थुककै थोक सम्बन्ध छ कोरोना भाइरससँग

ताजा समाचारको लागि फलो गर्नुहोस ।

जानुका न्यौपाने

मेरो घाँटी दुखेर परीक्षण गराउन जाने क्रममा अस्पतालको ढोकाको छेवैमा बसेका एकजना मान्छेलाई देखें । उनले सानो फिकदानी खल्तीबाट झिकेर मुखको खकार त्यहीं थुके । अनि बट्टामा बिर्को लगाएर फेरि हाले खल्तीमै ।
म जनरल ओपीडीबाट (सामान्य बहिरंग सेवा) बाहिर डाक्टरलाई भेटेर निस्किरहेको थिएँ । मलाई पनि चिनारुले भनेका थिए म पनि तिमि संगै जचाउँन जान पाए सजिलो हुने थियो कि ? त्यही हुनाले निकै बेरदेखि कुरेर बसेको थिएँ । छेवैका ती मान्छे निकै खोक्थे । हामी जनरल ओपीडीको अगाडि सँगैको लाइनमा बसेर पालो कुरिरहेकाथियौं ।
उनको ¥याले थुक व्यवस्थापन मलाई मन परेको थियो । कहाँ पाउनु भो यो बट्टा ? मैले उनीसँग बस्दा बस्दै सोधें । उनी देब्रे कुनामा बढ्दै ओठ तानेर फिस्स हाँसे । अमेरिकामा छोराले सिकाएको । उनले भने, तर बट्टा मैले आफैं बनाएको जवाफ दिए ।
ओपीडीमा आ–आफ्नो पालोमा पुगेर उनी एउटा कोठातिर डाक्टर भेट्नतिर लागे । म आफ्नो स्वास्थ्य परीक्षण गरिसकेर एक जना चिनारु कुरिबसें । मान्छेको धक्का र भीडभाड बेस्सरी थपिएको थियो ।
ख्वाक्क खुक्क गर्दा आउने थुक !
नेपालीहरुको मुखमा सबभन्दा बढ्ता आउने वस्तु हो जस्तो मैंले ठान्छु । नथुकी बस्नेहरु नि कमै देख्छु हामीकहाँ । थुक्न नपाउँदा बान्ता गर्नेसम्म हुन्छन् । थुक–मुख रसाएर आउने खालको तरल पदार्थ हो । यो रसिलो पारिरहने आवश्यक तत्व पनि हो । यो बिना सुख्खा हुन्छ होला मुख । अझ खाद्य पदार्थ निल्न र पचाउनमा थुकको अपरिहार्यता होला जस्तो लाग्छ । वैज्ञानिकहरुले थुकको बारेमा बृतान्त धेरै भन्लान् । स्वास्थ्य –विज्ञानले थुकको विस्तारमा झन् धेरै बताउला । म यी दुबै परिनँ । मात्र बारम्बारको थुक पीडित हुँ म । नेपालीहरुले सधैं गर्ने काममा थुक्नु पनि एक प्रमुख नै हो । हाम्रो उखानले नै थुकको पक्षमा गजबले बोलेको छ –‘एकले थुकी सुकी सयले थुकी नदि !’ हामी थुकौं, थुकेर एकताको संकेत दिऔं भन्ने प्रमाण यो उखानले गरेको हो कि भन्ने अलिअलि ज्ञान पाएको छु मैले । हुन पनि थुक्नेहरु जहाँसुकै र जस्तै उमेरका पनि हुन्छन् । कुनै जात, धर्म र लिङ्गले यी रोकिएका छैनन् । छेकिएका छैनन् कुनै पढाइ र पेशाले । कुनै पद, ओहोदा र योग्यताले रोकिएका छैनन् । थुक्नेहरु घटेका छैनन्, बढेकै पो छन् त हुनसम्म बढेका छन् ।
थुकको परिचय एउटै हो – मुखको रस ।
‘थुकले मुख धुनेहरु’ सँगै पढेको मेरो एउटा साथीले दस वर्ष पढाएपछि छोड्ने बेलामा आफ्नो सहकर्मीलाई गाली गर्दै हिँडेथ्यो । जसलाई उसले त्यहाँ ल्याएको थियो, उही नै पछि त्यो साथीको विपक्षी भएछ । उसले गरेको गाली गहिरो रहेछ–पर्गेल्दै छु आजभोलि । ‘थुकेको थुक चाट्ने’ भन्नेहरुले पनि थुकलाई घृणा गरेरै भनेका रहछेन् । उनीहरुको भनाइमा ‘थुक’ घिनलाग्दो फोहोर वस्तु हो रहेछ । फोहोर वस्तुलाई जथाभावी फ्याक्नु हुन्न, गन्हाउँछ । फोहोरले दुर्गधन्ध फैलाउँछ वा फोहोरले रोग ल्याउँछ भन्ने सत्यता मानिसहरु बिर्सेर थुकिरहेकै हुन्छन्– पिच्च….पिच्च …। थुकले झिंगा भन्काउँछ भन्दै गरेर थुक्नेहरु पनि छन् अनि झिंगाले रोग सार्छ भन्नेहरुले पनि थुक थुकेकै छन् पिच्च…पिच्च …।
नेपालीहरुका मुखमा कुनै सपना, योजना वा लक्ष्यले चिमोटेको हुँदैन । बरु ती थुक्नका लागि यस्तो भावको मुखाकृति बनाइरहेका हुन्छन्–लाग्छः करोडौं सियोले तिनको मुख घोचिरहेको छ, लाखौं बोरा कर्कलाले तिनको जिब्रो कोक्याइरहेको छ, हजारौं बोतल अमिलो चुकले तिनको दाँत खुइल्याइरहेको छ, सयौं थान टर्रा चिजबीजले तिनको ओठ डामिरहेको छ । चुच्चो न चुच्चो मुख बनाएर थुकिरहेका हुन्छन् ती जथाभावी । सातदोबाटो चोकतिरबाट रामकोटतिर गइरहेको थिएँ–चोकमा पुगेर म तल झरिरहेको थिएँ मेरो दायाँबापटि ठडिइइरहेकको ट्राफिक प्रहरी बिट नजिकैको घरको बाहिरपटिथियो एउटा मान्छे । ऊ भुइँतिर निहुरेर दाँतका चेपबाट थुक निकाल्दै थुकिरहेथ्यो सिर्र….सिर्र ….। म तत्काल त्यसको तल हिँडिरहेको थिएं । एक छिनपछि आफ्नै खुट्टा छेउमानिरन्तर पानीका थोपा झरे जस्तो लाग्यो मलाई फर्केर हेरें थुक्न थालेको पो रहेछ ऊ ।
असिनपसिन भएँ म ।
लौ बर्बाद हुने भो ।

