स्वास्थ्य कार्यालय दोलखाको वार्षिक प्रगति विवरण सार्वजनिक

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर विश्वकर्मा

चरिकोट, असार ३२
स्वास्थ्य कार्यालय दोलखाले आर्थिक वर्ष २०७८÷०७९ मा सम्पादित कार्य विवरण सार्वजनिक गरेको छ । शुक्रबार कार्यालयकाे हलमा जिल्लाका पत्रकारहरूसँग भेटघाट तथा स्वास्थ्य कार्यालय मार्फत सम्पन्न भएका कार्य विवरण सार्वजनिक र सोको समीक्षा गरिएको हो । कार्यालय प्रमुख उत्तमराज खनालले पत्रकारमार्फत सञ्चारमाध्यमबाट नागरिकलाई स्वास्थ्य कार्यालयको प्रगति जानकारी गराउने उद्देश्यले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कोरोना महामारी, कोरोना विरुद्धको खोप अभियान, टाइफाइड रोग विरुद्धको खोप अभियानमा देखिएका चुनौती र कार्य प्रगति तथा स्वास्थ्यसँग सम्बन्धित कार्य विवरणहरू नागरिकलाई थाहा दिने अभिप्राय रहेको उहाँले बताउनुभयो । आफूले स्वास्थ्य कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको दुई महिना भएको बताउँदै उहाँले नागरिकको स्वास्थ्य र सरोकारसँग प्रत्यक्ष जोडिएका कार्यहरू नयाँ आर्थिक वर्षबाट प्रभावकारी रुपमा सञ्चालन तथा सम्पादन गर्ने प्रतिबद्धता जनाउनुभयो । 
कार्यक्रममा कार्यालयका ल्याब टेक्निसियन श्रीभद्र शर्माले कार्यालयको कार्य प्रगतिको विषयमा जानकारी दिनुहुँदै खोप, पोषण सम्बन्धी कार्य गरिएको, समुदायमा आधारित नव शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापन, महिला स्वास्थ्य स्वंयसेविका सम्बन्धी कामहरू गरिएको बताउनुभयो । त्यसैगरी सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य, परिवार नियोजन, गाउँघर क्लिनिक र समुदाय स्तरमा स्वास्थ्य, सरुवा रोग नियन्त्रण, महामारी रोग रोकथाम तथा नियन्त्रण, नसर्ने रोगको रोकथाम, जेष्ठ नागरिक हेरचाह कार्यक्रम, सामाजिक सुरक्षा, आपूर्ति व्यवस्थापन, गुणस्तर तथा तथ्याङ्क सुधार, स्वास्थ्य सूचना तथा सञ्चार, एक विद्यालय एक नर्स कार्यक्रम र एकीकृत जनस्वास्थ्य अभियान सञ्चालन गरिएको छ । विषेश अनुदान अन्तर्गत प्रसूति केन्द्र सबलीकरण, मातृ तथा नवजात शिशु स्वास्थ्य र किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य कार्य गरिएको उहाँले बताउनुभयो । चालु तर्फ ६३ दशमलब ८८ र पुँजीगत तर्फ ३१ दशमलब ३७ प्रतिशत मात्र प्रगति भएको बताउनुभयो । चालु तर्फ सात करोड ३५ लाख ७० हजार रुपैयाँ बजेट रहेकोमा चार करोड ६९ लाख ९८ हजार ७ सय ७६ रुपैयाँ खर्च भएको छ । पुँजीगत तर्फ ८२ लाख १५ हजार रुपैयाँ बजेटमध्ये २५ लाख ७७ हजार ३ सय ७२ रुपैयाँ मात्र खर्च गरेको छ । ल्याब टेक्निसियन शर्माले कोरोना केन्द्रित हुनपर्दा लक्षित कार्यक्रमहरू सबै गर्न नसक्दा खर्च सन्तोषजनक नरहेको बताउनुभयो । उहाँले कर्मचारी अभावका कारण पनि कामहरू प्रभावित भएको सुनाउनुभयो । 
यद्यपि कोरोना महामारीको बेला सोको रोकथाम, नियन्त्रण र बिरामीको उपचार तथा खोप अभियानमा स्वास्थ्य कार्यालयको सक्रियता र प्रभावकारी कामले अपेक्षित उपलब्धि हासिल भएको उहाँको दाबी छ । उहाँका अनुसार एक लाख १६ हजार ६ सय ४२ ले पहिलो, एक लाख १४ हजार ८ सय ७२ जनाले दोस्रा र ८० हजार ९ सय ५८ जनाले बुस्टर डोज खोप लगाएका छन् । साउन पहिलो साता देखि पुनः बुस्टर डोज खोप अभियान सञ्चालन हुने छ । भदौदेखि बालबालिकालाई पहिलो मात्रा खोप लगाइने ल्याब टेक्निसियन शर्माले बताउनुभयो । चैत्र १८ गतेदेखि बैशाख २५ सम्म टाइफाइड विरुद्धाको खोप अभियान सञ्चालन गरिएको थियो । अब भने उक्त खोप नियमित खोप कार्यक्रम अन्तर्गत समेटिएको उहाँले बताउनुभयो । 
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष दीपशंकर चौलागाईँले पालिकाहरुको समन्वयमा स्वास्थ्य कार्यालयको कार्यलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य क्षेत्र सुधार र प्रगतिका लागि कामहरुको प्रचारप्रसार गरी सहयोग गर्न पत्रकारहरु सदैव तत्पर रहेको उहाँले बताउनुभयो । उहाँले निजी अस्पताल, मेडिकल तथा क्लिनिकहरुको अनुगमन र नियमन हुन नहुँदा नागरिकमा शंकाउपशंका उत्पन्न भईरहेको अवस्थामा अनुगमन र नियामक  निकाय मौन बस्न नहुने ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा उपसंयोजक हरिहर न्यौपाने, प्रेस युनियन दोलखाका कार्यवाहक अध्यक्ष गोकर्ण भण्डारी र प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेलले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

Shares

Dikshan Online TV

Be the first to comment on "स्वास्थ्य कार्यालय दोलखाको वार्षिक प्रगति विवरण सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*