अपर तामाकोसीको गाडी संघर्ष समितिको कब्जामा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा, २५ असार
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कामका लागि हिडेको गाडी स्थानीय संघर्ष समितिले चरिकोटमा दिउँसो कब्जामा लिएको छ । आयोजनामा भएको भ्रष्टाचार छानबिनको माग गर्दै आयोजनाको गाडी कब्जामा लिएका हुन् ।
चरिकोटबाट फुँलासीमा निर्माणाधिन सबस्टेसन जाने क्रममा सातदोबाटो चोकमा बा ९ च ९३६९ नम्बरको टोयोटा हाईलक्स गाडी सङ्घर्ष समितिले दिउँसो १ बजेतिर कब्जामा लिएको हो । स्थानीयले कब्जा गरेको गाडी केही समयपछि प्रहरीको सहयोगमा छाडिएको थियो ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले गाडी नियमित कामका लागि आफ्नो साइड गएको जानकारी दिए । आयोजनाको स्थानीयलाई वितरण हुन सेयरको वर्गीकरण हटाउने माग राख्दै लामो समयदेखि आन्दोलन गर्दै आएको संघर्ष समितिले असार २४ गतेदेखिको सेयर वितरण रोक्न माग गर्दै गाडी रोक्ने घोषणा गरेको थियो । तर आयोजनाको सेयर साउन १६ देखि मात्र संकलन हुने गरी सुचना जारी भइसके तापनि संघर्ष समितिले गाडी रोकेको हो ।
संघर्ष समितिले पछिल्लो समय तामाकोसी आयोजनामा लामो समयदेखि भएको भ्रष्टाचारको विषयलाई उठान गर्दै आएको छ । उनले सङ्घर्ष समितिले राखेको मागलाई बेवास्ता गरी आयोजनाले एकलौटी ढङ्गबाट सेयर जारी गरेको बताउँदै निर्णय तत्काल सञ्चाउन माग गरेका छन् ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले सेयरका विषयमा लामो समयदेखि व्यापक छलफलपछि टुंगोमा पुगेको बताए । आफ्नो काममा हिडेको गाडी रोक्ने अधिकार कसैलाई नभएको भन्दै यसबारे स्थानीय प्रशासनले ध्यान दिने विषय भएको बताए ।
दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले विरोधका लागि सांकेतिक रुपमा गाडी रोकेपछि प्रहरीको सहयोगमा छुटाएको बताए । सार्वजनिक यातायात नै अवरोध हुने गरी बन्द भए कानुन अधिकार प्रयोग हुने बताए । संघर्ष समितिले वार्ताको वातावरण बनाइदिन आग्रह गरेकाले आफूले पनि वार्ताबाटै समाधानको पहल गर्ने बताए ।

Shares

Be the first to comment on "अपर तामाकोसीको गाडी संघर्ष समितिको कब्जामा"

Leave a comment

Your email address will not be published.


*