‘भाइ बस, बस खुल्ला ठाउँमा यसरी थुकेको?’ म अति दुःखें ।
म उसको नजरबाट टाढा गएर थुकेलाई परतिरबाट हेरें । तर उसको व्यवहार पो थाहा भो, उसले त आफ्नो मुखमा पान राखेर पो यति धेरै थुकेको रहेछ – मैले देखिन मेरो जुत्ता पिलित्तै चिप्लियो । औधी दिगमिग लाग्यो मलाई । बसुम् कि हिडुम् भइरहें । अलि तल एउटा घरमा पूरानो मितिको पत्रिका मागेर थुकको लत्का पुछे पनि जिउमा बिसन्चो भने कुदिरह्यो । आङमा घिनले धावा बोल्न छोडेन कत्ति नि । थुक्नेहरु थुप्रै छन् हाम्रो वरपर । म चुपचाप घरतिर झरें ।
थुक्नेहरुलाई कुनै ठाउँ नै नचाहिने !
काम विशेषलेतराई जाँदा त्यहाँका धेरै कार्यालयका कुनकुनीमा देवीदेउताका फोटा टाँसेका देखें । सोध्दा पछि पो थाहा भो–पान खाएर नथुकुन् भनेर पो टाँसिएको रहेछ । थुक रोक्न पनि देउता देखाएर तर्साउनु पर्ने हाम्रो सभ्यता । थुक छेकथुन गर्न कहाँको सजिलो र फेरि ! यो त सभ्याता भइसक्यो, संस्कृति भइसक्यो, जीवनपद्धति भइसक्यो । थुक्नेहरु हुन्छन् जतासुकै । उनीहरुलाई थुक्न नपाउँदा वा थुक्न निषेध गर्नेहरु असामाजिक लाग्दा रहेछन् । उनीहरुले थुक्ने ठाउँ नपाउने बितिक्कै ‘क्या हो, थुक्ने ठाउँसम्म नराखेर’ भनिरहेका हुन्छन् । हाम्राअसल छिमेकी भनिरहेका थिए हाम्रा आफ्न्तलाई ‘तपाईंहरुले थुक्ने ठाउँसम्म बाँकी नराखी घर बनाउनु भयो !’उनीहरुको चित्त दुखानी अथाह थियो, अपार थियो र अगम थियो । तर म मनैदेखि खुसी थिएँ, रमाएको थिएँ र पुलकित थिएँ । थुक आफैंमा सुरक्षित रह्यो ।
अथवा थुकले मुखबाट फोहोर मिल्काइने ठाउँमा फ्याँकिने भयो । व्यवस्थित पारामा थुक थन्किने भयो भनि म सन्तुष्ट थिएँ–हाम्रा आफ्न्तले सबै जग्गामा घर बनाएको देख्दा ।
कुनै कार्यालय, प्रतिष्ठान, आयोग र विद्यालय बाँकी छैनन्–जहाँ थुक व्यवस्थित गरिएको होस् । थुक उच्छिटिने त स्वभाविक प्रक्रिया हो । तर जथाभावी थुक थुक्दै सबैलाई व्यवस्थित पार्छु भन्नु चैं – यो युगमा बर्बर हो, पशु हो, स्वाँठ हो । धेरै अघिको कुरा हो, सातदोबाटोको झण्डा भएको नजिकैको भवनमुनि बसिरहेको थिएँ । एउटा तस्वीर लिन काठमाण्डौ बाट आएको साथीसँग उभिएको के मात्र थिएँ । मास्तिर ख्वाक्क खोकेको सुनेर तर्किन खोजदै थिएँ–मेरो देब्रे काँधमा फिँजे थुकको ठूलो थोप्लो ढलपल गरी खस्यो । भौगोलिक विविधता, रमणीय वातावरण, धार्मिक, शिक्षा, संस्कृति, पर्यटनको महान् क्षेत्रको चोकैमा थुकको हलचल देखेर कटक्क दुःखें म । मन नमाज्जाले चिमोटियो । आज पनि त्यो ठाउँमा उभिएर हेर्दा म ‘थुक गोली’ सम्झना गर्छु । थक्कः गाली मात्रै भएनछ यो । थुक्कः सराप मात्रै बनेन छ यो । थुक्कः बोलीको चरित्र, व्यवहारमा ओर्लिएर हाम्रो अर्को हुलिया भएछ आजभोलि ।
