चरिकोट (दीस) : सहयोगापेक्षी सडक मानव उद्धारमा सक्रिय सामाजिक अभियन्ता राजन बस्नेतलाई भीमेश्वर नगरपालिकाले सम्मान गरेको छ। शनिबार सदरमुकाम चरिकोटमा आयोजित एक समारोहका बीच ११५औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बस्नेतलाई “सामाजिक अभियन्ता–२०८१” बाट नगदसहित सम्मानपत्र प्रदान गरिएको हो।
भीमेश्वर नगरपालिका–७ निवासी २८ वर्षीय बस्नेत विगत लामो समयदेखि समाजसेवामा क्रियाशील छन्। विशेष गरी सहयोगापेक्षी सडक मानव मुक्त अभियान मा उनी निरन्तर सक्रिय रहँदै आएका छन्। नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले सम्मानपत्र प्रदान गरेकी हुन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोका अनुसार बस्नेतले सहयोगापेक्षी सडक मानव उद्धार तथा पुनर्स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्दै आएका छन्।
उद्धार कार्यमा चुनौती र सहजता
बस्नेतका अनुसार, प्रारम्भमा सहयोगापेक्षी सडक मानवको उद्धार चुनौतीपूर्ण थियो। तर मानव सेवा आश्रम, काठमाडौं र मानवसेवा घर, भक्तपुर को सहकार्यमा गास, बास र कपासको व्यवस्थापन सहज भएपछि उद्धार कार्य प्रभावकारी बन्दै गएको छ।
बालमैत्री नगरपालिका निर्माणमा योगदान
सम्मान ग्रहण गर्दै बस्नेतले भीमेश्वर नगरपालिकालाई बागमती प्रदेशकै पहिलो बालमैत्री नगरपालिका बनाउन आफूले खेलेको भूमिकाबारे बताएका थिए। उनका अनुसार, जिल्ला समन्वय समिति दोलखा, दुई नगरपालिका, सात गाउँपालिका, मानवअधिकारकर्मी, नेपाल प्रहरी, सञ्चारकर्मी लगायत सरोकारवालाबीचको समन्वयले उद्धार कार्यलाई सहज बनाएको छ।
सहयोगापेक्षी सडक मानव मुक्त दोलखा अभियान
महिला, बालबालिका तथा युवाको हकअधिकार र संरक्षणमा लामो समयदेखि सक्रिय बस्नेतले हाल “सहयोगापेक्षी सडक मानव मुक्त दोलखा” घोषणाका लागि अभियानलाई तीव्र बनाएका छन्।
हालसम्म उनले सडकलाई नै आश्रय बनाई बसिरहेका १९ जनाको उद्धार गरिसकेको जानकारी दिए। “व्यक्तिगत स्वार्थभन्दा माथि उठी समाजको सर्वोपरी हितका लागि अहोरात्र खटिँदा प्राप्त सम्मानले थप जिम्मेवारीसहित हौसला प्रदान गरेको छ,” बस्नेतले प्रतिक्रिया दिए।
Be the first to comment on "सामाजिक अभियन्ता बस्नेतलाई भीमेश्वर नगरपालिकाद्वारा सम्मान"