समय वित्यो तर सुध्रेन सडक

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट, १७ भदौ
ठेकेदारको लापरबाहीका कारण अस्तव्यस्त बनेको खाडीचौर–चरिकोट सडक सुधार्न गरेको उच्चस्तरीय प्रतिबद्धताको समय वित्यो तर अझै सुध्रिएको छैन । ठेकेदारहरुले १० दिनभित्र अस्तव्यस्त सडकलाई सवारी आवागमन सहज बनाउन प्रतिवद्धता गरेको समय गुज्रे पनि सडक भने जस्ताको तस्तै छ ।
१० दिनअघि अर्थात भदौ ७ गते दोलखा, रामेछाप र सिन्धुपाल्चोकका जनप्रतिनिधि तथा प्रदेशसभाका ३ जना मन्त्रीहरुको रोहबरमा ठेकेदारहरुले १० दिनभित्र सडक मर्मत गरी साना सवारी आवतजावतलाई सहज बनाउने लिखित प्रतिपद्धता गरेका थिए । तर उनीहरुले गरेको लिखित प्रतिवद्धताको समय गुज्रिए पनि सडकको अवस्था भने सुध्रिएको छैन ।
दुईवटा प्याकेजमा काम भैरहेको उक्त सडकको पहिलो प्याकेजको ठाउँठाउँमा ठुला सवारीहरु अड्किएका छन् । ती अड्एिका ठुला सवारीहरुले साना सवारीहरुको समेत बाटो घण्टौँ थुनिने गरेको छन् । ठुलाठुला खाल्डा परेर सवारी अििड्कँदा तिनलाई निकालिदिने स्काभेटरहरु समेत राखिएका छ्रैनन् । यसको मारमा अन्य सार्वजनिक यातायातका सवारीहरु समेत पर्ने गरेका छन् । सडकको दुरावस्थाका कारण करिब ४ घण्टाको बाटो छिचोल्न यात्रुबाहक सवारीहरुलाई १० घण्टाभन्दा बढी लाग्ने गरेको छ ।
सडकको दुरावस्था हुँदा यात्रुले मात्रै सास्ती भोगेका छैनन्, दोलखा र सोपूर्वका क्षेत्रको आर्थिक अवस्था पनि डामाडोल भएको छ । सडककै कारण सामान ढुवानीमा ढिलासुस्ती हुँदा माथिल्लो तामाकोशी जलविद्युत आयोजना पनि ढिलासुस्ती भएको छ । ढिलासुस्तीका कारण आयोजना प्रतिदिन डेढ करोड बढी व्याज तिर्न बाध्य भएको छ । सडककै कारण आयोजना झनै महँगिदै गएको छ । आयोजनाका सामान बोकेका सवारीहरु सडकका विभिन्न ठाउँमा अलपत्र छन् ।
खाडीचौर–चरिकोट सडक हुँदै बसमा यात्रा गर्दैगरेका दोलखा गैरीमुदीका भीमकुमार श्रेष्ठ पनि सडक दुरावस्था देखेर ठेकेदारप्रति आक्रोसित छन् । उनले सडकको अवस्थामा कुनै सुधार नआएको, सडक वरपर कहीँकतै केही काम नभएको बताए । १० दिन अघि र पछिको सडकमा कुनै फरक नभएको बताए ।
सडकको दुरावस्थाले यात्रुभन्दा बढी सवारी चालकहरु झनै आक्रोसित छन् । चालकहरुको सामुहिक स्वर छ, ‘सडकको यस्तो अवस्था भएर जनताले यती धेरै दुःख पाउँदा पनि ठेकेदारलाई कारबाही हुँदैन, यो देशमा केही हुँदैन !’ सवारी चालक दावा तमाङले भने आफ्नो पनि ज्यान धरापमा राखेर हिड्नु परेको छ ।
दोलखा जिल्लाका प्रदेशसभा सदस्य विशाल खड्काले ठेकेदारले सडक सुधारमा चासो नदेखाएपछि दोलखाली जनताले नै वैकल्पिक उपाय खोज्नुपर्ने बताए । उनले अब एउटा बैठक आयोजना गरेर ठेक्का तोड्ने प्रक्रियामा लाग्नुपर्ने बताए । लामोसाँघु जिरी सडक आयोजना प्रमुखप्रति लक्ष्यित गर्दै उनले सरकारकै प्रतिनिधिका कारणले सडक निर्माण ढिलो भएको बताए । उनले भने, ‘सरकारको काममा असहयोग गर्नेलाई कारबाही गर्न नसक्ने हाम्रो कानुन पनि त्यस्तै रहेछ ।’
