खेल फ्रान्स भर्सेस बेल्जियम : चम्केलान् लुकाकु र एमबाप्पे ?

ताजा समाचारको लागि फलो गर्नुहोस ।

एजेन्सी । रसियामा जारी फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज (मंगलबार) फ्रान्स र बेल्जियमबीचको खेल हुँदैछ । फ्रान्स समूह ‘सि’ का दुई खेलमा जित र एक खेल बराबरी खेल्दै समूह विजेता भएर प्रि—क्वार्टरफाइनल पुगेको थियो । प्रि—क्वार्टरफाइनल खेलमा

फ्रान्सले अर्जेन्टिनालाई ४—३ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो । क्वार्टरफाइनलमा भएको खेलमा फ्रान्सले उरुग्वेलाई २—० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै, बेल्जियम भने समूह चरणका सबै खेल जित्दै प्रि—क्वार्टरफाइनल पुगेको थियो । प्रि—क्वार्टरफाइनल खेलमा बेल्जियमले जापानविरुद्ध रोचक खेल खेल्दै ३—२ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनल पुगेको थियो ।

क्वार्टरफाइनल खेलमा ५ पटकको विश्वकप विजेता टोली ब्राजिललाई २—१ गोल अन्तरले पराजित गरेपछि बेल्जियम सेमिफाइनल पुगेको हो । फ्रान्सलाई विश्वकपको सेमिफाइनलसम्म पुर्याउन फरवार्ड एन्टोइनी ग्रिज्मयान, किलियन एमबाप्पे, पाउल पोग्बालगायतका खेलाडी नायक बनेका थिए ।

त्यस्तै, विश्वकप सेमिफाइनलकामा आज फ्रान्ससँग खेल्न लागेको बेल्जियमको पहिलो रोजाइका खेलाडीमा रोमेलु कुकाकु, एडेन हजार्ड र मारौनि फेल्लौनी नायक बन्दै आएका छन् ।

किलियन एमबाप्पे—फ्रान्स

विश्व फुटबलमा नयाँ तरंग ल्याउन सक्ने खेलाडी भन्दै फ्रान्सका किलियन एमबाप्पेको अन्तर्राष्टिय सञ्चार माध्यमहरुले चर्चा गरिरहेका छन् । फ्रान्सको पेरिस सेन्ट जर्मन फुटबल क्लबमा फरवार्ड एमबाप्पेको प्रदर्शन रसियामा अहिलेसम्मका खेलमा उत्कृष्ट रह्यो । एमबाप्पेले फ्रान्सका लागि जारी विश्वकपमा ३ गोल गरिसकेका छन् ।

उनको विश्वकपमा पहिलो गोल पेरुविरुद्ध भएको थियो । समूह चरणको दोस्रो खेलमा उनले डेब्यु गोल गरेका थिए । एमबाप्पेले पहिलो गोल गरेसँगै उनलाई नयाँ पुस्ताका स्टार खेलाडीको दर्जा दिइएको छ । प्रि—क्वार्टरफाइनलमा फ्रान्सले अर्जेन्टिनालाई ४—३ गोलले पराजित गर्दा एमबाप्पे दुई उत्कृष्ट गोल गर्दै नायक बनेका थिए । अर्जेन्टिनाविरुद्धको खेलमा एमबाप्पेले ५ मिनेटको बीचमा २ गोल गर्न सफल भएका थिए ।

विश्वकपबाट अर्जेन्टिना बाहिरिएपछि एमबाप्पेलाई नयाँ पुस्ताको फुटबल स्टारको रुपमा हेरिनुका साथै विश्व फुटबलका दुई महान हस्ती अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोसँग पनि तुलना गर्न थालिएको छ ।  १९ वर्षीय एमबाप्पेले फ्रान्सका लागि खेलेका अन्तर्राष्ट्रिय २० खेलमा ७ गोल गरिसकेका छन् भने बेल्जियमसँग हुन लागेको सेमिफाइनल खेलमा पनि एमबाप्पेको प्रदर्शन उत्कृष्ट रहने अनुमान गरिएको छ ।

एन्टोइनी ग्रिजम्यान—फ्रान्स

रसिया विश्वकपमा फ्रान्सका अर्का उत्कृष्ट खेलाडी हुन् एन्टोइनी ग्रिजम्यान । उनले अहिलेसम्म रसियामा खेलेका ५ खेलमा ३ गोल गरेका छन् । ग्रिज्मयान बल पास गर्ने तरिका र मैदानमा बल पाएपछिको उनको दौडले पनि बढी चर्चामा रहे । उनले फ्रान्स र अष्ट्रेलियाबीचको समूह चरणको पहिलो खेलमा अष्ट्रेलियालाई २—१ गोलले पराजत गर्ने क्रममा एक गोल गरेका थिए ।

