स्वस्थानी–कथा बारे खुलेर बहस गरौं

ताजा समाचारको लागि फलो गर्नुहोस ।

जानुका न्यौपाने

स्वस्थानी व्रतकथा पनि आजको साहित्य जस्तै तत्कालीन समाजको साहित्य हो। स्वस्थानी एउटा धार्मिक कथा हो र यसलाई कथाकै रुपमा मात्र स्वीकारेर अबका महिलाहरूले आफूलाई धर्मान्धताबाट मुक्त गर्नुपर्छ । यदि ‘स्वस्थानी संस्कृति’लाई निरन्तरता दिने हो भने यसका व्रतविधिमा भएका कठोरताहरूलाई त्यागेर समयानुकूल केवल धार्मिक आस्थाको रुपमा स्वीकार्दै महादेवले पार्वतीलाई ‘यसमा तिम्रो र मेरो पूजा गर्ने हो’भनेजस्तै लैङ्गिक समता अपनाएर धार्मिक उत्सवको रुपमा लिन सकिन्छ ।

अझै पनि हिन्दू धर्मको अभिन्न पाटो मानिँदै आएको तर नेपालमा मात्र प्रचलनमा रहेको स्वस्थानी व्रतले हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिना अत्यन्त निष्ठापूर्वक निरन्तरता पाउने गर्दछ । नेपालका प्रायः सबै स्थानमा स्वस्थानी व्रत लिने र कथा सुन्ने परम्परा रहेता पनि स्वस्थानी भन्नासाथ साँखुमा लाग्ने स्वस्थानी व्रत–मेला र शाली नदीको स्मरण गराउँदछ ।

यसमा आश्चर्य लाग्दो कुरा त के छ भने स्वस्थानी व्रतकथा आखिर के हो ? कसले लेख्यो र यसको इतिहास कति पुरानो छ ? भन्ने बारेमा कमै नेपालीले चासो लिएको देखिन्छ । अझ त्यसमा पनि महिलाहरूको चासो त नगन्य नै छ । जबकी पंक्तिकारको जनकारीमा आए अनुसार स्वस्थानी व्रतकथाको बारेमा तीन जना विदेशी(पश्चिमा) महिलाहरूले गहिरो अध्ययन अनुसन्धान गरेको पाइन्छ । जसमा अमेरिकी महिला लेन वेनेट, लिण्डा लुइस इल्टिस र जेस्सिका भेन्टिन बर्केन्होल्ज रहेका छन् । मुख्यतः लेन वेनेटको लैङ्गिक अध्ययन र जेस्सिकाको ऐतिहासिक अध्ययन रहेको देखिन्छ ।

जेस्सिकाकै सोधपत्रमा आधरित रहेर अध्ययन गर्दा स्वस्थानीको इतिहास जम्माजम्मी साँढे चार सय वर्ष मात्र रहेको देखिन्छ जबकी स्कन्द पुराणको इतिहास १२०० वर्षको छ । स्कन्द पुराण लेखिएको ८०० वर्ष पछि लेखिएको स्वस्थानी कथा आखिरमा हो के त ? आँखा चिम्लेर पुष माघको चिसोमा पोखरीमा डुब्दै एकसरो पहिरन र खाली खुट्टामा एक महिना बिताउने महिलाले चासो दिनु जरुरी छ कि छैन ? प्रश्न महत्वपूर्ण हुन सक्छ । जे होस्, संछिप्तमा भन्दा राष्ट्रिय अभिलेखालयमा रहेको लगत नं १९१ को संस्कृत स्वस्थानी सर्वप्रथम वि.सं. १६२९(ने.सं.६९३)मा लेखिएको र यो जम्माजम्मी ८ पत्रको रहेको र पछि विस्तारित हुने क्रमसँगै यसमा विभिन्न पुराणहरूका अनेक प्रसंगहरू थपिँदै आजको बृहत् रुपमा आएको मानिन्छ । संस्कृतमा लेखिएको ३० वर्ष पछि नेवारी भाषामा ३४ पत्रे र २३७ वर्ष पछि मात्र नेपाली भाषामा ५५ पत्रे स्वस्थानी लेखिएको अध्ययनबाट जानकारीमा आएको छ ।

मूल स्वस्थानीमा गोमा र नवराजको कथा मात्र रहेको र यो प्रसंग थिमि कथाबाट लिइएको भएता पनि कालान्तरमा जब यो कथालाई ब्राम्हणहरूले विस्तार गर्न थाले तब यसमा स्त्री जातिलाई होच्याउने खालका र अनेकन त्राशद प्रसंगहरू थपिँदै गए । स्वस्थानीको इतिहास हेर्दा यसको विकास र विस्तार मल्लकालमा भएको देखिन्छ ।

