ठेकेदारले काम नगर्दा जनप्रतिनिधि हैरान

ताजा समाचारको लागि फलो गर्नुहोस ।

शैलुङ–सम्वृद्ध शैलुङ गाउँपालिका बनाउने चुनावी नारा लिएर भरत दुलाल मत माग्न जनता माझ पुगे । उनको घोषणा पत्र र प्रतिबद्धतालाई जनताले पत्याए, गाउँपालिका अध्यक्षमा विजयी पनि गराए । उनले कार्यभार संहालेको एक वर्ष वित्यो तर भोट माग्नु अघिको सडकको अवस्थामा कुनै सुधार भएन ।
देशको पुर्नसंरचना अनुसार तीन तहको सरकार मध्ये स्थानीय तहको सरकार प्रमुख दुलाल आफैं हुन् । तर ठेकेदारले सडकको काममा टेर पुच्छर नलगाउँदा उनको घोषणा पत्र र प्रतिबद्धता एक वर्षसम्म सपनामै सिमित भयो । गाउँपालिका अध्यक्ष भए लगत्तै उनको प्राथमिकता पनि आफ्नो गाउँपालिकाको लाइफ लाइनको रुपमा रहेको मुडे–मेलुङ सडक सुधार गर्न पहल गरे ।
सडक सुधार गर्नका लागि ठेकेदारसँग हार गुहार गरे, ठेक्का लगाउने डिभिजन सडक कार्यालय चरिकोटमा पटक पटक ताकेता गरे । सडक विभाग पुगे, संघीय सरकारका विभागीय मन्त्रालयका सचिवदेखि मन्त्रीसम्म भेटे । प्रदेश सरकारका पूर्वाधार मन्त्रीदेखि मुख्य मन्त्री समेत भेटे तर उनको जोड बल केही लागेन ।
मंगलबार शैलुङ ८ भैंसेमा विद्यालय भवन उद्घाटनमा आएका उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि शैलुङको मुख्य समस्या नै भएको औल्याए । ठेकेदारले काम नगर्दा अलपत्र सडकको समस्या सल्याउन उपराष्ट्रपति समेत गुहारे । डेढ वर्ष अघि पनि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल घ्याङ आउँदा पनि सोही समस्या तेस्र्याएका थिए । तर गाउँपालिका भित्र अरु पूर्वाधारका कामहरु आफैं खटेर जोडबलका साथ गरे पनि गाउँपालिकाको मुख्य सडक नै जिर्ण भएर गाडी चल्न नसक्ने भए पनि अरु कामको केही नहुने उनको ठम्याइ छ ।
सडकको प्रगति
सिन्धुपाल्चोकको मुडे बजारबाट दोलखाको मेलुङ जोड्ने मुडे मेलुङ सडक अन्तर्गत निगाले बजारबाट १६ किमी सडकको स्तरोन्नतिको काम ठेकेदारको चरम लापरबाहीका कारण ४ वर्ष अघि ठेक्का लागेको हो । २०७१ साल असार २९ गते १० करोड ३१ लाख ४९ हजार ७४९ मा ०७२ असार मसान्तसम्ममा पूरा गर्ने गरी सम्झौता भए तापनि थप भएको २ वर्षसम्म २६ प्रतिशत मात्र प्रगति भएको छ ।
ठेकेदार कम्पनी द कञ्चन जंघा लामाविल्डर्स जेभी, सुकेधारा, काठमाडौंले कामको जिम्मा लिएको हो । काम सम्पन्न गर्ने गरी ठेका लिएको ठेकेदार कम्पनीले समयमा काम सम्पन्न गर्न नसके पछि २०७३ आसार मसान्तमा काम सक्ने गरी ठेक्काको म्याद थपिएको थियो ।
पछिल्लो पटक भुकम्प तथा इन्धन अभावको कारण देखाई ठेकेदारले म्याद थपका लागि माग गर्दा सडक विभाग पछिल्लोपटक २०७४ साल असार ३० सम्म म्याद थप गरेका डिभिजन कार्यालय दोलखाले जनाएको छ । त्यसपछि उसले कुनै पनि काम नै नगरेको सडक कार्यालयले जनाएको छ ।
