लामाबगर–तिब्बत सिमा सडकको काम सुरु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा, –लामाबगरदेखि तिब्बत सिमाना पुग्ने सडकको काम सुरु भएको छ । उत्तर–दक्षिण नाकाको रुपमा रहेको लामाबगरको अप्ठ्यारो खण्डको काम सुरु भएको छ । जिल्ला सुरक्षा समितिले विष्फोटक पदार्थ आयत र ढुवानीका लागि अनुमति पाएसँगै कामले गति लिएको हो ।
असोजदेखि विष्फोटक पदार्थको पर्खाइमा भए तापनि विष्फोटक पदार्थको अभावमा काम सुचारु भएको थिएन । जिल्ला सुरक्षा समितिले विष्फोटक पदार्थ व्यवस्थापनको निर्णय गरे लगत्तै शनिबार अपरान्ह सडक खुलाउन विष्फोट सुरु भएको हो । अहिले सडकको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँधस्थल आसपासको क्षेत्रको सडक ट्रयाक खोल्ने काम हुने सडक निर्माणमा खटिएका प्राविधिकहरुले जानकारी दिए ।
‘अब सडक निर्माणले गति लिन्छ’ सडक निर्माणमा खटिएका प्राविधिक सुपरभाइजर शिव श्रेष्ठले भने ‘विगतमा सरकार चुनाव लगायतका विभिन्न काममा व्यष्त हुँदा विष्फोटक पदार्थको निर्णय भएको थिएन अहिले सरकारी तहबाट पनि निर्णय भयो ।’ अब केही दिनमै कामदारहरुको संख्या पनि बढाउँने र उपकरण पनि थपिने उनले बताए ।
माथिल्लो तामाकोसी आयोजनाको बाँध क्षेत्र नै सडक निर्माणको सबैभन्दा कठिन भीर हो । बाँधको दायाँपट्टिको भीरमा सडक निर्माण कठिन भएकाले ४ वर्ष अघि नै आयोजनाकै परामर्शदाता नरकन्सल्ट–ल्याह्मेर इन्टरनेशनल र ठेकेदार कम्पनी चिनीयाँ सिनो हाइड्रो कर्पोरेशनको संयुक्त अध्ययनमा ९ सय मिटर सुरुङमार्गको डिजाइन भएको थियो । सी आकारको सुरुङको डिजाइन सडक विभाग हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेर फाइन रोकिएको छ ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजना पूरा भएपछि तिब्बतीयन सिमा क्षेत्रसम्म पुग्ने बाटो समेत बन्द हुन्छ । आयोजना सञ्चालनमा आएपछि बाँधमा पानी भरिँदा बाटो बन्द हुने हुँदा आयोजना पूरा नहुदै उक्त सडक खोल्नु पर्ने बाध्यता छ । ‘बाँध भरिएपछि हिड्ने बाटो पनि बन्द हुन्छ, बाँधलाई असर गर्ने हुँदा सडकको बाम गर्न पनि कठिन हुन्छ’ माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता गणेश न्यौपानेले भने ‘बाँध भरिनु अघि नै काम सके राम्रो हुन्छ अन्यथा बाँधको सुरक्षालाई समेत ध्यान दिंदा काम गर्न अत्यन्तै जोखिम छ ।’
माथिल्लो तामाकोसी आयोजनाका अधिकारीहरुले लामाबगर आउँने प्रधानमन्त्री, मन्त्री, विभागीय अधिकारीहरुलाई बाँध प्रभावित क्षेत्रको सडक चाँडै खोल्न पटक पटक अनुरोध गर्दै आएका छन् । लामाबगर आउँदा आश्वासन दिए तापनि काममा प्रगति भने हुन सकेको छैन । आयोजनाले आउँदो असार–साउनमा आयोजना सञ्चालन गर्ने गरी कामलाई तिव्रता दिएको छ ।