मल्लकालीन नेपालको सामन्ती युगमा लेखिएको स्वस्थानी व्रतकथाले तत्कालीन सामाजिक परिवेशलाई प्रतिबिम्बित गर्ने भएता पनि आजको करिब साढे चारसय वर्षपछिको नेपाली समाजमा यो कथाले प्राथमिकताका साथ महत्व पाइरहनुको पछाडि केकस्तो मानसिकताले प्रभाव पारिरहेको छ त भन्ने कुराको खोजि तथा अध्ययन गर्नु आजको आवश्यकता हो । आजको परिवर्तित एवम् व्यस्त समयका महिलाहरू पनि स्वस्थानी व्रतप्रति आकर्षित भएर साँखुको शालीनदीमा एक महिनासम्म सारा कामकाज छोडेर व्रत बसेको देख्दा जो कोहीलाई पनि आश्चर्य लाग्न सक्छ । केले प्ररित गरेको होला उनीहरूलाई ? पार्वतीले महादेव पति पाउन गरेको व्रतले कि गोमाले आफ्नो दुःख निवारण गर्नको लागि गरेको व्रतले ? या चन्द्रावतीले आफ्नो पापमोचन गर्नको लागि गरेको व्रतले ? यी प्रश्नहरूको जवाफ खोजिनु पर्छ अब ।

संस्कृतिविद् तेजेश्व बाबु ‘ग्वंग’ का अनुसार स्वस्थानी नेपालको मौलिक संस्कृति भएको र यसको आफ्नै धार्मिक महत्व भएकोले यसको संरक्षण र निरन्तरता जरुरी रहेको बताउँछन् । ‘स्वस्थानी कथाका विभिन्न प्रसंगहरूले महिलालाई होच्याएको र अपमानित गरेको हुँदा आजको परिवर्तित परिवेशमा यसलाई परिमार्जित गर्नु आवश्यक भएको’ भन्दै उठिरहेका आवाजको सन्दर्भमा र स्वस्थानीको औचित्य सम्बन्धमा भाषाविद् तथा स्वतन्त्र अनुसन्धाता काशिनाथ तमोटले पनि यसो भनेको पाइन्छ ‘स्वस्थानी नेपाल मण्डलमा विकास भएको मौलिक कथा भएतापनि कालान्तरमा यसलाई पौराणिक कथासँग लगेर जाडियो र यसलाई पुराण भन्न थालियो । जे भएतापनि यसले नेपालको मौलिक धार्मिक परंपराको रुपमा स्थान पाइरहेकोले यसमा परिमार्जन गर्नु उचित हुँदैन किनकी यसमा नेपालको तत्कालीन समाजको परिवेश समेटिएको छ । आजको समयमा आएर त्यो समाजको परिवेश जान्नको लागि स्वस्थानीको कथाले मद्दत गरेको हुनाले यसको जीवन्तताको लागि निरन्तरता पनि जरुरी छ । यसलाई तोडमोड गर्नासाथ यसको मौलिकता हराएर जाने हुँदा यसलाई परिमार्जन गर्नासाथ यसको महत्व र स्वीकारोक्ति पनि हराउँछ ।’

स्वस्थानी व्रतकथा नेपालको मौलिक धार्मिक संस्कृति भएको र यसले तत्कालीन नेपाली समाजको वास्तविक परिवेशलाई जीवन्त राख्ने काम गरेको हुँदा यसको संरक्षण र निरन्तरताको खाँचो छ भन्ने कतिपयको धारणा पाइन्छ । उनीहरूका अनुसार यो एउटा विशुद्ध धार्मिक कथा मात्र नभएर आफैमा एउटा इतिहास पनि हो । यो परंपरागत नेपाली सामाजको प्रतिबिम्ब पनि हो । त्यसैले यसलाई परंपरागत धार्मिक संस्कृतिको रुपमा संरक्षण गरिनु जरुरी छ । यसै सन्दर्भमा संस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायका अनुसार ‘कुनै पनि संस्कृति राष्ट्रको सम्पदा हो । राष्ट्रको अस्तित्व जोगाउन संस्कृतिको पनि जगेर्ना गर्नुपर्छ । स्वस्थानी कथा लेख्नुको उद्देश्य पनि यही हो । स्वस्थानी व्रतकथामा उल्लेखित पात्रहरू महादेव, सतीदेवी तथा पार्वतीको सम्बन्ध नेपालकै पवित्र तीर्थस्थल पाशुपत् क्षेत्रसँग रहेकोले स्वस्थानीको महत्वको पनि यस क्षेत्रसँग जोडिएको छ । शिव–पार्वती नेपालका प्राचीन आदिवासी किराँतहरूका आराध्य देव भएको र स्वस्थानी नेपालको किराँतकालीन इतिहास भएकोले यसको महत्वलाई जोगाइराख्न स्वस्थानी व्रत परंपरालाई निरन्तरता दिनु आवश्यक हुन्छ । त्यसै गरि गोमा नवराजको कथाको सेरोफेरोले वनेपा र भक्तपुरलाई समेटेको हुनाले पनि स्वस्थानी नेपालको प्राचीन इतिहास हो भनेर भन्न सकिन्छ । अतः इतिहासको संरक्षण गर्नु हाम्रो कर्तव्य हो ।’

