जिरीमा हुचिल उत्सव सकियो, ५ जना संरक्षणकर्मी सम्मानित

ताजा समाचारको लागि फलो गर्नुहोस ।

जिरी(दोलखा) २० माघ
सातौं हुचिल तथा लाटोकसेरो उत्सवमा ३ जना संरक्षणकर्मी सहित ५ जना सम्मानित भएका छन् । २ दिनसम्म जिरीमा सञ्चालन भएको उत्सवको अन्तिम दिन प्रकृति संरक्षणका क्षेत्रमा योगदान पु¥याए बापत उनीहरु सम्मानित भएका हुन् ।
दोलखाको पर्यटकीय नगरी जिरीमा भएको ‘नेपाल लाटोकेसेरो तथा हुचिल उत्सव २०७४’ मा शनिबार सम्पन्न भएको छ । जिरीमा हिजोदेखि सुरु भएको दुई दिने उत्सवको अन्तिम दिन आज प्रकृति संरक्षणको क्षेत्रमा योगदान पु¥याउने एक अनुसन्धानकर्मी, एक संरक्षणकर्मी र एक पत्रकार सहित ३ जना सम्मानित भएका हुन् ।
प्रकृति संरक्षण पुरस्कारबाट चितवन राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु सँरक्षण विभागका सहायक संरक्षण अधिकृत बेदवहादुर खड्का, नेपाल पक्षि संरक्षण संघ काठमाण्डौंका गिद्ध सँरक्षण कार्यक्रम अधिकृत कृष्णप्रसाद भुषाल र नेपाल वातावरण पत्रकार समुहमा आवद्ध पत्रकार शोभा मानन्धर पुरस्कृत भएका छन् । पुरस्कारको राशी जनही नगद २५ हजार र ताम्रपत्र रहेको छ ।
आयोजकले २ जना स्थानीयलाई समेत सम्मान गरेको छ । स्थानीयस्तरमा बन र बन्यजन्तुको संरक्षणमा कलम चलाए दोलखाका पत्रकार लक्ष्मण खड्का र गौरीशंकर संरक्षण क्षेत्र अन्तर्गत रामेछापको चुचुरेमा घाईते अवस्थामा रेडपाण्डा फेला पारी आयोजनालाई बुझाई सहयोग गरे वापत स्थानीय उद्धव घिमिरेलाई पनि सम्मान गरिएको छ । सो रेडपाण्डा अहिले जावलाखेल स्थित चिडियाखानामा अवलोकन गर्न सकिन्छ । पुरस्कृत र सम्मानित भएका व्यक्तित्वहरुलाई प्रतिनिधिसभाका सांसद पार्वत गुरुङले प्रमाणपत्र र सम्मानपत्र प्रदान गरेका हुन् । प्रकृतिका साथिहरु नामक गैर सरकारी संस्था र युवा सञ्जाल जिरीको सँयुक्त आयोजनामा भएको लाटोकोसेरो तथा हुचिल उत्सव भएको हो ।
यस्ता थिए उत्सवको आकर्षण
उत्सवको पहिलो दिन हिजो चरा अवलोकन, लाटोकोसेरो सम्बन्धि अस्थायी लघु म्युजियम तथा रोवोर्ट प्रदर्शनी, लाटोकोसेरो सम्वन्धि स्लाईड, भिडियो प्रदर्शनीका साथै लाटोकोसेरोसँग सम्वन्धित सामाग्रिहरु प्रदर्शन गरिएको थियो । उत्सवको दोश्रो दिन संरक्षण, संस्कृति तथा लाटोकोसेरोसँग सम्वन्धित सामाग्रीहरु प्रदर्शन गरियो । उत्सवलाई जीवन्त बनाउनका लागि स्थानीय शेर्पा, जिरेल, नेवार, सुनुवार लगायतका साँस्कृतिक नृत्य र भजन समेत प्रदर्शन गरिएको थियो ।
उत्सवको वन र वन्यजन्तुको क्षेत्रमा काम गर्ने सँघ संस्थाका प्रमुख एवम प्रतिनिधि, स्थानीय तहका प्रमुख एवम् प्रतिनिधि, विद्यार्थी, जिरी र आसपासका जिल्लाका स्थानीयबासी तथा आन्तरिक पर्यटकहरुले अवलोकन गरेका छन् । युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योति खड्काले उत्सवमा २ दिनमा १० हजार बढीले अवलोकन गरेको जानकारी दिए ।