ठेक्का सम्झौता अनुसार ठेकेदारले सडक स्तरोन्नति अन्तर्गत १६ किलोमिटर सडकमा कल्भर्ट, कजवे, सोलिङ तथा ग्राभेल लगायतको काम गर्नु पर्ने हुन्छ । तर हालसम्म ठेकेदारले सामान्य सडक विस्तारका लागि माटो कटिङको काम र वाल लगाउने काम बाहेक अन्य काम नगरेको स्थानीयहरु गुनासो गर्दछन् ।
‘वर्षातको समयमा त डकमा धान रोपे पनि हुन्छ, हिउँदमा पनि सिम सिम पानी आउनासाथ मोटर चल्दैन’ शैलुङ ४ का वडा अध्यक्ष ध्रुव श्रेष्ठले भने ‘केही दिन यता पानी पर्न थालेकाले मेडबाट उता बस जानै छाड्यो ।’ यो सडकबाट शैलुङ गाउँपालिकाका १० वटा वटा, मेलुङ गाउँपालिकाका ५ वटा वडा, रामेछापको दोरम्बा गाउँपालिकाका ३ वटा वडाले यही सडक प्रयोग गर्छन् ।
विशेष गरी शैलुङ गाउँपालिकाको लाईफ लाइन यो सडक नबन्नाले शैलुङ गाउँपालिकाले प्रत्यक वडामा पुग्नकालागि खनेको १० वटा सडकहरु पनि अर्थहिन बन्न पुगेको दुलालको भनाई रहेको छ । ‘हामीले गाउँपालिकाको बजेटबाट प्रत्येक वडामा पुग्नका लागि करिब ५० किलोमिटर ७ मिटर चौडा सडक बनाएका छौं तर के गर्नु यो सडक नबने सम्म ती सडक राम्रा बनेर मात्र के गर्नु ? सबै सडक जोडिने त त्यही सडकमा हो ।’ दूलालाले दुखेसो पोखे ।
सडक नवनेकै कारण भुकम्प पूनः निर्माणमा कार्य पनि महंगो बन्न पुगेको उनले बताए । ‘ठूला मालबाहक ट्रक चल्न सक्दैनन् सान फोरह्वील मालवाहक गाडिमा निर्माण सामग्री ल्याउँदा महंगो पर्छ ।’ गिटी बालुवा, सिमेन्ट, फलामा जस्ता निर्माण सामग्री महंगो पर्नाले मानिसहरु ठूलो मारमा परेका छन्, दुलालले भने ।
साथैै शँैलुङ गाउँपालिका उच्च भागहरुको मुख्य उत्पादन आलु हो । आलु ढुवानी पनि सडक नबन्नाले महँगो पर्न गएको आलु उत्पादक किसानहरुले गुनासो गरे । सडक नवन्नाले प्रसिद्ध पर्यटकीय स्थल शैलुङको पर्यटन प्रबर्धनमा पनि समस्या भएको भैंसे बजारका होटल ब्यावसायीहरुले बताए ।
डिभिजन कार्यालय चरिकोटका डिई अशोक तिवारीले आफूले सम्पर्क गर्दा म्याद धेरै पहिले नै सकिए तापनि ठेकदार कम्पनीले काम गर्छु मात्र भनेको तर काम चाहिँ नगरेको बताए । काम गरेको रनिङ विलको बमोजमको रकम दिन कार्यालयमा रकम नभएकोले दिन नसकिएको पनि उनले स्वीकार गरे । तर डिभिजन सडक कार्यालयको लेखा स्रोतले भने कार्यालयले भुक्तानी गर्नका लागि रकम अभाव भएकोले ठेकेदारले हालसम्म भुक्तानीका लागि विल पेश नगरेको बतायो ।
तर जुन सुुकै कारणले काम नभए पनि शैलुङ गाउँपालिकाको आर्थिक विकास सँग प्रत्यक्ष रुपमा गाँसिएको मुडेमेलुङ सडक चाँडो बन्नु पर्ने शैलुङ गाउँपालिका तथा मेलुङ गाउँपालिकाका जनप्रतिनिधिहरुले आग्रह गरेका छन् ।

Shares

Be the first to comment on "ठेकेदारले काम नगर्दा जनप्रतिनिधि हैरान"

Leave a comment

Your email address will not be published.


*