मुहानै धमिलो हुन्छ, भने धारामा शुद्ध पानीको आशा कसरी गर्ने ?

ताजा समाचारको लागि फलो गर्नुहोस ।

जीवन लामा
दोलखामा आएका धेरै सिडिओहरुसँग संगत गरे । सँगै बसे, सँगै चिया, नास्ता गरे । घुमफिरमा सँगसँगै रहे । कतिपय बैठक, कार्यक्रमहरुमा एउटै मञ्चमा रहे । जिल्लाका घटनाहरु आदनप्रदान गर्दै आए । सेवाप्रदायक निकायहरुको बारेमा जानकारी गराउने कार्य हुने गर्थे । कमिकमजोरीहरुलाई सच्याउने सल्लाह सुझाव समेत दिने गर्थे । कहिले सल्लाह माग्नु हुन्थ्यो । कतिपय अवस्थामा दिने गर्थे । असल समाज निर्माणको लागि दोहोरो छलफल, कुराकानी हुनु स्वभाविक जस्तो लाग्थ्यो ।
सुरुमा जिल्लामा आउनुहुने जुनसुकै सिडिओहरुले पत्रकारहरुसँग जिल्लाको वस्तुस्थिति बुझ्नुहुन्थ्यो सामुहिक रुपमा । पत्रकार भेटघाट हुनु, गर्नु सामान्य विषय हो । सेवाप्रदायक निकाय र पत्रकारहरुसँग जिल्लाको समग्र विषयको बारेमा जानकारी लिनुपर्छ नै । पछिल्लो अवस्थामा आउनु भएको सिडिओ खगेन्द्र प्रसाद रिजालसँग पत्रकार भेटघाट भयो । उपस्थित पत्रकारहरुले जिल्लाको समग्र विषयमा जानकारी गराउने कार्य भयो । यसअघिका सिडिओहरुले गरेका कमिकमजोरीहरुलाई औलाउदै फरक ढंगले प्रस्तुत हुन आग्रह गर्यौ । यसअघिका सिडिओहरु एनजिओ, आईएनजिओको कार्यक्रममा गएर भत्ता बुझ्ने गर्नुहुन्थ्यो, सेवाग्राही सिडिओको कार्यकक्षमा जाँदा ढोका थुनेर गोप्य भन्दै घण्टौसम्म रहनुहुन्थ्यो । आफ्ना हैसियत बिर्सेर जाँड खाँदै जहाँ जसले बोलाए पनि दौडिने गर्नुहुन्थ्यो । यी यस्ता कुराहरु पत्रकारहरुले राखेपछि सिडिओसाबले म करेक्शन हुन्छ भन्ने कुरा प्रतिवद्धता जनाउनु भयो । आफू अख्तियार दुरुपयोग अनुसन्धानबाट यस क्षेत्रमा आएको हुनाले धेरै कुराहरु सुधार ल्याउने प्रतिवद्धता जनाउनु भयो । आशाका वातावरण सिर्जना गर्नुभयो । खुशीकासाथ अब चाहि यी सिडिओले केही गर्नुहुन्छ यार भन्दै बाहिरियौ ।
समय बित्दै गयो । खासै परिणाम देख्न थालेन । कतिपय एनजिओ, आईएनजिओहरुको कार्यक्रममा आदर्श निकै मीठो सुनिन थाल्यो । कतिसम्म भने खाने, बस्ने, लाउने, बोलीमा समेत सुधारको शब्दहरु । सुशासनको शब्दहरु । नीति, ऐन, असल व्यवहारको बोलीहरु सबैले महशुस गर्न थाले । नैतिक आचारणका शब्दहरु, बोली सबैले सुन्न थाले । कतिलाई ताली, कतिलाई गाली हुन थाल्यो सिडिओ साबको भाषण । कतिले खुचिङ मारे सिडिओ साबको भाषणमा । कतिलाई थुक्क हुन थाल्यो । कतिले यस्तो पो सिडिओ त भन्न थाले । सामान्य कर्मचारीदेखि जनप्रतिनिधिहरु समेत सिडिओ साबको भाषणमा लठ्ठ पर्थे । एउटा एनजिओको कार्यक्रममा प्रस्तुतकर्ताको प्वाल परेको पाईन्टको विषयमा निकै समय खर्चिनु भयो सिडिओ साबले । अर्को आईएनजिओको कार्यक्रममा करिव आधा घण्टा समय खर्चिनुभयो हामीलाई भ्रष्टचारको पाठ पढाउने, सुशासनको पाठ पढाउने भनेर आयोजकलाई गाली गर्न । जहा आफै कार्यक्रमको सभापति थिए । कतिपय सरकारी गैरसरकारी कार्यालयहरुले सिडिओ सावको डरले प्रमुख अतिथि, सभापति बनाउने गर्थे । कतिपयले चाकरीको लागि विशेष अतिथि, प्रमुख अतिथि बनाउने गर्थे । यी जम्मै रहरले होईन रहेछ, करले पो । जिल्लामा आएका धेरै प्रशासकहरुलाई यसरी करले आदर सत्कार गर्नुपर्ने बाध्यात्मक अवस्था यो नै पहिलो चाहि होईन । यसअघि भएका घटनाहरु गुपचुपमा भएर पनि हो । हाम्रो बानी पनि ओरालो लागेका मृगलाई खेत्नेनै हो । तर, यस घटनालाई खेत्नुपर्ने सबै निकायका कर्मचारीदेखि सेवाग्राहीसमेत आर्जित भएर हो । हुन त यो सिडिओ आफैमा भएको घटना जिल्लाको लागि ठूलो माछा समाउनु सरह हो । सर्वसाधारणको लागि सिडिओ सर्वैसर्वो ठान्ने गर्छन । कतिपय अवस्थामा ठान्नु पनि पर्छ ।

