सिंगटी हाइड्रोले एक वर्षपछि सेयर जारी गर्ने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा, ३१ असार – सिंगटी हाइड्रो इनर्जी कम्पनीले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ । कम्पनीले सिभिल क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
शेयर निष्काशन सम्बन्धि सम्झौतामा हाइड्रोपावरका कार्यकारी निर्देशक गणेश कार्की र सिभिल क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले हस्ताक्षर गरेका हुन । कम्पनीले दोलखामा निर्माणाधीन २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याइएको स्वपुँजी लगानीको ३० प्रतिशत सेयर निष्कासनको तयारी गरेको हो ।
निष्कासन हुने कुल सेयरमध्ये १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको कम्पनीका निर्देशक काजी लामाले जानकारी दिए । यो सेयर धितो पत्र बोर्डबाट स्वीकृत पाएपछि जारी हुने उनले बताए ।
कम्पनीका महाप्रबन्धक रमेश अधिकारीका अनुसार स्थानीयका लागि छुट्याइएको सेयर स्वपुँजी लगानीको १० प्रतिशत हो । यस्तै, सर्वसाधारणका लागि २० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर निष्कासन गरिनेछ । सेयर निष्कासन गर्न आवश्यक सबै प्रक्रिया पूरा गरेर स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने तयारी भइरहेको पनि अधिकारीले बताए ।
पहिलो चरणमा स्थानीयका लागि सेयर निष्कासन गरेर बाँडफाँड गरेपछि सर्वसाधारणका लागि बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ । कम्पनीले निर्माण गरिरहेको सिंगटी जलविद्युत आयोजना तीव्र गतिमा अघि बढेको छ ।
अबको एक वर्ष्भित्र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाको ७० प्रतिशत निर्माण पूरा भएको छ । सिंगटी खोला विगू गाउँपालिक वडा नं. ४, ५ र ८ कालिञ्चोक गाउँपालिका वडा नं. २ र ३ मा निर्माणाधिन छ । सिंगटी खोलामा सिभिल बैंकको नेतृत्वमा एक दर्जन बैंकहरुले लगानी गरेका छन् ।

Shares

Be the first to comment on "सिंगटी हाइड्रोले एक वर्षपछि सेयर जारी गर्ने"

Leave a comment

Your email address will not be published.


*