त्यसो भए संस्कृतिको संरक्षण र निरन्तरताको भारी महिलाहरूले नै बोकिरहनुपर्ने किन त ? प्रश्न अन्यथा हुन सक्दैन र यसको जवाफ पनि महिलाहरूबाटै खोजिएन भने अझै कैयौं सताब्दिसम्म नेपाली महिलाहरू धर्म र संस्कृति जोगाउने नाममा आफूलाई कमजोर, परनिर्भर र दास मानसिकतामै सिमित राखेर सशक्तिकरणको यात्रालाई गौण बनाउने छन् ।

स्वस्थानी वास्तवमै महिलामाथिको दासताको पर्याय हो । यसले महिलामाथि मनोवैज्ञानिक दासता लादेको छ । त्यसैले पनि अबका शिक्षित र चेतनशील महिलाले अन्धरुपमा स्वस्थानी व्रत गरेर समय बर्बाद गर्नुभन्दा आफ्नो स्वतन्त्र अस्तित्व निर्माण गरि आत्मनिर्भरतातर्फ लाग्न आफू र आम महिलाहरूलाई प्रेरित गर्नुपर्ने खाँचो छ ।

त्यसकारण मानिसहरू भित्रको आस्था सबैभन्दा बलियो हुने हुनाले त्यसलार्इ भत्काउन जरूरी छ । अझ धार्मिक आस्था त यति मजबूत हुन्छ कि यसलाई भत्काउन त्यति सजिलो छैन । त्यसैले त करिब साढे चारसय वर्ष अघि(वि.सं.१६२९) लेखिएको एउटा सानो स्थानीय कथाले विस्तारै आफ्नो कथनलाई फैलाउँदै ठूलो आकार लिएर आज पनि व्यापक मान्यता प्राप्त गरिरहेछ । शुरुमा एउटा कुनै जातिविशेष (नेवार)ले गर्ने गरेको व्रत आज अन्य जातिले पनि गर्ने गरेको पाइनुले यो एउटा सिमित घेराबाट माथि उठेको देखिन्छ । तर पनि पछिल्लो समयमा स्वस्थानी व्रतप्रति विभिन्नखाले टिकाटिप्पणीहरू गर्ने गरिएको पाइन्छ । यो जायज पनि छ ।

स्वस्थानी व्रतकथाले महिलालाई होच्याएको, महिलामाथि हिंसा र विभेद गर्न प्रेरित गरेको आरोप पनि छ । कतिपयले स्वस्थानीलाई महिलामाथि पुरुषहरूले थोपरेको दासताको भारी भन्ने गर्छन् भने कतिले यो नेपाली समाजको मौलिक संस्कृति भएकोले यसको संरक्षण र निरन्तरता हुनु आवश्यक ठान्छन् । त्यसो भए आजको समाजमा स्वस्थानीको औचित्य सकिएकै हो भने फेरि किन हरेक वर्ष शाली नदीमा व्रतालुहरूको भिड बढिरहेकै छ त ?

सोह्रौं सताव्दिमा तत्कालीन सामाजिक परिवेशलाई समेटेर लेखिएको कथाले नेपाली समाजलाई परंपरागत रुपले महिलामाथि हिंसा गर्न पे्ररित गरेको र महिलालाई पुरुषले प्रयोग गर्ने वस्तुको रुपमा प्रस्तुत गरेको हुनाले वर्तमान सन्दर्भमा स्वस्थानी व्रतलाई निरुत्साहित गर्नु पर्ने या यसमा उल्लेखित हिंसाजन्य र विभेदात्मक प्रसंगलाई हटाउनु पर्ने आवाजहरू पछिल्लो समयमा महिलाहरूबाटै उठ्न थालेको पाइन्छ । स्वस्थानी केवल एउटा धार्मिक विश्वास भएको र यसले समाजमा नकारात्मक सन्देसहरू मात्र दिएको, महिलामाथि हिंसा गर्न प्ररित गरेको, बालविवाह तथा अनमेलविवाहलाई समर्थन गरेको, बलात्कारी देवतालाई पूज्य गराएर बलात्कारीलाई प्रोत्साहित गरेको र बलात्कारको मानसिकतालाई मलजल गरेको आदि आरोपहरू लगाइन्छन् ।

