क्रोएसियाले रच्यो इतिहास, इंग्ल्यान्ड २–१ ले पराजित

ताजा समाचारको लागि फलो गर्नुहोस ।

एजेन्सी । क्रोएसिया इतिहास रच्दै विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।
क्रोएसियाले विश्वकपको उपाधिका लागि अब फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । खेलको १०९ औं मिनेटमा मारियो मान्डजुकिकले गोल गर्दै क्रोएसियालाई २–१ गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि क्रोएसियाले जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।

निर्धारित ९० मिनेटको समयसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि ३० मिनेटको समय थप गरिएको थियो ।

यसअघि खेलको ६८औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । दोस्रो हाफमा दुबै टिमले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमा भने क्रोएसियामाथि १–० गोलको अग्रता बनाएको थियो । इंग्ल्यान्डका लागि कैरन ट्रिपिएरले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए । खेलको पाचौ मिनेटमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै ट्रिपिएरले अग्रता दिलाएका थिए ।

सुरुवाती समयमा नै गोल खाएको क्रोएसियाले पहिलो हाफमा गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न भने सकेको थिएन । रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा भएको पहिलो हाफमा इंग्ल्यान्डले गोल गर्ने अन्य राम्रो अवसर खेर फालेको थियो ।

इंग्ल्यान्डले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा हार ब्यहोरेको हो । पराजित भएसँगै उपाधि दौडबाट इंग्ल्यान्ड बाहिरिएको छ भने अब तेस्रो स्थानका लागि इंग्ल्यान्डले प्रतिस्पर्धा गर्नेछ ।

इंग्ल्यान्डले ५२ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश गर्ने अवसर पनि गुमाएको छ । यसअघि इंग्ल्यान्डले सन् १९६६ मा आफैले आयोजना गरेको विश्वकप फुटबलको उपाधि उचालेको थियो । इंग्ल्यान्डको दोस्रो पटक विश्वकपको उपाधि उचाल्ने सपना समेत सकिएको छ ।

क्रोएसियाले भने इंग्ल्यान्डलाई पारजित गर्दै इतिहास बनाएको छ । सन् १९९८ मा भएको विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो भने सेमिफाइनलमा फ्रान्ससँग २–१ गोलले पराजित हुदै उपाधि दौडबाट बाहिरिएको थियो । पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाको लागि यो सबैभन्दा ठूलो उपलब्धी हो ।

Shares

Be the first to comment on "क्रोएसियाले रच्यो इतिहास, इंग्ल्यान्ड २–१ ले पराजित"

Leave a comment

Your email address will not be published.


*