उत्सवको समापन समारोहमा प्रतिनिधिसभा सांसद पार्वत गुरुङ, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की, लगायतले मन्तव्य व्यक्त गरेका थिए । जिरी नगरपालिकाका मेयर टंक जिरेल, गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयम् बहादुर खड्का, पुर्ब सांसद ईन्द्रबहादुर खड्का लगायतको सहभागिता रहेको थियो ।
पर्यावरण सन्तुलनमा योगदान पु¥याउँदै आएका लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गर्ने सञ्देशका साथ शुक्रबारदेखि जिरीमा लाटोकोसेरो तथा हुचील उत्सव आयोजना गरिएको प्रकृतिका साथीहरु नामक संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए ।
उनका अनुसार लाटोकोसेराको परिवारले एक सिजनमा तीन हजार वटासम्म मुसा खान्छ । साथै तिनले किरा फट्याङग्रा, सर्प, भ्यागुता नियन्त्रणमा पनि सहयोग र्पुयाउँछन् । अध्ययन अनुसार विश्वमा २२५ प्रजातीका लाटोकोसेरा पाइन्छ । नेपालमा २३ प्रकारका लाटोकोसेराको अभिलेख छ । तीमध्ये ९ प्रजाती दुर्लभ मानिन्छ । नेपालबाट वार्षिक दुई हजार बढी लाटोकोसेरा तथा हुचील मारिने तथा विदेशमा अबैध रुपमा पठाइने गरेको भेटिएको छ ।
अहिले जिरीका विद्यालयमा लाटोकोसेरो संरक्षण सम्बन्धि चेतना शिविर चलाइएको छ। उत्सवलाई जिरी नगरपालिका, जिरी प्राविधिक शिक्षालय र गौरिशंकर संरक्षण क्षेत्र परियोजना (जिक्याप) ले सहयोग गरेका छन् । उत्सव तयारीका लागि जिरी बजार सरसफाइ कार्यक्रम समेत गरिएको थियो ।
लाटोकसेरो संरक्षणमा अब चासो
विश्वभर करिव २ सय २५ प्रजातिका लाटोकोसेरो पाईन्छ । नेपालमा २३ प्रकारका लाटोकोसेरोको प्रजातीहरु रहेको अभिलेख छ । ती मध्ये ८ प्रजाति दुर्लभ मानिएका छन् । नेपालमा गैडा लगायतका बन्यजन्तुकै हाराहारीमा शिकार तथा अवैध व्यापार हुन थालेपछि यसको सँरक्षणमा चासो बढेको हो ।
औषधी, झारफुक तथा घरमा पाल्नका लागि भारत, चिन लगायत बिभिन्न खाडि मुलुकहरुमा यसको अवैध कारोवार हुने गरेको छ । प्रकृतिका साथीहरु नामक सँस्थाले ३५ जिल्लामा गरेको प्रारम्भिक अध्ययन अनुसार नेपालवाट वार्षिक २ हजार वटा सम्म लाटोकोसेरो तथा हुचिलको शिकार तथा अवैध रुपमा जीवितै किनवेच हुने गरेको छ । त्यस मध्ये दोलखा जिल्लावाट मात्रै बार्षिक २ सय भन्दा बढी लाटोकोसेरोको अवैध शिकार तथा व्यापार हुने गरेको अध्ययनले देखाएको छ ।

Shares

Be the first to comment on "जिरीमा हुचिल उत्सव सकियो, ५ जना संरक्षणकर्मी सम्मानित"

Leave a comment

Your email address will not be published.


*