माथिल्लो तामाकोसी सेयर विवादको चपेटामा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–माथिल्लो तामाकोसी जलविद्युत आयोजना स्थानीयको सेयर विवादको चपेटामा परेको छ । आयोजनाका लागि सेयर लगानी स्थानीय र सर्वसाधारणबाट चैतसम्म संकलन गर्ने लक्ष्यमा विभिन्न आन्दोलनका कारण पछिल्लो पटक पनि  ठेस लागेको छ ।
आयोजनाको प्रबद्र्धक अप्पर तामाकोसी हाइडोपावर कम्पनीको सेयर १० प्रतिशत आयोजना प्रभावित स्थानीय (दोलखाबासी)का लागि १० प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत सेयर जारी गर्न बाँकी छ । स्थानीयलाई सेयर निष्काशन नगरी सर्वसाधारणलाई सेयर जारी गर्न नपाउँने प्राव्धान भएकाले पहिला दोलखाबासीलाई सेयर जारी गर्न लागेको अप्पर तामाकोसी हाइडोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।
सेयर निष्काशन र बाँडफाँडमा पुनः स्थानीयस्तरमा विवाद हुन थालेपछि दोलखाबाट निर्वाचित प्रतिनिधि सभा, प्रदेश सभाका सांसदहरु सहित ९ वटै स्थानीय तहका प्रमुख र जिल्लाका प्रमुख राजनैतिक दलका प्रमुखहरुको संयुक्त बैठक बस्यो । बैठकले २०७४ भदौ ६ गते गरेको जिल्ला समन्वय समितिको निर्णयलाई कायम गर्दै आन्दोलनरत पक्षसँग समेत छलफल गर्ने निर्णय गयो ।
भ्दौ ६ गतेको जिल्ला समन्वय समितिको निर्णय अनुसार आयोजनाकोमा आयोजना प्रभावित (दोलखावासी)ले न्यूनतम् ३० कित्तादेखि अधिकतम ३०० कित्तासम्म लगानी गर्न पाउँने भएका छन् । त्यस्तै प्रभावितलाई अतिप्रभावित, प्रभावित र कम प्रभावित गरी ३ वर्गमा विभाजन गर्ने र सबै सेयर लगानीकर्ताको अनिवार्य बैंक खाता लागू गराउँने रहेको छ ।
दोलखा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले भने ‘स्थानीयको सेयर बारे ४÷५ वर्ष राजनैतिक दल, विज्ञहरु र विभिन्न आन्दोलनरत पक्षसँगको अध्ययन र छलफलपछि एउटा निष्कर्षमा परेकाले यसको विकल्प नहुने देखियो ।’ आन्दोलनरत पक्षसँग छलफल गरेर उनीहरुका कुरा सुने तापनि आ–आफ्नै अब सेयरकै आन्दोलनले आयोजनाको काममा अबरोध गर्न नहुने बताए ।
व्यवहारिक रुपमा विदेशमा हुनेहरुले पनि लगानी गर्न पाउने र हरेक वडामा सेयर संकलन केन्द्र राख्न सम्बन्धित पक्षलाई अनुरोध गरे तापनि अब सेयर निष्काशन र बाँडफाँड कानुन बमोनिम हुने प्रमुख पाण्डेले बताए ।
दोलखाबासीलाई सेयर निष्कासनपछि र साधारण सेयर (आईपीओ) निश्कासन हुनेछ । आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखावासीलाई र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निश्कासन गर्न लागेको हो । दोलखावासीलाई १० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्काशन हुने छ ।
जिल्लाभित्र यस अघि स्थानीयहरु बीच सेयर लगानीको विषयमा विवाद भएपछि आयोजनाका प्रवक्ता. न्यौपानेकै संयोजकत्वमा एक सुझाव उप समिति गठन भएको थियो । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआए) प्रतिवेदनका आधारमा अध्ययन गरी उपसमितिले जिल्लास्तरीय समितिलाई २०७३ फागुनमै प्रतिवदेन दिएको थियो । सोही उपसमितिको सुझावकै आधारमा जनप्रतिनिधिहरु सहितको जिल्ला आयोजना समन्वय संयन्त्रले निर्णय गरेको हो ।
को कोले पाउँछन् सेयर?
दोलखाबासी मध्ये सेयर लगानीका लागि लगानी गर्ने मितिसम्म जन्मेर जन्मदर्ता भएका बालबालीका र विवाह भई आएका महिलाले विवाह दर्ता प्रमाण पत्रका आधारमा सेयर पाउँछन् । अन्यको हकमा दोलखा जिल्लाबासी भएको नागरिकता प्रमाण पत्र अनिवार्य चाहिन्छ । सेयर दिने प्रयोजनका जिविस दोलखाले २०७१ संकलन गरेको तथ्याङ्क अनुसार दोलखाको  जनसंख्या २ लाख ८२ हजार १ सय २५  छ । २०६८ सालको जनगणनामा दोलखाको जनसंख्या १ लाख ८६ हजार ५ सय ५७ थियो ।
जिल्लाविकास समिति दोलखाले सेयर बाँडफाँड तथा निष्कासन निर्देशिका २०७० मा ऋण लगानी सम्झौता मिति २०६४ माघ १५ गतेभित्र बसाई सरी दोलखा आएकोहरुले मात्रसेयर खरिद गर्न पाउने व्यवस्था उल्लेख छ ।

