“प्रत्येक जिल्लामा बागमती प्रदेश समन्वय कार्यालय स्थापना गरिने”

SAMSUNG CSC

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, भदौ ६
दोलखा सदरमुकाम चरिकोटमा आइतबार आयोजित वार्षिक समीक्षा गोष्ठीको उद्घाटन समारोहमा जिल्लाका जनप्रतिनिधिले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे समक्ष विभिन्न समस्या सुनाउँदै प्रदेश सरकारले स्थानीय तहलाई वेवास्ता गरेको भन्दै गुनासो गरे । मुख्य मन्त्री पाण्डेले सङ्घीयतामा प्रधानमन्त्रीलाई भन्दा धेरै अधिकार स्थानीय तहलाई दिइएकोले स्थानीय तह देशमै शक्तिशाली रहेको बताउनुभयो । उहाँले उक्त शक्तिको प्रयोग गर्दै सबै नागरिकलाई कुनै भेदभाव नगरी सेवा प्रवाह गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । उहाँले भौगोलिक हिसाबले वडा सानो भएपनि संघीयताले यसलाई अधिकारसम्पन्न बनाइएको र जनताको नजिक रहेकोले यो जनताको सुखदुखको सारथी भएको सुनाउनुभयो । उहाँले स्थानीय तहलाई प्रदेश र संघको साथ भने सदैव रहने उहाँको भनाइ थियो । उहाँले संघीयताको कार्यान्वयन र अभ्यास जारी नै रहेको बेला यसका विरुद्ध आवाज समेत यदाकदा सुनिन आएकोले त्यो आवाज उठाउनुको कुनै तुक नरहेको उहाँले बताउनुभयो । उहाँले संघीयताको विरोध गर्न हतारिन नहुने सुनाउनुभयो ।
अर्को सन्दर्भमा उहाँले दोलखा हाइड्रो हबको जिल्ला भएकोले भविष्यमा आर्थिक समृद्धि हुने र संघ र प्रदेशमा निर्भर रहनुपर्ने अवस्थाको अन्त्य हुन सक्ने बताउनुभयो । उहाँले आर्थिक पक्षमा स्थानीय तह सबल हुन स्रोतसाधनको परिचालन अधिकतम हुन आवश्यक रहेको बताउनुभयो । आफू हेटौँडामा प्रदेश राजधानी कायम गर्न नहुने पक्षमा रहेको भएपनि हेटौँडा नै कायम भएको बताउँदै मुख्यमन्त्री पाण्डेले प्रदेश राजधानी टाढा हुँदा दोलखा र रसुवा लगायतका जिल्लालाई सेवा लिन समस्या भएकोले त्यसका लागि विकल्प दिइन लागिएको बताउनुभयो । उहाँले प्रदेशको सेवा प्रवाहका लागि प्रत्येक जिल्लामा प्रदेश समन्वय कार्यालय सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । जसले गर्दा प्रदेश राजधानी सेवा लिनकै लागि पुग्न नपर्ने उहाँले बताउनुभयो । उहाँले प्रदेशको हिउँदे अधिवेशन हेटौँडा र बर्खे अधिवेशन धुलीखेल गर्ने प्रस्ताव गरिएको समेत बताउनुभयो । मुख्यमन्त्री पाण्डेले पशुपति चौलागाईँ स्मृति अस्पताललाई सुविधासम्पन्न र गुणस्तरीय बनाउनका लागि प्रदेश सरकारको ध्यानाकर्षण भएको बताउँदै भदौ भित्रै पाँच विशेषज्ञ डाक्टर सहित ३२ जना स्वास्थ्यकर्मी पठाइने बताउनुभयो । उहाँले अब अस्पतालमा डाइलाइसिस सेवा र सिटिस्क्यान सेवा पनि सुचारु गरिने बताउनुभयो । कार्यक्रममा संघीय सांसद पार्वत गुरुङ, बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । उद्घाटन समारोह समापन पछि जिल्ला स्थित स्थानीय तह र संघ र प्रदेश अन्तर्गतका कार्यालयले गत वर्ष सम्पन्न तथा सम्पादन गरेका कार्यको समीक्षा गरिएको छ । जिल्ला समन्वय समितिको आयोजनामा भएको समीक्षा गोष्ठीले आगामी समयमा थप प्रभावकारी कार्यको लागि सहयोग मिल्ने अपेक्षा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीले कार्य सम्पादनका क्रममा देखिएका चुनौती र समस्यालाई समाधान गर्दै आउँदो दिनहरुमा सुशासन कायम राख्दै प्रभावकारी कार्य कार्यालयका कर्मचारीहरुलाई गर्न अनुरोध गर्नुभयो ।

Shares

Dikshan Online TV

Be the first to comment on "“प्रत्येक जिल्लामा बागमती प्रदेश समन्वय कार्यालय स्थापना गरिने”"

Leave a comment

Your email address will not be published.


*