नेकपाले पायो कानुनी मान्यता, दुवै अध्यक्षलाई समान अधिकार

ताजा समाचारको लागि फलो गर्नुहोस ।

२४ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो विधान तयार पारेको छ । विधानमा दुवै अध्यक्षलाई समान अधिकार दिइएको छ ।

नेकपाले यसअघि पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाएको विधानलाई अन्तिम रुप दिन पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई जिम्मा दिएको थियो । त्यसअनुसार प्रचण्डले बुधबार केही संशोधनसहित विधानलाई अन्तिम रुप दिएका हुन् ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले भने, ‘विधान, राजनीतिक प्रतिवेदन सबै टुंगो लागिसक्यो, एक दुई दिनमा छापिएरै आउँछ ।’ उनका अनुसार, विधानले दुवै अध्यक्षलाई समान हैसियत र अधिकार प्रदान गरेको छ ।
आपसी समझदारीमा बैठक बोलाउने, दुवै अध्यक्षले हस्ताक्षर गरी आन्तरिक पार्टी कमिटीमा सर्कुलर गर्नेलगायतका अधिकार पनि विधानले प्रत्यायोजन गरेको छ ।

राजनीतिक दस्तावेजमा प्रचण्डको नेतृत्वमा भएको १० वर्षे जनयुद्धले उत्पीडित जाति, वर्ग, लिंग र समुदायलाई जागरुक बनाएको र त्यसले गणतन्त्र स्थापनामा भूमिका खेलेको शब्दावली समेत प्रयोग गरिएको छ । यसअघि निर्वाचन आयोगमा बुझाइएको राजनीतिक दस्तावेजमा प्रचण्डको नाम उल्लेख थिएन ।

त्यसैगरी, राजनीतिक दस्तावेजमा पार्टीको राजनीतिक कार्य्दिशा समाजवाद उन्मुख जनताको जनवाद हुने उल्लेख छ ।

नेकपाले पायो कानुनी मान्यता

यसैबीच, नेपाल कम्युनिस्ट पार्टीले कानुनी मान्यता पाएको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण गरी बनाइएको नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई निर्वाचन आयोगले दर्ता गरेसँगै कानुनी मान्यता पाएको हो ।

निर्वाचन आयोगले दुई पार्टीबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को नाम दर्ता गर्ने निर्णय गरेको जनाएको छ । गत जेठ ३ गते पार्टी एकता घोषणा भएलगत्तै शीर्ष नेताहरुले आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए ।

Shares

Be the first to comment on "नेकपाले पायो कानुनी मान्यता, दुवै अध्यक्षलाई समान अधिकार"

Leave a comment

Your email address will not be published.


*