जिससका कर्मचारीले तलबै पाएनन्

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
दोलखा, २४ भदौ
स्थानीय तहमा कर्मचारी अभावले काम दैनिक कामकाज गर्न असहज भएको जनप्रतिनिधिहरुले गुनासो गर्दै आएका छन् । तर जिल्ला समन्वय समिति दोलखामा भने काम विहीन भएका कर्मचारीहरु बस्नु परेको छ । जिल्ला समन्वय समितिको भूमिका खासै छैन ।
त्यही भएर साविकको जिविसमा रहेका कर्मचारीहरु धेरै जसो अन्यत्र स्थानीय तहमा सरुवा र समायोजन भएका छन् । तर भएका कर्मचारीहरु काम विहीन भएपछि तलब समेत जिससले दिने सकेको छैन ।
जिल्ला समन्वय समिति दोलखामा स्वीकृत दरबन्दी जिल्ला समन्वय अधिकारी सहित १३ जनाको छ । दरबन्दी अनुसारका कर्मचारीहरुमा एक अधिकृत(छैठौं) पद रिक्त छ तर दरबन्दी नै नभएका वरिष्ठ अधिकृत(सातौं) पदमा एक जना, एउटा नायव सुब्बा भएको पदमा २ जना, प्राविधिक तर्फ १ जना पाँचौ वा छैठौंको पदमा ३ जना कार्यरत छन् । तर उनीहरुलाई न त जिससले समायोजना गर्न सकेको छ न त उनीहरुलाई काम नै दिन ।
जिल्ला समन्वय समिति दोलखामा स्थानीय तहमा गएका ३ कर्मचारीहरु काम गर्न असहज भएको भन्दै फिर्ता भएका छन् । फिर्ता हुनेमा बैतेश्वर गाउँपालिका गएका कुमार घिमिरे, भीमेश्वर नगरपालिकामा गएका लिला जिरेल र गौरीशंकर गाउँपालिका गएका मधुसुदन आचार्य फिर्ता भए । यि तीनै जना स्थायी कर्मचारी हुन् । स्थानीय तहबाट फिर्ता भएका कर्मचारीहरुले चालु आर्थिक वर्षदेखि तलब समेत पाएका छैनन् ।
आफूहरुले जिससमा आएर दैनिक हाजिर भए तापनि तलब नपाएको सब इन्जिनियर लिलाबहादुर जिरेलले बताए । “जिससमा केही कर्मचारीहरु साउन यता हाजिरै नगरी तलब लिएका छन्” उनले भने “तर हामीले हाजिर गरेर पनि तलब पाएनौं, काम पनि पाएनौं ।” स्थानीय तहमा रोजेर जाँदा काम गर्न असहज र समान तह र समान काम गर्ने कर्मचारीहरुलाई सम्बन्धित स्थानीय तहले सेवा सुविधामा असमान व्यवहार गरेपछि आफूहरु जिसस फर्कन बाध्य भएको गुनासो गरे ।
कर्मचारी समायोजनका लागि कार्यालय रोज्न जिससले गत असार ३१ गते सूचना प्रकाशित ग¥यो । सूचना अनुसार कर्मचारीले कुमार घिमिरेले जिसस कार्यालय र बैतेश्वर गाउँपालिका, लिला जिरेलले जिसस कार्यालय, भीमेश्वर नगरपालिका र जिरी नगरपालिका रोजे । तर उनीहरुलाई न त ति ठाउँमा पठायो न त काम नै दियो । अहिले नरोजेको ठाउँमा जिल्ला समन्वय अधिकारीले जान दबाब दिइ रहेको सव इन्जिनियर जिरेलले बताए ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले स्थानीय तहमा गएर फकेका कर्मचारीहरुको तलब अर्थमन्त्रालयले नै नपठाएका कारण दिन नसकेको जानकारी दिए । “स्थानीय तहमा गएर केही साथीहरुले काम गर्न सक्नु भएन, केके भयो, फर्कनु भयो” उनले भने “अब समायोजनमा पनि रोजेका स्थानीय तहबाट सहमति नल्याई पठाउने कुरा भएन, तलब पनि आएको छैन, जिससको तलब खुवाउने छुट्टै कोष छैन ।” यहाँबाट तलब र काम नपाए अब मन्त्रालयमै जान पनि ति कर्मचारीलाई उनले सुझाव दिए ।
जिससमा दरबन्दी नभएपछि असारमसान्तबाट ३ जना कार्यालय सहयोगीहरु दिनेश न्यौपाने, कुमार बुढाथोकी र सुकदेव घिमिरे अवकाश पाउनेमा परे । उनीहरुलाई खुशी पारेर अबकाश गरिएको जिससले जानकारी दिएको छ । तर ४ जना अहिले कार्यरत छन् उनीहरुलाई समन्वय अधिकारीले हाजिरै नगराई तलब खुवाएको आरोप छ ।
जिससमा भएका कर्मचारीहरुलाई जुनसुकै स्थानीय तहको सहमति ल्याएपछि त्यही सरुवा गरिने जिसस प्रमुख पाण्डेले बताए । उनले हाजिर नगरी कर्मचारीहरुलाई तलब खुवाएको कुरा पनि निराधार भएको बताए । जिससबाट अधिकाँश कर्मचारीहरु भीमेश्वर नगरपालिका गएर काम गर्दै आएका छन् ।

Shares

Be the first to comment on "जिससका कर्मचारीले तलबै पाएनन्"

Leave a comment

Your email address will not be published.


*