प्रतिबन्धका बावजुद उत्तर कोरियाले अर्बौँको कमाइ कसरी गर्यो ?

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको कडा प्रतिबन्धका बावजुद पनि अनुचित प्रक्रियाबाट विभिन्न सरसामानहरु निर्यात गरि २०० मिलियन डलर भन्दा बढी कमाइ गरेको गोप्य रिपोर्टबाट पत्ता लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

संयुक्त राष्ट्रसंघको स्वतन्त्र विभागले गरेको अनुसन्धानपछि यो खबर बाहिर आएको हो ।

रिपोर्टका अनुसार प्योङयाङले गत वर्षका सबै प्रतिबन्धको उल्लंघन गर्दै सिरिया र म्यानमारमा हातहतियार निर्यात गरेर त्यतिका रकम कमाइ गर्न सफल भएको हो ।

उत्तर कोरियाले झुटो कागजात बनाएर रुस र चीनको नाम लिँदै कोइला, फलाम र हतियारहरुलाई जहाजमार्फत दक्षिण कोरिया, मलेसिया र भेटनाम जस्ता मुलुकमा पुर्याएको संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले रेउटर्सलाई जानकारी दिएको बताइएको छ ।

सन् २००६ देखि नै उत्तर कोरियाको मिसाइल परीक्षण र हतियार निर्माण कार्यको अन्त्य गर्न आयश्रोतको सबै बाटो बन्द गर्ने उद्देश्यले कोइला, फलाम, लिड, टेक्स्टाइल र समुद्री खाद्यवस्तुको निर्यातलाई निषेध गरिएको थियो । राष्ट्रसंघको यस रिपोर्टमाथि हाल उत्तर कोरियाको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन भने उता रुस र चीनले आफूमाथिको सबै आरोप गलत रहेको बताउँदै आएका छन् । अनुसन्धान टोलीले जानकारी गराएअनुसार उत्तर कोरियाले अहिलेसम्म ४० वटा जहाजमार्फत सिरियाको अनुसन्धान केन्द्रमा हतियार पठाइसकेको छ ।

सिरियाको रासायनिक हतियार निर्माण कार्यक्रम र ब्यालेस्टिक मिसाइल प्रयोगमा उत्तर कोरियाले सहयोग गरेको प्रमाण समेत फेला परेको संयुक्त राष्ट्रसंघको गोप्य अनुसन्धान विभागले बताएको छ ।

उत्तर कोरियाले ठूलो संख्यामा एसिड प्रतिरोधक टायल्स सिरियामा पठाएको पनि पत्ता लागिसकेको बताइएको छ । सिरियाले २०१३ मा नै सम्पूर्ण रासायनिक हतियार विनाश गरिसकेको बताएपनि गोप्य रुपले नयाँ हतियारहरुको क्षमता विकास गरिरहेको पाइएको निरीक्षकहरुले बताए । त्यस्तै म्यानमारले भने उत्तर कोरियाबाट ब्यालेस्टिक मिसाइल प्राप्त गरेको आरोप लगाइएको छ । यसप्रति म्यानमारको सरकारले उत्तर कोरियासँग कुनै लेनदेन नभएको र सो भनाइ गलत रहेको ठहर गरेको छ ।

Shares

Be the first to comment on "प्रतिबन्धका बावजुद उत्तर कोरियाले अर्बौँको कमाइ कसरी गर्यो ?"

Leave a comment

Your email address will not be published.


*