रसियाको मैदानमा स्पेनलाई डर, के होला नतिजा ?

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । विश्वकप क्वार्टरफाइनल प्रवेशका लागि आयोजक रसिया र स्पेन आइतबार बेलुका पौने ८ बजे खेल्ने छन् । रसिया समूह ‘ए’ को उपविजेता र स्पेन समूह ‘बी’ को विजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ..

विश्वकप सुरु हुनुअघि कमजोर मानिएको रसियाले समूह चरणमा आफ्नो क्षमता देखाइसकेको छ । अघिल्ला खेलबाट हौसिरहेको रसियाको झण्डै ८१ हजार दर्शक अट्ने मस्कोको लुजिन्की स्टेडियममा सामना गर्न स्पेनलाई सहज हुने छैन ।

समूह चरणमा पहिलो खेलमा साउदी अरेबियालाई ५-० साथै दोस्रो खेलमा इजिप्टलाई ३-१ ले हराएको रुस तेस्रो खेलमा उरुग्वेसँग ३-० ले पराजित भएको थियो ।

पहिलो खेलमा पोर्चुगलसँग ३-३ को बराबरी गरेको स्पेनले भने दोस्रो खेलमा इरानलाई १-० ले हराएको थियो । स्पेनले तेस्रो खेलमा मोरक्कोसँग २-२ को बराबरी गरेको थियो ।

समूह विजेताको रुपमा अघिल्लो चरणमा पुगे पनि स्पेनिस टिमको उत्कृष्ट फुटबल भने समूह चरणमा देखिएको थिएन । समूह चरणका तीन खेलमा पाँच गोल खाएको स्पेनको विशेष गरी डिफेन्स लाइन र गोलकिपरको कमजोरी देखिएको थियो ।

विश्वकपमा अन्तिम १६ को खेलमा आयोजक रसियाविरुद्ध खेल्दा डिफेन्स नसुधि्रने हो भने स्पेनिस टिम निराश बन्न सक्छ । रसियाले समूह चरणका तीन खेलमा आठ गोल गरेको थियो भने चार गोल खाएको थियो ।

प्रशिक्षक फर्नान्डो हिरेरो रसियाविरुद्ध खेल्ने सुरुवाती ११ मा पनि केही परिवर्तन गर्न खोजिरहेका छन् । मिडफिल्डमा कोकेलाई सुरुवातमै ल्याउने तयारी उनको छ । डेभिड सिल्भाले आश गरेअनुरुप खेल देखाउन नसकिरहेकाले उनको स्थानमा मार्को एसेन्सियोलाई सुरुदेखि नै खेलाउने तयारी पनि हिरेरोको छ ।

गोलकिपर डेभिड डेगाले गरेका सामान्य गल्ती सुधार हुनै पर्ने र टिमले उनीमाथि विश्वास राखेको उनको भनाइ छ । मिडफिल्डमा बुस्केट्सले एउटा पहेँलो कार्ड खाएकाले सम्हालिनुपर्ने देखिन्छ ।

रसियाका इगर स्मोलिन्कोभले समूह चरणको अन्तिम खेलमा उरुग्वेविरुद्ध रातो कार्ड पाएकाले उनी स्पेनसँगको खेलमा हुने छैनन् । उनको स्थानमा मारियो फर्नान्डेसलाई खेलाइँदै छ । एलेक्जेण्डर गोलोभिन, फेडर स्मोलोभ र युरी गजिन्स्की तीनै जनाले एउटा एउटा पहेँलो कार्ड पाएका छन् ।

स्पेन जारी विश्वकपमा सबैभन्दा राम्रो पास खेल्ने टिम हो । २ हजार ८९ पास सही भएको स्पेनिस टिमविरुद्ध रसियालाई चुनौती पनि उनीहरुको पास गेम नै हो । साथै पोस्टमा भएका आक्रमण र गोलका अवसर पनि रसियाको भन्दा स्पेनको राम्रो देखिएको छ । स्पेनले समूह चरणमा ४२ पटक गोलका अवसर बनाएको थियो जुन रसियाको भन्दा २४ बढी हो ।

सन् १९९१ मा सोभियत युनियन टुक्रिएपछि रसियाले स्पेनलाई हराउन सकेको छैन । जसमा दुई खेल बराबरी गरेको छ भने चार खेल हारेको छ । गएको नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा रसिया र स्पेनले ३-३ गोलको बराबरी खेलेका थिए ।

स्पेनले रसियासँगका पछिल्ला तीन खेलमा १० गोल गरेको छ । सबै गरेर स्पेनको पछिल्लो १५ खेलमा भएका १२ गोलमा इस्कोको प्रत्यक्ष भूमिका छ । जसमा उनले १० गोल गरेका छन् भने दुई गोलका लागि पास मिलाएका छन् ।

Shares

Be the first to comment on "रसियाको मैदानमा स्पेनलाई डर, के होला नतिजा ?"

Leave a comment

Your email address will not be published.


*