सडक डिभिजन कार्यालयले लामाबगर–तिब्बत सिमा सडकको रुपमा पटक पटक ठेक्का आव्हान गरेर काम गराउँदै आएको छ । विगतमा कठिन भीरमा विष्फोटक पदार्थ, निर्माण व्यवसायीको लापारबाहीले सोचे अनुसार काम हुन सकेको थिएन । अहिले निर्माण व्यवसायीले कामप्रति चासो राखेकाले समयमा काम हुनेमा आशावादी भएको डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख अशोक तिवारीले जानकारी दिए ।
सडक विभागले अहिले ८ किलोमिटरका लागि ठेक्का लगाएर काम गरिरहेको छ । निर्माण व्यवसायीले लामाबगरको सशस्त्र प्रहरी क्याम्प बसेको पुलदेखि साँढे २ किलोमिटरसम्म माटो कटिङ गरेर भीरमा ड्रिलिङ गरेर प्वाल खोपिसकेको छ । निर्माण व्यवसायीका तर्फबाट साइडमा कार्यरत गणेश बस्नेतले अहिलेसम्म ४ हजार ५ सय प्वाल पारि सकेको जानकारी दिए । विष्फोटक पदार्थ आइसकेकाले अब २ हप्ताभित्र विष्फोट गराएर सडक ट्रयाक प्रस्तावित सुरुङमार्गसम्म पु¥याउने योजना रहेको बताए ।
लामाबगर–तिब्बत सडक निर्माणका लागि लामा–समानान्तर जेभीले ठेक्का पाएको छ । उसले अहिले नेपाली सेनासँग बसेर कालिगण्डकी, कालिकोट र मनाङ लगायतका काम गरेका अनुभवीहरुलाई लामाबगर ल्याएको छ । सडक विभागले प्रस्तावित सुरुङमार्गभन्दा तल र माथिको सडकको ट्रयाक निर्माण गराएको छ । यस अघि वार्षिक ३ करोडसम्म बजेट फ्रिज हुँदै आएको छ ।
विष्फोटक पदार्थको स्वीकृति पाएसँग निर्माण व्यवसायीले सडक निर्माणको काम अब तिव्र रुपमा गर्ने बताएको छ । अब ५÷६ महिनामा पाएको जिम्मेवारी पूरा गर्ने बताएको छ । व्यवसायीको प्रतिबद्धता अनुसार काम भए लामाबगरदेखि जुम खोलासम्मको भीरमा सडक ट्रयाक खुल्ने छ । तर माथिल्लो तामाकोसी बाँधस्थल क्षेत्रमा सुरुङ नबने हिड्ने बाटो समेत आयोजना पूरा भएपछि अबरोध भने हुने छ । लामाबगरका स्थानीय कार्यकर्ता च्छोतर शेर्पाले सरकारले चाँडोभन्दा चाँडो सुरुङमार्ग खोल्ने हो कि के गर्ने हो बाँध क्षेत्रमा हिड्न सक्ने बाटो निर्माणमा ढिला गर्न नहुने बताए ।
गएको प्रदेश सभा र प्रतिनिधि सभामा राजनैतिक पार्टीका उम्मेद्वारहरुले यही सडक हुँदै उत्तरी नाका खोल्न मुख्य मुद्धा बनाउँदै आएका छन् । दोलखा क्षेत्र नं. २ बाट प्रदेश सभा निर्वाचित सदस्य पशुपति चौलागाईले जसरी पनि आफ्नो कार्यकाल भित्र तिब्बतसँगको नाका खोल्ने बताए । लामाबगरदेखि तिब्बत सिमा लप्चीसम्म ३२ किलोटर सडक निर्माण गर्नु पर्ने सडक विभागको सर्भे रेकर्डमा छ ।

Shares

Be the first to comment on "लामाबगर–तिब्बत सिमा सडकको काम सुरु"

Leave a comment

Your email address will not be published.


*