जाँदा जाँदै फिल्मसिटी सिलान्यास

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–भीमेश्वर नगरपालिका वडा नं. ९ डाङ्डुङेडाँडामा अन्र्तराष्ट्रियस्तरको फिल्म सिटी बन्ने पक्का भएको छ । निवर्तमान सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विहीबार प्रस्तावित फिल्मसिटीमा उपस्थित भएर सिल्यान्यास गरे ।
चलचित्र विकास बोर्डले फिल्मसिटीको सिलान्यास कार्यक्रम विहीबार दिउँसोका लागि राखेको थियो । त्यसका लागि सञ्चारमन्त्री बस्नेत बुधबारै सिन्धुपाल्चोक बाह्रविसे आइपुगे । तर विहीबार कार्यक्रमस्थल पुग्दा उनी निवर्तमान भइसकेका थिए ।
उनी आउँदा आउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा राष्ट्रपति समक्ष बुझाइ सकेका थिए । तर उनी मन्त्रीकै हैसियतमा झण्डा हल्लाउँदै आए कार्यक्रम सिलान्यास गरे प्रस्तावित डाङडुङेडाँडा अवलोन गरे र झण्डा हल्लाउँदै फर्किए । अपरान्ह ५ बजेसम्म बस्नेत खरिढुङ्गामै थिए । तर उनी प्रस्तावित फिल्मसिटी नगरीबाट फर्कन नपाउँदै देशले नयाँ प्रधानमन्त्री केपी ओली पाइसकेको थियो ।
बस्नेतले फिल्मसिटी प्रवेशद्वार नजिक खरिढुङ्गामा छोटो औपचारिक कार्यक्रममा सहभागी भए । प्रवेशद्वारमा सूचनाका लागि राखेको बार्ड अनावरण गरे । त्यसपछि फिल्मसिटीको प्रस्तावित पाहुना घर(गेष्ट हाउस)को सिलान्यास गरे । त्यहाँ १४ रोपनी जग्गामा ५ तारे होटल सरहको गेष्ट हाउस बन्ने उनले जानकारी दिए ।
सिलान्यासपछि डाङडुङडाँडा परिक्रमा गरे । सिलान्यासपछि निवर्तमान मन्त्री बस्नेतले अब अन्तरराष्ट्रियस्तरका फिल्म सिटी निर्माणमा कसैले राक्न नसक्ने बताए । ठाउँका आधारले डाङडुङे डाँडाभन्दा उपयुक्त ठाउँ अन्यत्र नभएको बताए । सरकारको तर्फबाट नियमित सडक, खानेपानी, लगायतका पूर्वाधार निर्माणका लागि बजेट विनियोजन भइरहेको छ । ‘अहिले सिलान्यास भयो, सरकारी आफ्नै कार्यक्रम भयो’ उनले भने । आफू सरकारमा भए पनि नभए तापनि निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता गरे ।
चलचित्र विकास बोर्डकी अध्यष निकिता पौडेलले यसको सिलान्यास भइकोले अब चाँडै विस्तृत आयोजना विकास प्रतिवेदन (डीपीआर) तयार गर्नका लागि बोलपत्र आव्हान गर्ने जानकारी दिइन् । ‘हामी पहिलो पटक यस्तो चलचित्र नगरी बनाउँदै छौं’ उनले भनिन् ‘यसमा अन्र्तराष्ट्रिय अनुभव पनि चाहिन सक्छ, त्यसमा पनि हामी ध्यान दिन्छौं ।’ डीपीआर तयार भएपछि त्यसको लागत र मोडालिटी टुङ्ग्याएर काम सुरु गरिने बताइन् ।
अहिले बन्न लागेको फिल्मसिटी इनडोर र आउटडोर दुवै हुने बताइन् । यहाँ आएर देशविदेशका ठूला ठूला फिल्म निर्माताहरुले ६० प्रतिशतभन्दा बढी काम पूरा गर्न सकुन् भन्ने हाम्रो योजना भएको उनले बताइन् । आफूले अन्र्तराष्ट्रियस्तरका केही फिल्मसिटीहरु पनि भ्रमण गरेको बताउँदै ति ठाउँभन्दा पनि यहाँ राम्रो प्राकृतिक सौन्दर्य भएको बताइन् ।
सिल्मसिटी अभियान्ता तथा बरिष्ठ कलाकार मदनदास श्रेष्ठले सिलान्यासले आफू उत्साहित भएको बताए । देशमा अहिलेसम्म एउटासम्म फिल्मसिटी नभएको ठाउँमा नहुँदा आफू लगातार ६ वर्षदेखि लागेको कामले सफलता हुन लागेको बताए । सरकारले नै यसको जिम्मा लिएकाले आफ्नो अभियान सफल भएको महसुस गरेको बताए ।
फिल्मसिटीसम्म पुग्नका लागि अहिले सडक विभागमार्फत सडक स्तरोन्नती भइरहेको छ । त्यस्तै खानेपानी योजना र विद्युत लाइन विस्तारको काम पनि जारी छ । खरिढुङ्गादेखि डाङडुङे पुग्न ६ किलोमिटर सडक यात्रा गर्नुपर्छ । खरिढुङ्गा काठमाडौंबाट ११४ किलोमिटर दुरीमा पर्छ ।
फिल्मसिटी निर्माणका लागि सेतीदेवी दादर सामुदायिक वनले १५ सय रोपनी जग्गा भोगचलनका लागि उपलब्ध गराएको छ । फिल्मसिटीका लागि वातावरणीय अध्ययन प्रतिवेदन (इआइए) समेत भइसकेको छ । भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतले फिल्मसिटी नगरपालिकाको पनि सम्पती भएकाले सक्दो सहयोग हुने बताइन् ।

Shares

Be the first to comment on "जाँदा जाँदै फिल्मसिटी सिलान्यास"

Leave a comment

Your email address will not be published.


*