चरिकोट (दीस) ः नयाँ वर्ष २०८२ को अवसरमा चरिकोटमा आयोजना गरिने स्ट्रिट फुड फेस्टिभलको तयारी तीव्र पारिएको छ ।
दोलखाको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिन लागेको तीनदिने फेस्टिभलको उद्घाटन नेपाल सरकारका पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले गर्ने कार्यक्रम तय भएको छ ।
‘सडकमै खाऔँ, सडकमै रमाऔँ , रैथाने स्वाद र संस्कृतिसँगै नयाँ वर्ष चरिकोटमा मनाऔँ’ भन्ने नारासहित आयोजना हुन लागेको उक्त फेस्टिभल चैत ३१ गतेदेखि सुरु भएर बैसाख २ गते सकिने छ ।
चरिकोटको मुख्य बजार क्षेत्रमा फेस्टिभलको विभिन्न सूचनाहरुसहितको अहिले बोर्डहरू टाँसिएका छन् ।
कार्यक्रमको साझेदार संस्था दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष रुद्रजंग बुढाथोकीका अनुसार फेस्टिभलमा मन्त्रीसहित राष्ट्रिय कलाकारहरूले विभिन्न प्रस्तुति दिने छन् ।
फेस्टिभल नजिक आएकोले निर्माण कम्पनीलाई सो फेस्टिभल सुरु हुनु अगाडी नै चरिकोटको मुख्य बजार क्षेत्रको कालोपत्रे कार्य सम्पन्न गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।
होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष कुमार श्रेष्ठका अनुसार फेस्टिभल अवधिभर पर्यटकलाई सडकमा परिकारहरू खुवाइनेछ भने होटेलहरूले लजिङ सेवामा ५० प्रतिशत छुट दिने निर्णय भएको छ । फेस्टिभलमा दोलखाका रैथाने परिकार, स्थानीय संस्कृति, र लोपोन्मुख परम्पराहरूको संरक्षण र प्रवद्र्धन गर्न विविध कार्यक्रमहरू समावेश गरिएका छन् । उद्घाटन समारोहमा खानाको प्रतियोगिता, स्वाद परीक्षण, सांस्कृतिक नृत्य प्रतियोगिता, प्रत्यक्ष दोहोरी कार्यक्रम, झाँकी प्रदर्शनी तथा स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने जनाइएको छ ।
आयोजकहरूले फेस्टिभलमार्फत झण्डै एक लाख आन्तरिक तथा बाह्य पर्यटक दोलखा भित्र्याउने विश्वास लिएको छ ।
फेस्टिभल दोलखा चेम्बर अफ कमर्स र होटेल तथा पर्यटन व्यवसायी संघ दोलखाको संयुक्त आयोजनामा हुन लागेको हो ।
नयाँ वर्षको अवसरमा चरिकोटमा हुने स्ट्रिट फुड फेस्टिभलको तयारी तीव्र

Be the first to comment on "नयाँ वर्षको अवसरमा चरिकोटमा हुने स्ट्रिट फुड फेस्टिभलको तयारी तीव्र"