जारी प्रतियोगितामा ग्रिज्मयानको दोस्रो गोल प्रि—क्वार्टरफाइनलमा अर्जेन्टिनाविरुद्ध पेनाल्टीमार्फत् गरेका थिए । ग्रिज्मयानले तेस्रो गोल क्वार्टरफाइनलमा उरुग्वेविरुद्धको खेलमा पहिलो गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ग्रिजम्यानले रसियामा गरेको उत्कृष्ट प्रदर्शनसँगै बेल्जियमविरुद्धको सेमिफाइनल खेलमा राम्रो प्रदर्शन गर्दै फ्रान्सलाई फाइनलमा पुर्याउन सक्ने खेलाडीका रुपमा हेरिएका छन् । २७ वर्षीय ग्रिज्मयानले अहिलेसम्म फ्रान्सका लागि खेलेका ५९ खेलमा २७ गोल गरिसकेका छन् ।

रोमेलु लुकाकु — बेल्जियम

बेल्जियमका फरवार्ड रोमेलु लुकाकु पनि रसिया विश्वकपमा सुरुदेखि नै चर्चामा रहे । लुकाकुले रसिया विश्वकपमा खेलेका ४ खेलमा ४ गोल गर्दै गोल्डेनबुटको दाबेदारका रुपमा आफूलाई उभ्याएका छन् । उनी इंग्ल्यान्डका ह्यारी केनभन्दा २ गोलले पछि छन् ।

म्यानचेस्टर युनाइटेडका फरवार्ड लुकाकुले बेल्जियमले पानामाविरुद्ध खेलेको समूह चरणको पहिलो खेलमै चमत्कार देखाएका थिए । रसिया विश्वकपबाट विश्वकपमा डेब्यु गरेका लुकाकुले बेल्जियमले पानामालाई ३—० गोल अन्तरले पराजित गर्ने क्रममा २ गोल गरेपछि उनको चर्चा सुरु भएको थियो ।

त्यस्तै, लुकाकुले समूह चरणको दोस्रो ट्युनिसियासँगको खेलमा समेत २ गोल गरेपछि उनको क्षमतालाई लिएर चर्चा हुन थालेको हो । त्यसपछिका खेलमा पनि लुकाकुले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जित उन्मुख गराए । बेल्जियमले अहिलेसम्म खेलेका ५ वटै खेलमा अपराजित रहेको छ ।

लुकाकु मैदानमा हुँदा विपक्षी खेलाडी भयरहित हुँदैनन् । उनी विपक्षी खेलाडीबाट बल खोस्दै पोष्ट चुमाउँदै टिमलाई जित दिलाउन सक्ने खेलाडी हुन् । सेमिफाइनलमा फ्रान्ससँग भिड्न लागेको बेल्जियमका तर्फबाट लुकाकु पहिलो रोजाइका खेलाडी हुन् । २५ वर्षीय लुकाकुले अहिलेसम्म बेल्जियमबाट खेलेका ७३ खेलमा ४० गोल गरिसकेका छन् ।

इडन हजार्ड

बेल्जियमका कप्तान इडन हजार्डलाई विश्वकपमा अब्बल नेतृत्व क्षमता भएका खेलाडीका रुपमा हेरिन्छ । बेल्जियमका फरवार्ड हजार्डले जारी विश्वकमा २ गोल गरेका छन् । बेल्जियम र ट्युनिसियाको खेलमा ट्युनिसियालाई ५—२ गोलले पराजित गर्ने क्रममा हजार्डले २ गोलको योगदान गरेका थिए ।

बेल्जियमका गेम मेकरका रुपमा चिनीने हजार्ड मिडफिल्डबाट खेल्ने गर्छन् । उनी विपक्षीलाई रोक्दै उत्कृष्ट पास निकाल्दै सहकर्मीसम्म सफल पास गर्न सक्छन् भने मौका मिलेको अवस्थामा आफै गोल गर्न पनि सिपालु छन् । यसअघिका खेलमा राम्रो प्रदर्शन गरेका हजार्डले सन् १९८६ पछि दोस्रो पटक सेमिफाइनल खेल्न लागेको बेल्जियमलाई फाइन पुर्याउने रणनीतिमा रहेका छन् ।

Shares

Be the first to comment on "खेल फ्रान्स भर्सेस बेल्जियम : चम्केलान् लुकाकु र एमबाप्पे ?"

Leave a comment

Your email address will not be published.


*