मलाई याद छ हजुरबुबाको श्राद्धमा आमाले चोलो फुकालेर अनि धोती फरियाले सबै आङ छोपेर चुलोमा पिण्डको भात पकाउनु भयो । मैले आमासँग सोधे. ‘आमा, चोलो किन खोलेको ?’ ‘चोलो सिउँदा सिलाउनेले औंलामा थुक लाएर धागो छिराएका हुन्छन् । त्यै भएर सिएको लुगा फुकालेकी । बिटुलो लुगाले कसरी पितृकर्म गर्नू ?धोती फरिया त मेसिनले सिउँछ नि नानी !’ आमाले यसरी विमति जनाउनु भयो थुकलाई । आमाको यो ‘थुक अस्वीकारले’ लिएको बाटो भने मलाई चित्त बुझेको छैन आज पनि । हो थुक चाट्नेहरुको भिडन्तमा मात्र मेरी आमाले थुकलाई बहिष्कार गर्नु भएको ठानेको छु । थुक्नेहरुले आफूले गरेको काममा कमी नआओस् भन्दा रहेछन् । यो देशैभरिको महारोग हो कि जस्तो लाग्छ कहिलेकाहीँ । मेरा घर छेउमा एकजना लाहुरे पिँढीमा बसेर थुकी–थुकी आफूले ऊ बेला लडाइँमा मान्छे मारेका कथा खुबै सुनाउँथे । उनी पाँच–छ पटक थुकिसकेका हुन्थे एउटा मान्छे मार्दा । हरेक पटक आठ–नौ जना मान्छे सिध्याएको कथा सुनाउँथे उनी । अब भन्नुस्, त्यत्तिका मान्छे मारिसक्दा थुक कत्ति हुँदो हो लाहुरेको छेउमा ! सानो–सानो दह नै भइसक्दो हो । तर मैले उनको ‘थुक दौड’ धेरै बेर हेर्न सकिनँ । कामको शिलशीलमा साथीसँग गाउँमा गएको थिएँ म । दिउँसो हामी एउटा विदेशीसँग दोलखा जिल्लामा देखिने वरपरका हिउँचुली हेरी रमायौं । राति दुई कोठामा बाँडिएर सुत्यौं । रातको तीन बजेतिर विदेशी अत्तालिँदै हाम्रो कोठा ढक्ढकाउन आइपुग्यो । ‘के भयो?’ मैले सोधें विदेशीलाई । ‘डिस्टर्ब, डिस्र्टब !’ उसले भन्यो । हामीले अलिक तलको धारामा हे¥यौं–दुई मानिस निकै जोडले खाकखाक खुकखुक गर्दै मुख धोइरहेका थिए । एक जना त बेस्सरी कराई–कराई स्याँकस्याँक सुँकसुँक गर्दै थुकिरहेको थियो । ‘म यो थुक्नेको कम्प्लेन गर्छु एजेन्सीलाई !’ उसले हाम्रो छेउमा भन्यो । मैले मनमनै भनें–‘थुक्ने एउटालाई हैन, सिंगो प्रवृत्तिलाई नै कम्प्लेन गर्नु पर्नेछ हामीले !’ थुक्नेहरुसँग कुनै असहजता हुँदो रहेनछ । थुक्नु नै सर्वस्व हो जस्तो, तिनको चलन देख्छु म ।

