चरिकोट ,(दीस) – तिहार सकिए लगत्तै काठमाडौँ उपत्यकामा छठको रौनक सुरु भएको छ । काठमाडौँ उपत्यका अन्तर्गत गौरीघाट, थापाथली, कमलपोखरीलगायतका जल तथा तलाउ भएका स्थानहरुमा छठ पर्व मनाउनका का लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पूजाका लागि काठमाडौँका नदी किनार झिलिमिल बत्तीसहित सिङ्गारिएका छन् । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठघाट निर्माण गर्न थालिएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठघाट अर्थात् पूजास्थल निर्माण गरिएको छ । उक्त क्षेत्रमा पाँच सय ६७ छठघाट अर्थात् पूजा कक्ष निर्माण गर्न लागिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य चन्द्रकान्त झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले पाँच सय ६७ छठ घाट निर्माण गरेका छौँ, आज बिहानसम्म पाँच सय ५० वटा स्टलहरु बुक भइसकेका छन् ।” पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा हुने छठका लागि पशुपति क्षेत्र विकास कोषले रु तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका कोषाध्यक्ष धीरेन्द्रकुमार गुप्ताले बताउनुभयो । यसैगरी कमलपोखरीमा पनि छठको तयारी भइरहेको र टेन्ट राख्ने काम सकिएको छठ पूजा समाजले जनाएको छ । कमलपोखरीमा २६० वटा टेन्ट बनाएको समितिले जनाएको छ । छठ पर्व मनाउनका लागि काठमाडौँका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा रहेका नदीहरुको सरसफाइ गरिएको छ ।
काठमाडौँ उपत्यकामा छठको रौनक– सिगाँरिदै नदी किनार

Be the first to comment on "काठमाडौँ उपत्यकामा छठको रौनक– सिगाँरिदै नदी किनार"