हिले बिस्तार बिस्तार घटनाहरु बाहिर आउदैछ । हिजोको दिनमा अगुवाले पनि यस्ता गर्छन र भन्ने विश्वास नभएर गुपचुप थियो । तर जब पर्दाफास भयो तब सबैमा आँट चल्यो । यस्ता विकृतिको विरुद्धमा बोल्नुपर्ने सबैमा चेतना जाग्यो । सिडिओ काण्डको बारेमा सर्वसाधारणले पत्रकारहरुको औकात हेरेका थिए । यी पत्रकारहरुले कत्तिका सक्दो रहेछन सिडिओको विरुद्धमा बोल्न, भनेर पर्खिरहेका थिए । तर, पत्रकारहरुले हिम्मतकासाथ जब घटनालाई सार्वजनिक गर्न थाले तब पत्रकारप्रति जनविश्वास बढ्न थालेका छन् । प्रशासनभित्रकै कर्मचारीहरु असन्तुष्टि देख्न थाले सिडिओको गतिविधिप्रति । तर, हाकिमले पनि यस्ता गर्छन र भन्ने कतिमा विश्वास पनि थिएन ।

मैले आजको दिनमा उहाँको विरुद्धमा होईन, देशको समग्र प्रशासकहरुले गर्ने व्यवहार र न्यायलयमा हुने भ्रष्टचारको विषय उठान गर्न लागेको हो । सबै प्रशासकहरु सुकिला, मुकिला अनि चिल्लो कुरा गर्दैमा असल प्रशासक हो भनेर विश्वास गर्नु मुर्खता पनि हो भन्ने मलाई लागेको छ । हुन त उहाँको क्षमता, प्रस्तुतिकरण, विषय वस्तुको विज्ञता अब्बल देखिन्थे । कुनै पनि विषय वस्तुको बारेमा कत्तिको दखल छ भन्ने कुरा उहाँको हाउभाउलेनै प्रष्टाउथ्यो । उहाँमा भएको उत्साह, हसिलो मुहारलेनै असल प्रशासकको पहिचान झल्किन्थ्यो । उहाँको हरेक शब्दले मानिसलाई आकर्षित र मोहित बनाउथे । उहाँको म मात्र होईन धेरै प्रशंसाकहरु थिए होलान जस्तो लाग्थ्यो । म पनि एक दुई वटा कार्यक्रममा सँगैको उठबसले यी कुराहरु दर्शाउछ । कतिपय समयमा उहाँको उदाहरण दिने गर्थे साथीहरुलाई । व्यवहारिक र नीतिगत रुपमा उहाँ प्रष्ट देखिन्थे । यस घटना हुनुभन्दा करिव ३ दिन अगाडि मात्र उहाँसँग जिल्लाको समग्र विकास र कर्मचारीहरुको बारेमा करिव १ घण्टा छलफल भयो उहाँसँग । सेवाप्रदायकहरुको व्यक्तिगत र संस्थागत कुराहरु पनि भयो । विकासको कुराहरु पनि भयो । म धेरै आशावादी थिए पक्कै पनि यी सिडिओले केही असल कार्यहरुको थालनी गर्नुहुन्छ भन्ने कुरामा । मैले यहाँ केही कुरा उठान गर्नै पर्छ । यदि उहाँ आफै घुसमा नफसेको भए जोकोहीलाई पनि फसाउन सक्नुहुन्थ्यो उहाँले । किन कि जिल्ला यस्ता घुसखोरीको कुरा भन्दा पनि सरकारी कार्यालय प्रमुख र कर्मचारीहरुको नैतिक आचरणको चर्चा बजारमा निकै छाएको थियो । नैतिक पतन गर्नमा उहाँमा एक खालको दखल मैले देखेको थिए । यसले समाजमा केही उदाहरण कार्य हुन्थ्यो भन्ने मलाई आशा लागेको थियो । किन कि मान्छेको आचारण शुद्ध भएन भने त्यस कार्यालयप्रति सेवाग्राहीको दृष्टिकोण नकारात्मक हुन सक्थ्यो । जहिलेपनि त्यस व्यक्तिमाथि होईन, त्यस कार्यालयप्रतिनै मान्छेको बुझाई, दृष्टि नकारात्मक हुन्थ्यो । बजार हल्ला भनौ या वास्तविक हल्ला हो सबैमा छ्यापछ्याप्ती थियो । अहिले सिडिओ आफै घुसकाण्डमा मुछेको कारण यस घटना सेलाएको छ ।

