दोलखाको ४ हजार हेक्टरमा सिंचाइ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा । चालू आर्थिक वर्षको अन्त्यसम्म दोलखाको ४ हजार २ सय हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा पुग्ने भएको छ । ठेकेदार तथा उपभोक्ता समितिबाट अहिलेकै गतिमा काम भएमा उक्त क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने भएको हो । लक्ष्यअनुसार काम भएमा आव २०७४र७५ को अन्त्यसम्म थप १ हजार २ सय हेक्टर खेतीयोग्य जमीन सिँचाइको पहुँचमा पुग्ने डिभिजन सिँचाइ विकास डिभिजन कार्यालय दोलखाले बताएको छ ।
कार्यालयका अनुसार यो आर्थिक वर्षमा थप १ हजार २ सय हेक्टरमा सिँचाइ सुविधा पुगेपछि विगतमा निर्माण सम्पन्न भएका सिँचाइ कुलोको पहुँचमा रहेको ३ हजार हेक्टर खेतीयोग्य जमीनसहित कुल ४ हजार २ सय हेक्टर जमीन सिँचाइको पहुँचमा पुग्नेछ । हाल निर्माणाधीन क्रमागत आयोजना सबै सम्पन्न भएपछि भने कुल सिञ्चित भूमि ६ हजार हेक्टर पुग्नेछ । दोलखामा हाल समुदाय व्यवस्थित सिँचित कृषि क्षेत्र आयोजना अतिरिक्त सहयोग आयोजनाअन्तर्गत ५ उपआयोजना, नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजनाअन्तर्गत २६ उपआयोजना निर्माणाधीन छन् ।
सिँचाइ पुनःस्थापना आयोजनाअन्तर्गत एक तथा मझौला सिँचाइ आयोजनाअन्तर्गत २२ उपआयोजनामा हाल काम भइरहेको कार्यालयका डीई कृष्णप्रसाद रिजालले बताए । निगाले जामुने सिँचाइ उपआयोजनाको ६५ प्रतिशत, काभ्रेको ८० प्रतिशत तथा पुलाखोला, रुचिल, भुईमाल सिँचाइ उपआयोजनाको ८० प्रतिशत काम सम्पन्न भएको कार्यालयले जानकारी दिएको छ । अन्य आयोजनको कार्य प्रगति भने सन्तोषजनक नै रहेको कार्यालयले बताएको छ ।
‘यो आवमा सरकारसँग १० करोड बजेट माग गरेकोमा ५ करोड ४५ लाख रुपैयाँमात्र आयो । त्यो पनि समयमा नआउँदा ठेकेदारको रनिङ बिल भुक्तानीमा पनि समस्या परेको छ,’ रिजालले भने, ‘समयमा नै बजेट निकास भएमा काम द्रुतगतिमा अगाडि बढ्ने थियो ।’ दोलखाको कुल क्षेत्रफल २ हजार १ सय ९१ वर्ग किलोमिटरमध्ये २६ दशमलव ४५ प्रतिशत अर्थात् ५६ हजार ६ सय ८३ हेक्टर कृषियोग्य जमीन छ, जसमध्ये ३ हजार १ सय ८० हेक्टरमा धानखेती गरिने गरिएको जिल्ला कृषि विकास कार्यालय दोलखाले बताएको छ ।

Shares

Be the first to comment on "दोलखाको ४ हजार हेक्टरमा सिंचाइ"

Leave a comment

Your email address will not be published.


*