मोदीको दुर्इ दिने नेपाल भ्रमणमा पाँच तहको सुरक्षा घेरा, यस्तो छ भ्रमण तालिका

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबारबाट हुने दुई दिने नेपाल भ्रमणलाई लक्षित गरेर नेपालका चारवटा सुरक्षा निकाय र एक भारतीय सुरक्षाकर्मीको टोली गरी पाँच तहको सुरक्षाको व्यवस्था गरिएको छ। मोदी शुक्रबार जनकपुर हुँदै काठमाडौं आउने कार्यक्रम तय भएको छ। दुई वर्षअघि भारतले गरेको अघाेषित नाकाबन्दीका कारण नेपाली जनतामा मोदीप्रति बढेकाे आक्रोश, खुला सिमानाका कारण हुन सक्ने आपराधिक गतिविधि, भारतविरोधी तत्त्वहरूका कारण हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए। उनले भने, ‘सबै नेपाली सेनाले भन्दा पनि सुरक्षा अंगहरूले एकीकृत रूपमा सुरक्षा दिने व्यवस्था मिलाएको छ।’ ‘भीभीआइपी’ पाहुनाको देशमा भ्रमण हुँदा त्यसको ‘सेक्युरिटी’को जिम्मा नेपाली सेनाको हुने हुँदा पहिलो घेरामा नेपाली सेना रहने गरी सुरक्षा व्यवस्था मिलाएको भण्डारीले बताए। परिचालन गरिएका सेनाकाे यकिन तथ्या‌ंक दिन नमिल्ने भन्दै उनले पर्याप्त मात्रामा सेना परिचालन गरेकाे बताए। भण्डारीका अनुसार मोदीको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी र मोदीको सबैभन्दा नजिकको अन्तिम घेरामा भारतीय सुरक्षाकर्मी खटिनेछ। त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरलाई समेत सादा पोसाकमा अर्को घेरामा तैनाथ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज न्यौपानेले बताए। सुरक्षाको अवस्थाबारे चारवटै सुरक्षा निकायका प्रमुखबाट अनुगमनसमेत भइरहेको र कहीँ कतै सुरक्षामा कमी नहोस् भनेर उपत्यकाका सबै ठाउँमा सुरक्षाकर्मी एकीकृत रूपमा परिचालन भइसकेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी बाबुराम पाण्डेले बताए। नेपालमा जुनसुकै देशका प्रमुखले भ्रमण गर्दा पनि सुरक्षा व्यवस्था कडा रहने भन्दै भारतीय प्रधानमन्त्री मोदीकाे सुरक्षाका विषयमा चिन्ता लिनुपर्ने कारण नभएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए। उनले मोदीको नेपाल भ्रमणका लागि सुरक्षा व्यवस्था पूर्ण रूपले तयार रहेकाे दाबी गरे। मोदीको सुरक्षाको जिम्मा सम्बन्धित सुरक्षा प्रमुखलाई दिइसकिएको सुवेदीले बताए। एक उच्च प्रहरी अधिकृतका अनुसार मोदीको सुरक्षाका लागि नेपाल प्रहरीले मात्र उपत्यकामा सात हजार जनशक्ति खटाएको र अाजदेखि नै गस्ती सुरु गरेको छ। भारतीय सुरक्षा टोलीसमेत नेपालमा भारतीय प्रधानमन्त्रीको सुरक्षा बन्दोबस्त मिलाउन नयाँदिल्लीबाट समेत भारतीय एक सुरक्षा निकायका उच्च अधिकृतको नेतृत्वमा भारतीय सुरक्षाकर्मीको टोली नेपाल अाएको छ। नेपाल अाएका सुरक्षाकर्मी जनकपुर, मुक्तिनाथ र काठमाडौंमा रहेको प्रहरी स्रोतको भनाइ छ। भारतीय उच्च ओहदाका व्यक्तित्वको सुरक्षा मामिला हेर्ने अधिकृतको नेतृत्वमा केही भारतीय सुरक्षाकर्मी मोदीसँगै अाउँदै छन्। मोदीका साथमा कति सुरक्षाकर्मी अाउँदै छन् भन्ने तथ्यांक परराष्ट्र मन्त्रालयबाट आइनसकेको सुवेदीले बताए। भारतीय सुरक्षाकर्मी हातहतियारसहित मोदीको भ्रमणमा नेपाल आउनु सरकार आफ्नो सुरक्षा व्यवस्थामा आफैँ ढुक्क नभएको भान हुने पूर्व सेना प्रमुख रुक्मांगत कटुवाल बताउँछन्। तर पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराले आफ्नो भिभिआइपीको भ्रमण हुँदा ‘सेक्युरिटी’ अवस्थालाई मध्यनजर हातहतियारसहित सुरक्षाकर्मी आउनुलाई ठूलो विषय मान्न नहुने बताउँछन्। उनले भने, ‘संख्याको अाधारमा कम र बढी हुन सक्छ तर नेपालका कुनै भिभिआइपीको भ्रमण हुँदा नेपाली सुरक्षाकर्मी जान सक्छन्, यसलाई कसैको देशको सुरक्षाकर्मीको विश्वास नभएर भन्नुहुँदैन।’    मोदीसँगै आउने सुरक्षाकर्मीको टोलीले मोदीको भ्रमणका बेला अपनाइने सुरक्षा घेराको स्केचसमेत बनाएर सुरक्षा तयारी गरेको एक उच्च प्रहरी अधिकारीले बताए। स्केच भने अत्यन्त गोप्य राखिएको प्रहरी स्रोतको भनाइ छ।  यस्तो छ मोदीको दुई दिने नेपाल भ्रमण तालिका  भारतीय प्रधानमन्त्री मोदी शक्रबार बिहान ९:१५ मा भारतको पटना हुँदै हेलिकोप्टरबाट जनकपुर अवतरण गर्नेछन्। अवतरणलगत्तै ९:३० मा जानकी मन्दिरमा गएर पूजा गर्ने कार्यक्रम रहेको छ। १०:१५ बाह्र बिगाहा मैदानमा नागरिक अभिनन्दनमा सहभागी हुने र त्यहाँबाट सम्बोधन गर्ने कार्यक्रम छ।

Shares

Be the first to comment on "मोदीको दुर्इ दिने नेपाल भ्रमणमा पाँच तहको सुरक्षा घेरा, यस्तो छ भ्रमण तालिका"

Leave a comment

Your email address will not be published.


*