इश्वर बिश्वकर्मा चरिकोट, –विश्वव्यापी रूपमा फैलिएको कोरोनाबाट बच्न मानिस आफ्नै घरमा पिँजडामा झैं थुनिएर बस्नु परेको छ । कोहीकसैले पनि खुलेर हिँडडुल र घुम्न पाएका छैनन् । जसले गर्दा मानिसमा छट्टपट्टी तनाव र डर बढेको छ । मानिसको मनस्थिति बिथोलिएकोले समाजमा विवाद र झैझगडा बढ्न थालेको पाइएको छ । कोरोना कहर र लकडाउनमा परिवार, समाज मिलेर कोरोनासँग लड्नुपर्ने बेला मानिस एकआपसमै लडिरहेका छन् । त्यस्ता विवादका मुद्दाहरु न्यायिक समितिसम्म आइपुगेमा समितिले मिलापत्र गराउने गरेका छन् । कोरोना कहरकैबिच जिरी नगरपालिकाको न्यायिक समितिमा १२ वटा मुद्दा परेका थिए । चालु आर्थिक बर्ष साउन र भदौ महिनामा १२ वटा मुद्दा परेकामा ६ वटाको भने मेलमिलापको माध्यमबाट निरुपण गरिएको छ । ६ वटा मुद्दा प्रक्रियामा रहको न्यायिक समिति संयोजक कृष्णमाया बुढाथोकीले बताइन् । कोरोना कहरकाबिच पनि न्यायिक समितिलाई सक्रिय बनाइएको थियो । न्यायिक समितिमा निवेदन दर्ता, छलफल तथा बहसको क्रमलाई निरन्तरता दिइएको थियो । त्यसैले पनि न्यायिक समितिमा निवेदन परेका र तिनको निरुपण गरिएको उनले बताइन् । न्यायिक समिति परेका परेका विवादलाई मेलमिलापको माध्यमबाट निरुपण गर्ने गरिएको छ । “ मेलमिलाप समाजको गहना हो । त्यसैले मेलमिलापलाई नै प्राथमिकता दिएर न्याय सम्पादन गर्ने गरेका छौं ।“ उनले भनिन् । वडातहमै मुद्दा मेलमिलाप गराउने र त्यहाँ किनारा लाग्न नसकेका विवादलाई न्यायिक समितिले हेर्ने गरेको छ । यदि न्यायिक समितिले समेत सम्पादन गर्न नसकिएको खण्डमा अदालतमा जान सुझाइने गरिएको उनले बताइन् । न्यायिक समितिले निष्पक्ष रुपमा विवादको छिनोफानो लगाउने गरेको उनले बताइन् । उनले भनिन“ न्याय सम्पादन गर्दा पार्टी, जात, धर्म भन्दा माथि रहेर ऐन, कानुन र कार्यविधि अनुसार न्याय सम्पादन गर्ने गरेको छु।“ लेनदेन, साँध सिमाना, घरायसी विवाद लगायतका विवादको निवेदन न्यायिक समितिमा धेरै आउने गरेको न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख बुढाथोकीले बताइन् ।न्याय पाउन मेलमिलापकर्ता र न्यायिक समितिमा जानुपर्छ, भन्ने सचेतना बढेकोले स–साना विवाद अदालतसम्म पुग्ने क्रम घटेको छ भने समय र पैसाको समेत बचत भएको छ ।
Be the first to comment on "चालु आर्थिक बर्षमा जिरी नगरपालिकाको न्यायिक समितिमा १२ वटा मुद्धा दर्ता"