सिंचाइका पाइप जोगाउँन “रकउल”

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
दोलखा, दोलखामा सिँचाइका पाइप डढेलोबाट जोगाउन भुवाको प्रयोग थालिएको छ । भुवा र पाइप नौलो होइन तर त्यसको प्रयोग गरेर पाइप बचाउन भने यो नौलो प्रयोग हो । वर्षेनी आगोले पाइप जलेर योजना नै अबरुद्ध हुन थालेपछि दोलखामा यसको नयाँ प्रयोग गरिएको हो ।
पोलिथिन पाइपलाई “रकउल” अर्थात ढुङ्गा जस्तै भुवा, जाली र प्लेन पाताले ३ तहमा ढाकेर मोड्ने प्रयोग हो । सिचाइ विकास डिभिजन कार्यालय चरिकोटले अहिले डढेलोले बढी प्रभावित नाम्दुस्थित बेताने जंगली क्षेत्रमा उक्त प्रविधि प्रयोग गरिएको छ । पाइपलाई रकउल, त्यसमाथि जाली र प्लेनसिटले बेरेर आगो लगाई परीक्षण समेत गरिँदै आएको छ ।
सिचाई योजना बनायो कतिपय जंगल क्षेत्र र ठूला भीरमा पाइपबाट लैजान समस्या थियो । त्यसमाथि वर्षेनी डढेलो लाग्ने ठाउँमा त सिंचाइ योजना नै असफल हुने भएकाले विकल्पको रुपमा यस्तो प्रयोग गरेका डिभिजन प्रमुख कृष्णप्रसाद रिजालले जानकारी दिए ।
“हामीले विल्कुल नयाँ प्रविधि ल्याएको होइन, स्थानीय बजारमै पाइने सामानहरुलाई नौलो प्रयोग मात्र गरेका हौं” उनले भने “विभिन्न उपायको खोजी हुँदा समस्याको भरपर्दो उपाय खोज्दै ‘रकउल’ प्रविधि अपनाइएको सफल भयो ।” बैतेश्वर गाउँपालिका वडा नं. ६ नाम्दूको महादेवस्थान खहरे खोला सिंचाइ योजनाको लागि बेतानेमा ४४ मिटर पोलिथिनलाई अग्निनिरोधक बनाइसकिएको उनले जानकारी दिए ।
कार्यालयलाई यस वर्ष जिल्लाको करिब ७० किमि सिँचाइ पोलिथिन पाइपबाटै गर्नुपर्ने बाध्यता छ । यस्तोमा जंगलको बीचबाट पाइप लैजाँदा डढेलोले नष्ट हुने जोखिम रहन्छ । ढुंगालाई भट्टीमा गालेपछि सिसाजस्तो वस्तु बन्छ ।
यसैलाई ‘रकउल’ अर्थात् ‘ढुंगाको भुवा’ भनिएको हो । त्यसैको प्रयोग यहाँ गरिएको हो । यो प्रयोग भने देशमै पहिलो हुन सक्ने उनले दाबी गरे । यो प्रविधि सिमेन्टभन्दा सस्तो पर्छ ।
भूकम्पपछि जिल्लामा ढुंगा, गिट्टी, बालुवाको अभावसँगै मूल्य बढ्यो । सिमेन्ट, बालुवा र ढुंगाको कुलो बनाउन डकर्मीसमेत पाइएन । यस्तोमा कार्यालयसँग पोलिथिन पाइप बिछ्याउनुको विकल्प रहेन । पाइप विच्छ्याउँदा पानी पनि कतै नचुहिने र छिटो पुग्ने भएकाले पनि पछिल्लो समय पाइपको प्रयोग सिंचाइमा बढ्न थालेको छ ।
रकउल छुँदा जिउ चिलाउने र खटिरा आउने भएकाले बाँदरले पनि पाइप बिगार्न पाउँदैन । मानिसले पनि हत्तपत्त काट्न सक्दैन । रकउल प्रयोग गर्दा प्रतिमिटर २ हजार रुपैयाँ खर्च लागेको छ । यो ढुंगा, सिमेन्ट र बालुवाको प्रयोगबाट कुलो बनाउनुभन्दा सस्तो रहेको कार्यालयका सव इन्जिनियर सञ्जिव खड्काले जानकारी दिए ।
सिचाइका लागि बेतानेमा रहेको भीरमा पाइप नै राख्नुको कुनै विकल्प थिएन, त्यसैले ४४ मिटर पाइपमा यस्तो प्रयोग भयो । पहिला पाइपलाई रकउलले बेरियो, रकउललाई बाँध्न कुखुरे जाली बनाएर बाँधियो त्यसपछि बाहिरबाट प्लेन पाताले ढाकिएको उनले जानकारी दिए । ढाकिएपछि आगोले खान्छ कि खाँदैन भनेर जंगलमै आगो समेत बालेर पोल्दा नडढेपछि प्रयोग सफल भएको उनले बताए ।
रकउल गरिएको पाइपमा ‘लाइफटाइम ग्यारेन्टी’ रहने कार्यालयको दाबी छ । उक्त डिभिजनअन्तर्गत सिँचाइका १ सय ६ वटा योजना छन् । सबै योजनामा रकउल प्रयोग बढाउँदै लैजाने कार्यालयको तयारी छ । रकउल विशेषगरी रेडियोहरुको स्टुडियो निर्माणमा प्रयोग हुँदै आएको छ ।

Shares

Be the first to comment on "सिंचाइका पाइप जोगाउँन “रकउल”"

Leave a comment

Your email address will not be published.


*