप्रति समुदायको आकर्षण बढिरहेको छ ।” अध्यक्ष बस्नेतले भन्नुभयो, “पुस्तकालयमा पुस्तक, आइसिटी, खेलकुद, वाद्यवादन, कम्प्युटर, विपद् सम्बन्धी जानकारी दिने कक्ष सहित आठ वटा कक्ष रहेको छ । ती कक्षहरुमा विभिन्न व्यक्तिले मन लागेको बेला प्रवेश गरी सुविधा लिइरहेका हुन्छन् ।”
अध्ययन सहित सचेतनात्मक, सीपमुलक र मनोरञ्जनात्मक सेवा प्राप्त हुने हुँदा पुस्तकालयको सबै कक्ष भरिभराउ हुने गरेको छ । 

पुस्तकालयले आकर्षण कायमै राख्नकै लागि विभिन्न समयमा सीप विकास र सचेतनामूलक तालिमको आयोजना गर्ने गरेको छ । “पुस्तकालय मार्फत विभिन्न सङ्घसंस्थासँगको साझेदारीमा विभिन्न समयमा कार्यक्रम तथा तालिम आयोजना गरिन्छ । सो कारण पनि पुस्तकालय चर्चामा छ ।” उहाँले भन्नुभयो “सूचना, सञ्चार र प्रविधिको क्षेत्रमा आधुनिक विकास र प्रयोग भइरहेकोले पुस्तकालयलाई चुनौतीका बिच गुमनाम हुनबाट जोगाएका छौँ ।”
चरिकोट बिच बजारस्थित २०६० सालमा स्थापना भएको उक्त पुस्तकालयको भवनमा २०७२ सालको भूकम्पले क्षति गरेपछि कालिञ्चोक माविको प्रवेशद्वार अघि बनेको भवनमा स्थानान्तरण भई सञ्चालित छ । पुस्तकालयले शैक्षिक, सामाजिक, आर्थिक र विपदका क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "पुस्तकालय जाने बढ्दै"

Leave a comment

Your email address will not be published.


*