खाडीचौर–चरिकोट सडक पहिलो प्याकेज विस्तारको ठेक्का पाएको गौरीपार्वतीका कन्ट्राक्ट मेनेजर डोरमणि पौडेलले पानीको कारण देखाउँदै सडक सुधार गर्न नसकेको स्वीकार गरे । उनले सबैभन्दा बिग्रिएको ठाउँमा ग्राभेल हालेर मर्मत गर्न खोजेको तर पानीले बगाएको बताए । सडक सुधार गर्न आफूहरु सबै सामानसहित तयार रहेको दावी गरे । उनले भने, ‘हामी ग्रेडर, रोलर, ग्राभेल सबै सामग्री तयार गरेर बसेका छौँ, पानी हटेको २ र ३ दिनमै सानो गाडी पनि सजिलोसँग आवतजावत गर्न सक्ने बनाउँछौँ ।’
दोस्रो प्याकेजका ठेकेदार दीपक सापकोटाले पनि पानीका कारण सडक सुधार गर्न नसकेको स्वीकार गरे । उनले भने, ‘ग्राभेल हाल्यो, बगाउँछ, पानी रोकिएको छैन ।’ ग्रेडर, रोलर, ग्राभेल लगायतका सामग्रीसहित तयारी अवस्थामा रहेको र पानी रोकिएको ४÷५ दिनमै सबै बाटो सुधार गर्न सकिने बताए ।
लामुसाँघु–जिरी सडक आयोजना प्रमुख केदार नेपालले पानीका कारण ठेकेदारहरुले काम गर्न नसकेको भन्दै ठेकेदारहरुको बचाउ गरे । उनले पानी केही कम हुनेवित्तिकै ठेकेदारहरु काम गर्न र सडक सुधार गर्न तयार रहेको बताए । उनले पनि ठेकेदारहरुले सबै सामान तयार गरी बसेको दावी गरे ।
दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले ठेकेदारहरु सम्पर्कमा रहेको र पानी हट्नेवित्तिकै सुधारको काम गर्ने प्रतिवद्धता गरेको बताए । पानी क्रमशः हट्दै गएको र पानी हटेपछि पनि सडक सुधारको काम ढिलासुस्ती भए अर्को कदम चालिने बताए ।
पहिलो प्याकेज खाडीचौरदेखि २५ किलोमिटर र दोस्रो प्याकेज थप ३० किलोमिटर छ । पहिलो प्याकेजको १४ किलोमिटरदेखि १९ किलोमिटरसम्म सडक धेरै बिग्रिएको छ भने दोस्रो प्याकेजको सडक बिग्रिएको भए पनि सवारी साधनहरु अड्किने अवस्थाको छैन ।
पहिलो प्याकेज विस्तार र कालोपत्रेको ठेक्का भारतको सीमाञ्चल निर्माण कम्पनी र नेपालका गौरीपार्वती तथा सुनौलो खिम्ती कन्स्ट्रक्सन जेभीले पाएको थियो । त्यसैगरी दोस्रो प्याकेजको ठेक्का भारतको सकिल हैदर संगथ र शंकरमाली तथा सुनौलो खिम्तीले पाएको थियो ।
पहिलो प्याकेजको काम गत अक्टोबर २०१५ देखि सुरु गरिएको स्तरोन्नति कार्य दुई वर्ष अर्थात् २०१७ को अक्टोबरसम्ममा काम सकाउने गरी ठेक्का लगाइएको थियो । त्यसैगरी दोस्रो प्याकेजको काम २०१५ को जुन १४ मा सम्झौता भएको र २०१८ को १ मार्चमा सडक स्तरोन्नति कार्य सकाउने गरी ठेक्का लगाइएको थियो ।

Shares

Be the first to comment on "समय वित्यो तर सुध्रेन सडक"

Leave a comment

Your email address will not be published.


*