राजनीति तयार भयो ने क पाको विधान, दुई अध्यक्ष, दुई वरिष्ठ नेता

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । पार्टी एकीकरण भएको दुई महिनामा नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को विधान तयार भएको छ । विधान नहुँदा मातहतका कमिटीहरूको एकीकरण प्रक्रिया अघि बढ्न सकेको थिएन ।
यसअघि नै तीन महिनाभित्र मातहतका कमिटीहरू एकीकरण गर्ने ने क पाले बताएको भए पनि विधान र नियमावली बन्न नसक्दा एकीकरण विस्तार हुन नसकेको हो ।

२ वर्षभित्र महाधिवेशन
विधानअनुसार ने क पाको महाधिवेशन २०७७ जेठ ३ भित्र सम्पन्न गरिसक्नुपर्नेछ । त्यस्तै, प्रदेश कमिटीको अधिवेशनको समयसीमा डेढ वर्ष तोकिएको छ भने एक वर्षभित्रमा जिल्ला अधिवेशन गर्ने गरी विधान तयार पारिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

त्यस्तै महानगर, नगर, गाउँपालिका र ती मातहतका वडा कमिटीको अधिवेशन पनि एक वर्षभित्र गरिसक्नुपर्नेछ ।

अध्यक्षसमेत प्रतिनिधि चुनिनुपर्ने 
पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ बनाउन ने क पाले पार्टी अध्यक्षले समेत तलबाट निर्वाचित भएर आउनुपर्ने विधि तयार पारेको छ । लोकतान्त्रिक अभ्यासलाई अझै व्यवस्थित गर्न र मातहतका कमिटीप्रति अपनत्व बोध गराउन ने क पाले हरेक प्रतिनिधि निर्वाचित हुनुपर्ने विधि लागु गराउन खोजेको रिजालले जानकारी दिए ।

यसअघि एकीकरण भएका दुवै पार्टीको इतिहासमै यो नवीन प्रयोग भएको रिजालले जानकारी दिए । यसअघि आयोजक कमिटीका सदस्य स्वतः प्रतिनिधि हुने व्यवस्थालाई बदलेर आयोजकसमेत चुनिएर आउनुपर्ने व्यवस्था राखेको हो ।

वर्तमान व्यवस्थानुसार ने क पाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल सम्बन्धित (संगठित सदस्य) रहेकै भूगोलबाट प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने छ ।

विधानमा आयोजक कमिटीले पाँच प्रतिशत प्रतिनिधि मनोनीत गर्न सक्ने प्रावधानसमेत राखेको छ । यस्तै पार्टीको अध्यक्ष बन्न पोलिटव्युरो सदस्य भई एक कार्यकाल काम गरेको कार्यअनुभव चाहिनेसमेत विधानले व्यवस्था गरेको छ ।

३३ प्रतिशत महिला अनिवार्य
एकीकृत पार्टीमा ३३ सदस्य नपुगेको बारे पार्टीभित्र र बाहिर व्यापक आलोचना खेपेको ने क पाले अब बन्ने कमिटीमा भने ३३ प्रतिशत महिला अनिवार्य गरेको छ । कदाचित् महिला संख्या नपुगे खाली राखेर भए पनि मनोनीत गर्नुपर्ने प्रावधान राखेको छ ।

महिला नभए पुरुषै राखेर भए पनि कमिटीलाई पूर्णता दिने चलनलाई वर्तमान विधानले खारेज गरिदिएको छ ।

हट्यो उमेर हद
यसअघि पूर्व एमालेले ७० वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकास लिनुपर्ने प्रावधान राखेर उमेरहदको प्रवन्ध गरेको थियो । उक्त व्यस्थानुसार वामदेव गौतमलगायत नेताले ‘रिटायर्डमेन्ट’ लिनुपर्ने थियो ।

तर, वर्तमान विधानले भने त्यो व्यवस्था अस्वीकार गरेको छ । विधान कार्यदलमा रहेका केही नेताले उमेर हद राख्नुपर्ने सुझाव दिएका थिए । तर, दुई पार्टी एक हुन लागेकाले शुरूमै यस्तो व्यवस्था राख्न नहुने मत बलियो भएपछि उमेर हदको प्रवन्ध हटेको ने क पाका नेता बताउँछन् ।

दुई अध्यक्ष, दुई वरिष्ठ नेता
वर्तमान विधानअनुसार ने क पामा दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक महासचिव, एक प्रवक्तासहित ९ सदस्यीय सचिवालय रहनेछ । त्यस्तै ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यी केन्द्रीय कमिटी रहने व्यवस्था गरेको छ । प्रदेश कमिटी न्यूनतम १५१ सदस्यीय हुनुपर्ने व्यवस्था गरेको छ भने ती प्रदेशअन्तर्गतका जिल्लाबाट तीन जनाका दरले सदस्य रहने व्यवस्था पनि विधानले गरेको छ ।

यस्तै जिल्ला कमिटी न्युनतम १२५ सदस्यीय र प्रत्येक निर्वाचन क्षेत्रबाट दश जना सदस्य निर्वाचित हुने व्यवस्था विधानले गरेको छ । वर्तमान व्यवस्था अनुसार काठमाडौँमा २२५ सदस्यीय जिल्ला कमिटी गठन हुनेछ ।

महानगर, नगर, गाउँपालिका कमिटीको संख्या भने हेरफेर छैन । जसअनुसार महानगर ७५, नगर ६१ र गाउँपालिका ५१ सदस्यीय बन्ने छ । वडा कमिटी २५ सदस्यीय र आधारभूत (प्रारम्भिक) कमिटी १५ सदस्यीय बन्ने छ ।

३२ केन्द्रीय विभाग
वर्तमान विधानअनुसार ने क पामा ३२ विभाग रहनेछन् भने सबैमा प्रमुख–उपप्रमुख र सचिव रहनेछन् । विभागको सदस्य बढीमा ३५ रहने विधानमा व्यवस्था छ । जसमा प्रमुख र उपप्रमुख केन्द्रीय कमिटीले तोक्ने छ भने सचिवको चयनचाहिँ सदस्यहरूले गर्न पाउने व्यवस्था राखिएको छ ।

Shares

Be the first to comment on "राजनीति तयार भयो ने क पाको विधान, दुई अध्यक्ष, दुई वरिष्ठ नेता"

Leave a comment

Your email address will not be published.


*