माथिल्लो तामाकोसीको दोलखाबासीलाई सेयर एक महिने अभियान

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा, १६ साउन
दोलखाबासीलाई अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले माथिल्लो तामाकोसी जलविद्युत आयोजना प्रभावितका लागि एक महिने अभियान बुधबारदेखि सुरु भएको छ । लामो प्रतिक्षा र बहसपछि १ अर्ब ५ करोड ९० लाख बराबरको सेयर संकलन दोलखा र काठमाडौंबाट सुरु भएको छ ।
अप्पर तामाकोसीको सेयर जलविद्युत आयोजनाको अहिलेसम्मको सबैभन्दा ठूलो सेयर हो । सरकारले समेत यसलाई उच्च प्राथमिकता दिंदै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन स्वयम् दोलखा आए । जिल्लाभरका जनप्रतिनिधिहरुको उपस्थितिमा आयोजनास्थल रहेको साविक लामाबगर र गौरीशंकर गाविसका अध्यक्षहरुलाई सेयर फाराम हस्तान्तरण गरेर उद्घाटन गरे ।
पटक पटकको अवरोध र लामो प्रतिक्षापछि बुधबारदेखि स्थानीयका लागि सेयर संकलन गर्न लागेको हो । २०६९ सालदेखि सेयर जारी गर्ने पहल भए तापनि पटक पटकको अवरोधले धकेलिंदै आएको थियो । २०७१ सालमा सञ्चयकर्ता र ऋण लगानीकर्ताका कर्मचारीलाई सेयर जारी गरे लगत्तै स्थानीयको सेयर जारी गर्ने सबै प्रक्रिया पूरा भए तापनि वर्ग विभाजनमा स्थानीयले गरेको आन्दोलनले स्थगित भएको थियो ।
दोलखालीको सेयर संकलन उद्घाटनका लागि मन्त्री पुन दोलखाबासीलाई तामाकोसीको सेयरको भर्ने कार्यक्रमको उद्घाटनका लागि मंगलबारै दोलखा आएका मन्त्रीका सथमा मन्त्री पुन श्रीमती (पूर्व सभामुख ओनसरी घर्ती), मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समेत साथमै थिए । वहुप्रतिक्षित अप्पर तामाकोसीको सेयर संकलनलाई महापर्वकै रुपमा दोलखालीहरुले मनाउन लागेका हुन् ।

नेपालीको आत्मविश्वास बढेको छः मन्त्री पुनः
मन्त्री पुनले अब नेपाली नेतृत्वमा नै ठूला आयोजना निर्माण गर्न सक्छन् भन्ने गतिलो प्रमाण माथिल्लो तामाकोसीको सफल निर्माण भएको छ । “नेपालीले ठूला आयोजना बनाउँनै सक्दैनन् भन्ने भ्रम थियो” उनले भने “अहिलेसम्मकै ठूलो आयोजना स्वदेशी पुँजी र व्यवस्थापनमै सफल भएको छ, अब युएनडीपी सहित विदेशीले पनि विश्वास गर्न थाले, नेपालीको पनि दक्षता र आत्मविश्वास बढाएको छ ।” यो आयोजना पूरा भएपछि भारतबाट आयत हुने विद्युत प्रतिस्थापन हुने उनले बताए ।
“नेपालको पानी जनताको लगानी” नारा दिएको ऊर्जा मन्त्रालयले यो अभियान साकार पूरा गर्न कोसेढुङ्गा सावित हुने मन्त्री पुनले बताए । सामाजिक न्यायका लागि स्रोत हुने क्षेत्रका जनताको पनि लगानी हुनु जरुरी भएको बताए । उनले अब जनतालाई अब पुग्यो भन्ने गरी सेयर दिने बताए । “अप्पर तामाकोसी र चिलिमे जस्तै कम्पनी मोडेलमा सरकारले ३ हजार मेगावाटका १६ वटा आयोजना अघि बढाएको छ” उनले भने “मागे जती नागरिकले सेयर लगानी पाउँछन्, सबै नेपालीलाई जलविद्युतको मालिक बनाउने हो, एउटै आयोजनामा भनेजति नपुग्न सक्छ ।”
जति विद्युत उत्पादन भए पनि खपत हुने गरी संरचना र पूर्वाधार संरचना तयार हुँदै गरेकाले बजारको अभाव नहुने बताए । भारतसँग विद्युत व्यापार सम्झौता भइसकेको, चीनसँग प्रक्रिया अघि बढेको र केही दिनमै बंगलादेशसँग पनि सम्झौता हुने उनले बताए । देशको दोहोरो अंकको आर्थिक वृद्धिका लागि १० हजार मेगावाट विद्युत आवश्यक पर्ने भएकाले सरकारले उच्च प्राथमिकतामा दिएको बताए ।

जनप्रतिनिधिलाई अनुशिक्षण
सेयर भर्नका लागि सहजीकरण गर्न दोलखाका सबै जनप्रतिनिधिहरुलाई बोलाएर अनुशिक्षण गरेको छ । कम्पनी र नागरिक लगानी कोषले स्थानीस्तरमा सेयर भर्नका लागि जानकारीमूलक प्रशिक्षण गरेको हो । दोलखाका ९ वटै स्थानीय तह र ७४ जना वडा अध्यक्ष सहभागी थिए ।
दोलखाको बिगु गाउँपालिका १ लामाबगरमा निर्माणाधिन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागि पहिलो चरणमा आयोजना प्रभावित (दोलखाबासी) का लागि आउँदो साउन १६ गतेदेखि भदौ १४ गतेसम्मको मिति तोकेको छ । सेयर संकलनका लागि दरखास्त फाराम जिल्लाका तोकिएका संकलन केन्द्रहरुमा सोमबार आइपुगको छ । राजधानीमा बसोबास गर्ने दोलखालीहरुका लागि सनराइज बैंकका ११ शाखाबाट सेयर भर्न १० दिनको समय तोकेको छ ।
शेयर निष्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलले ३ किसिमका फाराम संकलन केन्द्रमा उपलब्ध गराएको छ । क वर्गका लागि हरियो, ख वर्गका लागि निलो र ग वर्गका लागि सेतो फाराम तयार गरेको नागरिक लगानी कोषका प्रबन्धक रोशन दंगालले जानकारी दिए । स्थानीय सेयर जिल्लाको साविक लामावगर र गौरीशंकर गाविसलाई क वर्ग कायम गरिएको छ ।
साविक ओराङ, बुलुङ, खारे, लादुक, लामिडाँडा, सुनखानी, सुन्द्रावती, सुस्पाक्षमावती, नाम्दु, गैरीमुदी, भिरकोट, जफे, मालु, शहरे र भीमेश्वर नगरपालिकाको साविक वडा नम्वर १, २, ३, ४ र ७ लाई ख वर्ग तोकिएको छ । भीमेश्वर नगरपालिकाको साविक ५, ६, ८, ९, १०, ११, १२ र १३ नम्वर वडा र जिरी नगरपालिका सहित जिल्लाका बाँकी सबै गाविस ग वर्गमा परेका छन् ।
सेयर संकलनका लागि दोलखामा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको मुख्य कार्यालय गोंगर सहित चरिकोट, सिंगटी, जिरी, मैनापोखरी, किर्ने, गुरुम्फी, मेलुङ र बाघखोरमा २५ वटा बैंक शाखा केन्द्र रहेका छन् ।

Shares

Be the first to comment on "माथिल्लो तामाकोसीको दोलखाबासीलाई सेयर एक महिने अभियान"

Leave a comment

Your email address will not be published.


*