गण्डकी, २७ साउनः कास्कीको रुपा गाउँपालिकाले डढेलोबाट वन जोगाउन सफल सामुदायिक वन समूहलाई रु २० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ । सामुदायिक वन दिवसका अवसरमा ठूलो वन समूहद्वारा निर्मित हरियाली पार्कमा आयोजित वृक्षरोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ओझाले वन जोगाउन सफल सामुदायिक वन समूहलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गर्नुभएको हो । वन क्षेत्रमा आगो लगाउँदा जैविक विविधता, वनमा रहेका वनस्पति, जीवजन्तुसहित वातावरणीय असर पर्ने हुँदा त्यस्तो आपराधिक काम रोक्न पालिकाले चालु आर्थिक वर्षदेखि पुरस्कृत गर्ने अध्यक्ष ओझाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डढेलोबाट वन जोगाउन सामूहिक प्रयासको खाँचो छ । वन संरक्षणमा लाग्ने, डढेलो लाग्ने नदिने समूहलाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्नेछौँ ।” ‘सामुदायिक वनको प्रभावकारिता, तीन तहको सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ जिल्ला महासङ्घको आयोजना एवं डिभिजन वन कार्यालय कास्की र (युएसएआडी) जलजङ्गलको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा असोका, धुपी, तेजपात, अमलालगायत विभिन्न प्रजातिका ४० वटा बिरुवा रोपिएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएकी जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुमालले रोपिएका बिरुवाको संरक्षण गर्दै प्राकृतिक स्रोतलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिनुभयो । डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले सामुदायिक वन क्षेत्रमा रहेका पुराना रुख निकाल्न उपभोक्तालाई सुझाव दिँदै त्यसका लागि कार्यालयकोतर्पmबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ठूलो वन समूहका अध्यक्ष ईश्वर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदी, जिल्ला महासङ्घ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेलगायतले वन संरक्षण, प्रवर्द्धन र विकासमा योगदान गर्दै आएका उपभोक्ताले सहज रुपमा उपयोग गर्ने व्यवस्था हुनुपर्ने खाँचो औँल्याउनुभएको थियो ।(रासस)
डढेलोबाट जोगाउने वन समूहलाई २० हजार पुरस्कार

Be the first to comment on "डढेलोबाट जोगाउने वन समूहलाई २० हजार पुरस्कार"