यति हुँदाहुँदै पनि स्वस्थानी कथाको परिवेश आजको नेपाली समाजमा पनि त्यत्तिकै मेल खान्छ । कथामा प्रयुक्त पात्रहरू आज पनि जीवन्त लाग्छन् । आज पनि नेपाली समाजका छोरीहरू एवम् महिलाहरूले भोग्नु परेका समस्या र भोगाइहरू करिब करिब उस्तै छन् । महिलालाई हेर्ने पुरुष मानसिकतामा आज पनि खासै परिवर्तन आउन सकेको छैन । नारीहरूलाई मानवको कोटीमा राख्न अझै पनि पुरुषवादी समाज तयार छैन । समाजमा महिलामाथि हुने हिंसा र बलात्कारका घटना त्यति नै बढेका छन् । महिलाको मात्र चरित्र खोज्ने मानसिकता अझै पनि विद्यमान छ ।

कानुनले विभेद हटाए पनि अंश र वंशको उत्तराधिकारी छोरा नै हुनुपर्ने मानसिकता अझै छ, जसकोलागि छोरा जन्माइदिनुपर्ने बाध्यतामा महिलाहरूले अनेकौं किसिमका शारीरिक र मानसिक हिंसा सहनु परेको छ । यसरी हेर्दा कतै यो सब सामाजिक मानसिकता र परिवेशबाट सिर्जित परंपरा र संस्कारको रुपमा नेपाली समाजमा निरन्तरता पाउँदै आएको यही स्वस्थानी व्रतकथा त होइन ? भनेर बहस र विश्लेषण गर्नु पनि जरुरी हो कि भन्ने लाग्दछ ।

त्यसैगरि नेपालको इतिहासमा लामो समयसम्म सतीप्रथालाई निरन्तरता दिनमा स्वस्थानी कथाको पनि भूमिका रहेको भन्दै स्वस्थानी कथा पितृसत्ताको उपज भएको र यसले आजसम्म पनि नेपाली समाजको पितृसत्तात्मक मानसिकतालाई निरन्तरता दिंदै महिलामाथि विभेद र हिंसा गर्न उकासेको भन्दै यसको औचित्य समाप्त भएको आरोप पनि लगाइन्छ ।

स्कन्द पुराणको केदारखण्डबाट लिइएको हुँदा स्वस्थानी कथालाई पनि एउटा धार्मिक पुराणकै रुपमा लिइने गरिन्छ । यसकारण यस कथाले उल्लेख गरेका घटना, प्रसंग र पात्रहरूलाई देवत्वकरण गरेर अनेक आश र त्राशमा रुमल्लिँदै कैयौं महिलाहरू आज पनि उत्तिकै आस्था र विश्वासका साथ यो कष्टसाध्य व्रत गरिरहेका छन् ।

त्यसकारण अन्तमा, एउटा सत्य के हो भने स्वस्थानी व्रतकथा पनि आजको साहित्य जस्तै तत्कालीन समाजको साहित्य हो र यसले मात्र सो समयको परिवेशलाई प्रतिबिम्बित गरेको छ । त्यसैले यसलाई कुनै त्राशद धार्मिक मनोविज्ञानको रुपमा नलिएर आजका कथा वा उपन्यास साहित्य पढेजस्तै गरि पढिदिऊँ । संस्कृति जोगाउने नाममा आफूभित्रको असिमित नारीशक्तिलाई कमजोर नपारौं । बुझ्नेले बुझ नपचाऊँ, नबुझेकालाई बुझाऊँ । अबका महिलाले हातमा फूल लिएर स्वस्थानी–कथा पढ्दै र सुन्दै सतीदेवी, पार्वती, बृन्दा, गोमा र चन्द्रावतीका दुःखमा आँसु नझारौं बरु अबका कुनै छोरीले सतीदेवी, गोमा, बृदा वा चन्द्रावतीको जस्तो नियति भोग्न नपरोस् भन्नेतिर सजग रहौं । खुलेर स्वस्थानी–कथा बारे बहस गरौं ।

Shares

Dikshan Online TV

Be the first to comment on "स्वस्थानी–कथा बारे खुलेर बहस गरौं"

Leave a comment

Your email address will not be published.


*