एजेन्सी – चीनका तेस्रा ठूला अर्बपति र अलीबाबा समूहका मालिक ज्याक मा विगत दुई महिनादेखि बेपत्ता छन् । प्रविधि क्षेत्रमा राज गरेका मा राष्ट्रपति सी चिनफिङसँग विवाद गरेको दुई महिनामा देखिएका छैनन् । उनले चीनका ब्याजखोर वित्तीय नियामक तथा सरकारी बैंकलाई गत अक्टोबर महिनामा तीखो आलोचना गरेका थिए । व्यापारमा नयाँ कुरा शुरू गर्ने प्रयासलाई रोक्ने प्रणालीमा परिवर्तन ल्याउनुपर्ने भनी माले सरकारसँग आह्वान गरेका थिए । उनले बैंकिङ नियमहरूलाई बूढाहरूको क्लब नाम दिएका थिए । उनको भाषणले चिनियाँ कम्युनिस्ट पार्टीलाई आक्रोशित तुल्यायो । आफ्नो आलोचनालाई सहन नसकी उसले माको व्यापारमा कसीकसाउ गर्न थाल्यो । नोभेम्बर महिनामा चिनियाँ अधिकारीहरूले ज्याक मालाई झड्का दिँदै यान्ट ग्रूपको ३७ अर्ब डलरको आईपीओ निलम्बित गरिदिए । द वाल स्ट्रटी जर्नलको समाचारअनुसार, यान्ट ग्रूपको आईपीओ रद्द गर्ने आदेश राष्ट्रपति सीले आफैं दिएका थिए । त्यसपछि मालाई अलीबाबा ग्रूपविरुद्धको अनुसन्धान पूरा नहुन्जेल चीनबाहिर नजान आदेश दिइएको थियो । अफ्रिका बिजनेस हिरोज नामक टीभी शोको नोभेम्बर महिनामा भएको फाइनलभन्दा ठीक अघि मा रहस्यमय तरिकाले हराए । शोबाट उनको तस्वीर पनि हटाइयो । अलीबाबा समूहका प्रवक्ताले सेड्युल नमिलेका कारण ज्याक मा निर्णायकहरूको प्यानलमा नरहेको बताए । ट्विटरमा लगातार सक्रिय रहेका ज्याक माले दुई महिनादेखि कुनै ट्वीट गरेका छैनन् ।
Be the first to comment on "राष्ट्रपति सीसँग निहुँ खोजेपछि अलिबाबाका संस्थापक ज्याक मा बेपत्ता"