यस्तो छ स्थानीयको वर्गीकरण
स्थानीय लगानीका लागि पनि वर्गीकरण गरेको छ । जिल्ला समन्वय समितिबाट आयोजनाबाट अतिप्रभावित, कम प्रभावित र प्रभावित गरी तीन वर्गमा विभाजन गरी सेयर वितरण गर्ने सहमति भएको जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले जानकारी दिए ।
२०७१ सालमा जिल्ला विकास समितिले गरेको सर्वेक्षण अनुसार दोलखाको कुल जनसंख्या २ लाख ८२ हजार १ सय २५ छ । जसमा अति प्रभावित ‘क’ वर्गमा ४ हजार ४ सय ३२, प्रभावित ‘ख’ वर्गमा ८१ हजार ९ सय ९९ र जिल्लाको वाँकी क्षेत्रको जनसंख्या १ लाख ९५ हजार ६ सय ९४ रहेको छ ।
आयोजनाको वातावरणीय प्रभाव प्रतिवेदनमा अतिप्रभावितको सूचीमा साविकको लामाबगर र गौरीशंकर गाविस पर्दछ । त्यस्तै प्रभावित ‘ख’ वर्गमा ओराङ, खारे, बुलुङ, लादुक, लामिडाँडा, सुनखानी, सुन्द्रावती, हालको भीमेश्वर नगरपालिका वडा नं. १, २ र ३, नाम्दू, गैरीमुदी, भीरकोट, जफे, मालू र सहरे गाविस पर्दछ । ‘ख’ वर्गमा राखेका साविकका गाविसहरुबाट प्रवेशमार्ग र प्रशारण लाइन निर्माण भएको छ । दोलखाका बाँकी क्षेत्रलाई ‘ग’ वर्गमा राखिएको छ ।

विवाद वर्ग विभाजनमै
स्थानीय बासिन्दालाई सेयर २०७१ फागुन १५ गतेदेखि निष्काशन भएको थियो । स्थानीयस्तरमा प्रभावितको वर्ग छुट्याउनु पर्ने माग र मजदुरले समेत सेयर माग गर्दै आयोजनाको काम बन्द गराएपछि पुनः चैत १ गतेबाट सरेर स्थगित भएको थियो । पछि २०७२ बैशाखमा गएको भुकम्प र नाकाबन्दीले यो प्रक्रिया रोकिएको थियो ।
पुरानो मागका आधारमा अध्यन गरेर वर्ग विभाजन गरे तापनि पछिल्लो पटक २ समूहले मुख्य रुपमा वर्ग विभाजन गर्न नहुने माग गरेर आन्दोलन गर्दै आएका छन् । विगू र गौरीशंकर गाउँपालिकाका साविक लामाबगर र गौरीशंकर गाविसबासीले एउटै गाउँपालिका भित्र प्रभावितको वर्ग फरक पार्न नहुने माग गर्दै आएका छन् । त्यस्तै संयुक्त आन्दोलन सरोकार समितिले क र ख वर्गमा मात्र विभाजन गर्न माग राखेका छन् ।
संयुक्त संघर्ष समितिका संयोजक वर्मा लामाले २ चरणको आन्दोलन सकिएको र तेस्रो चरणमा ऊर्जा मन्त्रालय लगायतमा ज्ञापन पत्र बुझाउने, जिसस कार्यालयमा तालाबन्दी गर्ने र रिले अनसनसम्मको कार्यक्रम सार्वजनिक गरेको छ । जिल्ला समन्वय समितिले आफूहरुको मागमाथि छलफल समेत नगरी बेवास्था गरेकाले थप कार्यक्रम घोषणा गर्नु परेको उनले बताए ।
आयोजनाको हालसम्म ९५ प्रतिशत काम पूरा भएको छ । आउँदो मंसिरसम्म आयोजना पूरा गर्ने लक्ष्य छ । यस्तै ४५६ मेगावाटको आयोजनाले २२ मेगावाटको अर्को आयोजना र रोल्वालिङ डाइभर्सन आयोजनाको काम अघि बढाएको छ । तामाकोसीबाट २ अर्ब २८ करोड र अन्य आयोजनाबाट गरी वार्षिक २ अर्ब ६२ करोड युनिट बिजुली उत्पादन हुने छ । तामाकोसी सञ्चालनमा आएपछि वर्षात्मा लोडसेडिङको अन्त्य हुने छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "माथिल्लो तामाकोसी सेयर विवादको चपेटामा"

Leave a comment

Your email address will not be published.


*