फागुनबाट खोरथलीमा वैज्ञानिक वन व्यवस्थापन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण संवाददाता
चरिकोट, २८ माघ
दोलखाको भिमेश्वर नगरपालिका स्थित खोरथली सामुदायिक वनबाट बैज्ञानिक वन व्यवस्थापन अभियान सुरु गरिने भएको छ । यो अभियान आउँदो फागुनबाटै सुरु हुने भएको छ ।
जिल्ला वन कार्यालय दोलखाको अगुवाइमा वन ऐन २०४९ र वन नियमावली २०५१ अनुसार स्रोत परिचालन गर्ने उद्येश्यले ३० देखि ४० वर्ष नाघेका रुखहरु बैज्ञानिक तरिकाले हटाउने अभियान सुरु गर्न लागिएको हो । दोलखाका जिल्ला वन अधिकृत गोविन्द दाहालले वर्षौदेखि वन क्षेत्र ओघटेर बसेका बुढा रुखका कारण नयाँ विरुवाहरु उम्रन नसकेको र भएका रुखहरुको वृदि र विकास नभएको भन्दै बैज्ञानिक वन व्यवस्थापन मार्फत बुढा रुखहरु हटाउन लागिएको बताएका छन् ।
नेपालका हिमाली जिल्लाहरुमध्ये यो अभियान पहिलो भएको बताउदै अधिकृत दाहालले भने ‘ सामुदायिक वनहरुले उपभोक्ताको आबश्यकता भन्दा बढी काठ निकाल्न नमिल्ने प्रावधान छ तर यहाँ समुहले बिधान कार्ययोजना भन्दा धेरै काठ निकाल्छ ’ । उनका अनुसार उमेर पुगेका सबैजसो रुखहरु काटेर उक्त क्षेत्रमा वृक्षारोपण गरिनेछ । खोरथली सामुदायिक वनको १ सय ७८ हेक्टर क्षेत्रफल मध्ये ३८ हेक्टरमा रुख काट्न नमिल्ने र बाँकी १ सय ४० हेक्टर क्षेत्रफलमा रहेका रुखहरु ४० वर्ष भित्र व्यवस्थापन गर्ने गरी वर्षेनी ३ दसमलब ५ हेक्टरका दरले व्यवस्थापन गर्ने कार्ययोजना तयार भएको छ । कार्ययोजना अनुसार वार्षिक १२ देखि १४ सय सम्म रुखहरु काटिने छन् ।
अत्याधुनिक प्रबिधिको औजार मार्फत ब्यवस्थापन
वन व्यवस्थापन गर्दा पुरानो शैलीले नभएर अत्याधुनिक प्रविधिका औजार मार्फत कटान कार्य गरिने अधिकृत दाहालले बताए । उनले एउटा रुख काट्दा अर्कोलाई असर नगर्ने र साना तिना विरुवा जोगाउने तरिका सहित उपभोक्ताहरुलाई तालिम दिने तयारी भएको सुनाए । रुख काट्दा आधुनिक औजार जिपिएस आरी , रेञ्च फाइण्डर, भल्बो मेसिन र चेन्सरको प्रयोग गरीने बताए । यो प्रविधि प्रयोग गर्दा वन्यजन्तु र अन्य स साना विरुवाहरुलाई असर नगर्ने बताइएको छ ।
जिल्ला वन अधिकृत दाहालले वन व्यवस्थापन गर्दा काटिने सबै रुखहरुको बैज्ञानिक अभिलेख राखिने जानकारी दिए । उनका अनुसार बैज्ञानिक वन व्यवस्थापन निर्दे्शिका २०७१ अनुसार काटिने रुखको नाप , आकार , प्रयोगमा आउने काठ या दाउरा सबैको छुट्टाछुट्टै विवरण संकलन गरिने छ । सबै विवरण संकलन भएपश्चात प्राबिधिकहरुले कटान आदेश जारी गरेपछि मात्र उपभोक्ताले रुख काट्ने प्राबधान रहेको छ । काटिएको रुख एक साता भित्रै वन बाट हटाएर उपभोक्ता समुहले स्टोर गर्ने र सबै जम्मा गरिसकेपछि आबश्यक रहेमा सदस्यहरुलाई नियमअनुसार वितरण गर्ने र बाँकी काठ वन ऐन अनुसार टेण्डर आह्वान गरी विक्री गर्ने प्राबधान रहेको अधिकृत दाहालले जानकारी दिए । उनले विक्री गरेको रकम मध्येबाट २५ प्रतिशत वनविकास , ३५ प्रतिशत समुहमा आवद्ध विपन्न तथा लक्षित समुहको जिविकोपार्जन र बाँकी ४० प्रतिसत रकम समुहको राख्नुपर्ने बताए ।
खोरथली सामुदायिक वनका अध्यक्ष नारायण बहादुर थापाले फागुनको दोस्र्रो साताबाट अभियान सुरु गर्न लागिएको बताएका छन् । उनले सबै किसिमका तयारीहरु भैरहेको उल्लेख गर्दै चैतभित्र कटान सकेर बैशाख र जेठमा बिक्री वितरण गर्ने र असारमा वृक्षारोपण गर्ने जानकारी दिएका छन् । उनले सुचना केन्द्र सञ्चालन , अभिमुखीकरण र तालिमको काम केही दिनभित्रै गरिसक्ने जानकारी दिए ।

Shares

Be the first to comment on "फागुनबाट खोरथलीमा वैज्ञानिक वन व्यवस्थापन"

Leave a comment

Your email address will not be published.


*