हामी पत्रकारहरु भनौ या नागरिक समाजको हैसियत पटक पटक उहाँसँग छलफल, अन्तरक्रियामा बस्यौ । हाम्रै अगाडि सचेत गराउने र घचघचाउने कार्य भयो । हामी उहाँबाट धेरै कुराहरुको आशा गर्यौ । धेरै विषय वस्तुहरुमा छलफल गर्यौ । मिडियाकर्मी र सेवाप्रदायक निकाय सँगसँगै लाग्ने वचन दिने गर्यौ । उहाँ जिल्ला आउनु भएको करिव ८ महिनाको अवधिमा धेरै कार्यक्रमहरुमा सँगसँगै भयौ । हरेक भाषणको शब्दहरुमा पारदर्शिता, जवाफदेहिता र सुशासनको पाठ पढाउनुहुन्थ्यो । मान्छेहरुलाई सचेत गराउने र जागरुक बनाउने सीप उहाँमा थियो । उहाँको नियत यति खराब छ भन्ने कुरा मैले कहिले सोचेन । राख्ने कुरा पनि भएन । त्यसैले आजको दिनमा उहाँको कार्यशैलीले धेरै कुराहरु अवगत गराउछ । धेरै पाठ धेरैलाई सिकाएको छ ।

हुन त अहिले सरकारले कार्यालयको प्रवेशद्धारमा म भ्रष्टचार गर्दिन भनेर ठूलो साइन बोर्ड झुण्डाएको छ । तर नेपाल १३७ देशमध्ये १२४ औं अंकमा भ्रष्टचारको सूचिमा झण्डिनु परेको छ । आजैको दिनमा अर्थात अन्तराष्ट्रिय भ्रष्टचार विरुद्धको दिवस भएकाले यी कुराहरुले मेरो मनमा घोचिरह्यो । लेख्न बाध्य भयो यी हरफहरु । अब आउने कुनै पनि प्रशासकहरु यस्ताबाट मुक्त हुन्छन भन्ने कुरा जनताले कसरी विश्वास गर्ने । मुहानै धमिलो हुन्छ भने धारामा शुद्ध पानीको आशा कसरी गर्ने । तर पनि संसार विश्वासमा अडेको छ । विश्वास गरौ कसैको लामो प्रवचन, मीठो, चिल्लो कुरामा मात्र विश्वास नगरौ । अरुलाई भ्रष्टचार, अनुशासनको पाठ सिकाउने व्यक्ति समाजमा कत्तिको शुद्ध छन् भन्ने कुरा पाईला पाईलामा विचार गरौ, खबरदारी गर्दै गरौ ।

Shares

Dikshan Online TV

Be the first to comment on "मुहानै धमिलो हुन्छ, भने धारामा शुद्ध पानीको आशा कसरी गर्ने ?"

Leave a comment

Your email address will not be published.


*