नेपालमा एउटा पत्रकारलाई कुनै रोग लागेमा चन्दा संकलन गनुपर्ने अवस्था छ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

मन्दिरा थापा

२०४६ सालपछि नेपालमा सञ्चार क्षेत्रले यती धेरै फडको मारेको छ । ०४६ सालपछि मुलुकमा विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजनहरु खुले । सववेव र मिडियमवेवमा मात्रै रेडियो सुन्ने स्रोताले एफएम रेडियो सुन्न थाले । सरकारी नेपाल टेलिभिजनमात्रै हेर्न नेपालीहरुले निजी क्षेत्रहरुले सञ्चालन गरेको टेलिभिजनहरु हेर्न थाले । यो संगै नेपाली युवा पुस्तामा मिडिया मोह बढेर गयो । नेपालमा सञ्चार गृहहरु भटाभट खुल्न थाले भने त्यही रफतारमा नेपाली युवापुस्ता पनि सञ्चार क्षेत्रमा आकर्षित हुन थाले । रोजगारीको वैकल्पिक रोजाई सञ्चार क्षेत्र भयो ।
तर पछिल्ल्लो समय च्याउसरी स्थापना तथा खोलिएका सञ्चार गृहहरुको राम्रो व्यवस्थापन अभावका कारण अहिले युवा पुस्ता सञ्चार क्षेत्रबाट पलायन हुन थालेका छन ।
वर्तमान अवस्थामा हेर्दा नेपालमा पत्रकारिता एक चुनौतीपुर्ण पेशा बनेको छ । नेपालभरीका पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन सबैमा काम गर्ने सञ्चारकर्मीहरुलाई गन्ने हो र नेपाल पत्रकार महासंघमा आवद्ध भएको , आवद्ध हुन बाकी सबैको सङख्या गन्ने नै हो भने २० हजार हाराहारीमा पुग्छ । अव श्रमजिवी पत्रकारको अवस्था आर्थिक रुपमा भन्ने हो भने चाहि ९५ प्रतिशतको अवस्था नाजुक छ । बाकी ५ प्रतिशतको अवस्था मध्यम खालको छ । मिडिया हाउसका मोफसलमा कार्यरत रिर्पोटरहरुको अवस्था भने दयनिय छ ।
वर्तमान अवस्थामा नेपालमा एउटा मिडिया हाउसमा मात्र काम गरेर जिविकोपार्जन गर्न अत्यन्तै कठिन छ । एउटा श्रमजिवी पत्रकारले अहिले कम्तीमा पनि २ वटा मिडियामा काम गरिरहेका हुन्छन ।नेपालमा एउटा पत्रकारलाई कुनै रोग लागेमा, कसैको मृत्यु भएमा काजकिरिया वा परिवारमा कसैलाई दीर्घखालको रोग लागेर औषधी उपचार गर्नु परेमा चन्दा संकलन गनुपर्ने अवस्था छ । मिडियाको मुख्य आयस्रोत विज्ञापन हो । मिडिया हाउस पनि धेरै छन । मिडिया हाउसमा विज्ञापन समानुपातिक रुपमा वितरण नभएर पनि मिडिया हाउसको अवस्था नाजुक छ । सानो लगानीमा चलेका मिडिया चल्न नसकेर मरणासन्न अवस्थामा छन । जसले लामो समयदेखी पत्रकारितालाई आस्था, विश्वास र मर्यादित पेशा बनाएका थिए तिनको पत्रकारिता पेशा संकटग्रस्त बनेको छ । यसो हुनको मुल कारण सरकारले सञ्चार नितीलाई समयसापेक्ष बनाउन ढिला गर्नु पनि हो । हाम्रो पत्रकारिता बहुआयामिक बनिसकेको अवस्थामा पुरानै सञ्चारनिती, नियम र नियमावलीले नियमन गर्न सक्दैन । तसर्थ सञ्चारनितीमा सामयिक परिवर्तन अपरिहार्य देखिन्छ । सरकारको पुरानो सञ्चारनिती न्यायोचित छैन ।जिल्ला या स्थानीय पालिकास्तरकोे कुनै सुचना प्रकाशन गर्ने जस्तो सामान्य काम पनि राजधानीबाट प्रकाशित ठुलो दैनिक पत्रिकामा नै छाप्नुपर्ने । यो प्रावधानले मोफसलमा रहेका साना लगानीमा प्रकाशित सञ्चालित मिडियाहरु आर्थिक रुपले चल्न सकिरहेका छैनन । ठुला मिडियामा काम गर्ने पत्रकार र सानो लगानीमा काम गर्ने पत्रकारबीच वर्गीय असमानता सिर्जना भइरहेको छ ।
त्यस्तै सुचना विभागबाट प्रेस प्रतिनिधी प्रमाणपत्र लिनका लागी नियुक्ती पत्रको व्यवस्था अनिवार्य गरिएपनि श्रमजिवी पत्रकारलाई दिइएको नियुक्तीपत्रको प्रयोजन त्यही प्रमाणपत्र लिनमा मात्र सिमित भएको छ । उनीहरु मौखिक समझदारीका आधारमा काम गर्न बाध्य भएकाले ऐन वा नियमको रीत नपु¥याई कुनै पनि श्रमजिवीको सेवा अन्त्य गर्न नसकिने कानुनी व्यवस्थाको प्रयोग नगन्य मात्रै भएको छ । पत्रिका होस यो रेडियो संस्थागत र व्यवसायिक हुन सकिरहेका छैनन । कतिपय सञ्चारगृह त सिंगो परिवारले नै चलाएका छन ।
अधिकाशमा व्यवस्थापकिय, सम्पादकीय मुल्य मान्यता र स्वतन्त्रता छैन । विज्ञापनलाई समाचार, समाचारलाई विज्ञापन बनाईदिने प्रवृत्ति छ । एउटै व्यक्ति संवाददाता, सम्पादक, व्यवस्थापक आदि बन्नु पर्ने स्थिती छ । विज्ञापन डिल गर्नेदेखी उठाउने सम्मको काम सम्पादक आफैले गरेको पनि पाइन्छ ।
श्रमजीवीले सञ्चार प्रतिष्ठानमा काम गरेवापत मासिक पारिश्रमिक पाउने कानुनी प्रावधान नै भए पनि कार्यन्वयनको अभावमा यसले आम पत्रकारहरुको जीवनमा कुनै अर्थ राख्न सकेको छैन भने वार्षिक तलब वृद्धि त बहुसङख्यक पत्रकारहरुले कल्पना मात्र गर्न सक्ने अवस्था छ । यसैको परिणामस्वरुप शैक्षिक योग्यता, व्यवसायिक दक्षता र अनुभव भए पनि अधिकाशं श्रमजीवीहरुले जीवनयापनसम्म नहुने गरी अत्यन्त न्युन पारिश्रमिकमा काम गरिरहेका पाइन्छन । श्रमजीवीहरुको काम गर्ने समय र हाजिरी तथा विदासम्बन्धी व्यवस्था एक दुई बाहेकका सञ्चार प्रतिष्ठामा लागु भएको छैन । यसले गर्दा पत्रकारिता पेशा अवलम्बलन गरे पनि जीवनयापनका लागी वैकल्पिक पेशामा संलग्न हुनुपर्ने बाध्यता छ । पत्रकारिताभित्र विषयवस्तुको उठान, त्यसको लेखनी, भाषा र प्रस्तुतीसंग भन्दा सम्बन्ध, आचरण र व्यवहार लगायतका कारणले पनि पत्रकार असुरक्षित भइरहेका छन ।
राजनितिक संलग्नता र पक्षधरताको विसंगतीले पत्रकार र पत्रकारितालाई झनै गम्भीर मोडमा पु¥याएको छ । त्यसमा पनि मोफसलको पत्रकारिता आफैमा चुनौतीपुर्ण पेशा हो जुनसुकै ठाउको किन नहोस, पत्रकारिता गर्दा अनेकन चुनौती आउछन । सुविधा सम्पन्न, शहरमुखी पत्रकारिता र मोफसलको पत्रकारितामा पनि केही भिन्नता अवश्य नै छ ।