एक पटक सम्मानित कार्यालयमा हितैषी भेट्न जाँदा ‘थुक हमला’ डरलाग्दो भएको थियो । दुइ जना व्यक्तिले थाथा…..थुथु….लगातार गरिरहेका थिए । जोगिनलाई हामी भ¥याङबाट तल ओर्लँदै थियौं । मुसलधारे पानी परिरहेको थियो । कतिखेर ती उक्लेछन्, हामी परेछौं तलै । पानीको थोप्लाथोप्ली होला भनेको त अघिदेखि तिनकै ‘थुक वर्षा’ भइरहेको रहेछ । मैले केही पछिमात्र देखें । चुरोट खाएर ती मास्तिर बसिरहेका देखिए । म हतार– हतार घर गएर नुहाएँ । थुक वर्षाले मलाई बिरामी नै पा¥यो त्यो बेला । थुक–एउटा आदत हो कि ? थुक एउटा स्वभाव हो कि ? थुक–एउटा आवश्यकता हो कि ? थुक – एउटा परिचय हो कि ? थुकिरहेका अनुहार पढिरहँदा मेरा मनमा उर्लिन्छन् हजार तर्कका छाल । मसँग थुकका बारेमा सकारात्मक तथ्य छन् निकै नै कम । विदेशीहरु भन्छन् –‘थुक मुखको एउटा अंग हो । यसको व्यवस्थापन मुखभित्रै गर्नु पर्छ !’