राजधानीको तुलनामा मोफसलको पत्रकारिता कमजोर छ । तथापी मोफसलको समग्र विकासका लागी मोफसलको पत्रकारिताको विकास पनि आवश्यक छ । मोफसलका समाचार मोफसलकै सञ्चार माध्यमका लागी चासो र प्राथमिताका विषय पनि हुन । तथापी तिनको उठान र सम्बोधनका लागी भने अनेकन जोखिम छन ।अझ जति नै क्षमतावान भएपनि मोफसलका महिला पत्रकार निर्णायक र नेतृत्व तहमा पुग्न नपाउनु, महिला पत्रकार भनेपछि विश्वास नगर्नु, मोफसलका महिला सञ्चारकर्मीहरुमा विशेष आरक्षण र अवसरको अभाव हुनु, राज्यका सेवासुविधाबाट वञ्चित हुनु, श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यन्वयन नहुनु , सञ्चारगृहहरुको नियमित अनुगमन र मुल्याङकन नहुनु, वैदेशिक भ्रमण लगायत पेशागत दक्षता अभिवृद्धि गर्न तालिमको अवसर यदाकदा भएपनि मोफसलमा नुहुन जस्ता विविध चुनौतीहरुको सामना मोफसलका महिला सञ्चारकर्मीहरुले गर्नुपरेको छ ।


सञ्चार क्षेत्र उद्योगतर्फ उन्मुख हुनु सकरात्मक भएपनि पत्रकारहरु आधारभुत सिद्धान्त, मुल्यमान्यता र ज्ञानसिप विना अघि बढन खोज्नु स्वयंलाई चुनौती पनि हो । अहिले पत्रिका, रेडियो स्थापना गर्नेहरु उद्योगी, व्यापारी, राजनितीकर्मीहरु छन । उनको प्रष्ट ध्येय छ । पत्रकार र सञ्चारगृहलाई आफु अनुकुल प्रयोग गर्ने र स्वार्थ पुर्ति गर्ने । श्रमजिवी पत्रकारहरु लगानी गर्ने स्थितीमा छैनन । उनीहरु आफनै पारिश्रमिकको लागी आन्दोलन गर्नुपर्ने बाध्यतामा छन । आफु अनुकुलको समाचार प्रकाशन र प्रशारण नभए धम्काउने प्रवृति छ ।( लेखक नेपाल पत्रकार महासँघ दोलखा शाखाका पुर्व उपाध्यक्ष हुनुहुन्छ )

Shares

Dikshan Online TV

Be the first to comment on "नेपालमा एउटा पत्रकारलाई कुनै रोग लागेमा चन्दा संकलन गनुपर्ने अवस्था छ"

Leave a comment

Your email address will not be published.


*