‘किन नेपालीहरु पेटभित्र र मुखको फोहोर बाहिर ओकल्छन् ?’ उनीहरुले यो प्रश्न हामीलाई हुत्याएको धेरै भयो । तर हामीहरु यसलाई सुनेको–नसुनेकै गरिरहेछौं । थाहा पाएको–नपाएकै गरिरहेछौं । अनि जहाँसुकै थुकिरहेछौं थुइक्क…थुइक्क….। थुक्नेहरु अघिल्तिर हामी रोगी, कमजोर, शिथिल र पत्रु । थुक्नेहरुका सामुन्ने हामी लुला, थकित र नालायक । यदि बलिया हुन्थ्यौें भने त मस्तले थुक्नु पथ्र्यो हामीले । आवाज निकाली–निकाली थुक फ्याँक्नु पथ्र्यो हामीले । कराई–कराई थुक हु¥याउन सक्नु पथ्र्यो हामीले । त्यसैले ‘नथुक्ने’ हामी नालायक । मेरा नजिकैएउटी महिलाले ¥याले बाक्लो थुक हातमा थुकिन् । अनि पाँच–सात पाइला हिँडी बारीका डिलमा गएर फ्याँकिन् । म उनको घरको आँगनमा पुगेको मान्छे । उनको ‘थुक पारा’ देखेर घिनाएँ । रात बास भयो मेरो अन्तै तर नजिकै । ‘आँगनमा थुके फोहोर हुन्छ नि नानी !’ उनले हातको थुक फ्याँकेर आउँदा भनेको मेरा कानले सुनें । उनी फेरि थुक थाप्न हत्केला साँघु¥याएर गोलो पारिरहेकी थिइन् । मेरा साथीहरु आफूहरु प्रायः अर्को मोटरको आमने सामने बस्दैनन् । पछाडि नै बस्छन् उनीहरु । ‘छेउमा बस्दा कुन बेला झ्याल खोलेर थुकिदिन्छन् ड्राइभरहरुले थाहै हुँदैन !’ उनीहरुका कुरा धेरैचोटि सुनेको छु । थुक्नेहरुको बाध्यता एउटा होला– जता र जतिबेलै थुक्न पाऊँ । थुक्नेहरुको चिन्ता पनि एउटै होला –जहाँ र जुनैबेला पनि थुक्न सकूँ । अस्पताल, आर्यघाट, मन्दिर वा विद्यालयमा पनि थुक्ने थुतुनाको जगजगी देख्छु । सप्ताह, जन्ती, मलामी, श्राद्ध वा पास्नीमा थुक ओकल्नेको लर्को घटेको छैन । जुनै वेदना, गुनासो, चोट र अत्यासमा नि थुकको हकारपकारले घेरिएकै छ । जुनै हर्ष, पुलकित, आनन्दी र उमंगमा पनि थुकले छ्याप्प छोप्नछोडेकै छैन मान्छेहरुले ।
हिमाल, पहाड वा मधेश–थुकको गतिमा कमी छैन । थुक्नेहरु जहाँ पनि हुन्छन् । थुकसँग भूगोलको बाधा छैन । थुकसँग हावापानीको सीमा छैन । थुकसँग संस्कृतिको छेकबार छैन । थुकसँग राजनीतिको व्यवधान छैन । नेपालीहरुले कति थुक्दा रैछन् –यसलाई निहाल्नेहरुले गजबले नक्कल गरिसकेका हुँदा रहेछन् । एकपटक कामकै शीलशीलमा भेटिएको एकजना विदेशीसँग म नेपालकै एउटा गाउँमा घुम्न गएको थिएँ । चिनजानकै कारण ऊनीसँग धेरै कुरा हुने भएकोले उनीले मलाई प्रायः घुम्न अनुरोध गरिरहन्थिन् आफ्नो फुर्सदीमा । नेपाल आएर मिसिनरीमा नि काम गरेकीरहिछन् उनीले । एक पटक घुम्दै जाँदा जंगलको छेउमा पुग्दा थुकिन अनि भनिन्–‘यो नेपाली पारा हो !’ अनि हलुका हाँसिन । म नि हाँसें ऊनीसँगै । बिस्तारै हाँसोसँगै म भित्रभित्रै खिन्न भएँ । नेपालीको आनीबानीलाई उनीले गजबले थप्पड हानेको थियो । नेपालीका स्वभावलाई उनीले मज्जाले चड्कन बर्साएकीथिइन । थुकसँग स्वास्थ्यको कुनै अन्तःरोगको नाता हुन्छ ? थुकसँग शरीरको कुनै दबाब हुन्छ ? थुकसँग स्वभावको कुनै गति जोडिएको हुन्छ ? मैले आजसम्म बुझेको छैन । थुक्नेले जति बेलै पनि हाम्रो समाजमा छुट पाएका छन् । रात, साँझ, बिहान वा मध्यान्ह कुनै समय अछुतो छैन । कुनै प्रश्न नि किन कतैबाट यो थुकलाई नभएको ? अथकित छ थुक हाम्रा मुखमा । हामी थुकी–थुकी युद्धमा लडिरहेका छौं । हामी मरी–मरी थुक्न खोजिरहेका छौं । हामी चम्की–चम्की थुकिरहेका छौं । थुकसँग डराएर हैन–डराउने अस्त्र बनाउन खोज्छौं हामी । थुकेरै हामी हराउन खोजिरहेका छौं–नयाँ संसारलाई । थुकेर भगाउन खोजिरहेका छौं–नवीन व्यवहारलाई । थुक ठूलो हतियार हो हाम्रो ! रामायण पढ्दा छेउको कचौरामा पानी राख्नु हुन्थ्यो बुवा । पाना पल्टाउँदा औंलामा थुक लाउनु महापाप हुन्थ्यो उहाँका लागि । आमाले स्वस्थानी व्रतकथा पढ्न लाउँदा मलाई त्यही गर्न सिकाउनु भयो । यही ज्ञानको मह र चिरैतो खाएर होला आजसम्म थुक्न सक्दिनँ म जहाँसुकै । मेरो मुखले अरु भाका निकाले नि सिर्र…सिर्र…, ख्याक…ख्वाक…, थुइयया….थुइयया….., थाथा…थुथु… बोलेको छैन । अमेरिकाबाट आएको एकजना चिनारुले मलाई बताएको थियो –‘जहाँसुकै थुक्नु हुँदैन ! अमेरिकामा त सडकमा थुके नि जरिवाना तिर्नुपर्छ । जहाँसुकै क्यामेराले फोटो खिचेको हुन्छ !’ थुक–एउटा रोगै हो । मैले धेरै थुकका नमिठा भोगाइहरु सम्झन थालें हामी त जति बेरै थुक्न जमजमाइरहेका हुन्छौं । हामी त जुनैबेला नि थुक्न हतारिरहेकै हुन्छौं । थुकसँग हामी बिछोडिन नसक्ने पो रहेछौं !

मीठो खान छोडे पनि, राम्रो बोल्न बिर्से पनि हाम्रा मुखले थुक्न भने छोड्दैनन् । हामी थुक्न नपाएका दिन पूरै थल्लिन्छौंं, लत्रिन्छौं । ‘आकाशतिर थुके आफ्नै मुखाँ छिटा !’ भनेर पुस्तकका पानमा पढे पनि यो चेतना सुल्ट्याउनु पर्ने देख्छु म त । अब धर्तीमा पनि थुके शरीरमै दाग लाग्छ भनेर बोल्न थाल्ने हो कि ? थुकको अरु महादेश र महासागरसँग नाता भएको देखिँन्न । थुकको नजिकसँग सबेै खालका भाइरस र ब्याक्टेरियाको नातो गाँसिएको हुन्छ । साँधको पानीले नै आफ्नो घरको बलेसी भिजेको हुन्छ ल्याफल्याफी । छिमेकीको सिको पो हो कि नेपालीको थुक्ने बानी ? सबै कुरा थाके पनि अथकित छ थुक हाम्रा लागि । थुकसँग थाकेका छैनौं हामी गलेका छनौं, भागेका छैनौं, आत्तिएका छैनौं थुकसँग ।

हरेक अभावले आँखा तरे पनि थुकबाट गरिब रहने छैनौं हामी । ¥याले थुकको कमी र खाँचो हाम्रो समाजमा छैन कत्ति पनि । मगन्ते कसले भन्छ हामीलाई थुकमा ? समृद्धि र सम्पन्न पो छौं त थुक्कः थुकाइमा । थुकसँग गहिरो साइनो नबनोस् हाम्रा लागि अब । कोरोना भाइरससँग पनि थुककै थोक सम्बन्ध छ । त्यसकारण ख्वाक्कखुक्क अहिलेको शर्तकता ! हो जस्तो लाग्छ मलाई । यो थुकको थोक सम्बन्धलाई निस्तेज गर्नुपर्छ अब ।

Shares

Dikshan Online TV

Be the first to comment on "थुककै थोक सम्बन्ध छ कोरोना भाइरससँग"

Leave a comment

Your email address will not be published.


*