१६ दिनमा उठ्यो, अप्पर तामाकोसीमा दोलखालीको १ अर्ब ७९ करोड

ताजा समाचारको लागि फलो गर्नुहोस ।

श्रृजनकुमार घिमिरे
दोलखा, ३१ साउन
अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीको सेयर आवेदनबाट १ अर्ब ७९ करोड ७९ लाख रुपैयाँ संकलन भएको छ । दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा लगानी गर्ने स्थानीयले दिएको आवेदनबाट यो रकम संकलन भएको हो ।
बुुधबारसम्ममा १६ दिनको अवधिमा आयोजनामा लगानी गर्न ८८ हजार ८ सय आवेदन परेको कम्पनीका प्रमुुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । उनका अनुसार १८ हजार २ सय ८१ आवेदन दोलखाबाट र ७१ हजार ४ सय ५० आवेदन राजधानीमा बसोबास गर्दै आएका दोलखालीबाट परेको छ । राजधानीबाट प्रतिव्यक्ति औसतमा २१ हजार रुपैयाँ बराबरको सेयर आवेदन परेको छ । दोलखाबाट पनि औसतमा प्रतिव्यक्ति १६ हजार रुपैयाँका दरले आवेदन परेको छ ।
आयोजना प्रभावित दोलखाबासीका लागि १ अर्ब ५ करोड ९० लाख बराबरको सेयर संकलन दोलखा र काठमाडौंबाट सुरु भएको छ । दोलखाका २६ र काठमाडौंका ११ वटा संकलन केन्द्रबाट सेयर संकलन जारी छ । तर सबैभन्दा बढी काठमाडौंबाट सेयरमा आवेदन परेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
सेयरमा आवेदन दिनेको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । दोलखामा भने भदौ १४ गतेसम्म सेयर संकलन हुन्छ । सहरमा मात्र बैंकहरु भएर गाउँमा नगए तापनि जनप्रतिनिधिहरुले गाउँगाउँमै फाराम लगेर सेयर भर्ने व्यवस्था गरेका छन् । गाउँमा लगेको फाराम बैंकमा छिटफुट बाहेक बैंकमा नआएको महालक्ष्मी विकास बैंक चरिकोटका प्रबन्धक विश्वास पाण्डेले बताए । गाउँमै फाराम गएपछि बैंकमा भने भीडभाड घटेको छ ।
सेयर आवेदनका लागि बैंकमा स्थानीयको भीड लागेपछि संकलन केन्द्र आसपासका बजारको होटल व्यापार समेत बढेको छ । त्यसैगरी फोटोकपी र फोटो स्टुडियोमा समेत भीड देखिएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ जेठ १२ मा जारी भएर नयाँ व्यवस्था भए तापनि अप्पर तामाकोसीमा स्थानीयलाई भने पुरानै प्रणाली अनुसार सेयर आवेदनको व्यवस्था गरेको छ । यसले सेयर आवेदनका लागि नागरिकता, बच्चाको हकमा जन्म दर्ताको फोटोकपी र फोटो अनिवार्य छ ।
परेका आवेदनहरुमा क वर्गका लागि २ हजार ४ सय, ख वर्गका लागि २३ हजार र ग वर्गका लागि ५८ हजार परेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
जिविसको कार्यालय, दोलखाले २०७१ सालमा लिएका घरपरिवार तथ्याङ्क सर्भेक्षणबाट प्राप्त दोलखा जिल्लाको जनसंख्या विवरणलाई शेयर निष्काशन, वाँडफाँड तथा विक्री प्रयोजनको लागिआधार मानेको छ । जस अनुसार दोलखा जिल्लाको जनसंख्या २८२१२५ रहेको छ ।
अति प्रभावित क्षेत्रका लागि ४४३२ लागि ४ प्रतिशत शेयर (४२३६०० कित्ता, प्रभावित क्षेत्र ८२ हजारका लागि ३६ प्रतिशत अर्थात् ३८ लाख १२ हजार ४ सय कित्ता छुट्याएको छ । त्यसैगरी प्रभावित क्षेत्रमा ६० प्रतिशत शेयर ६३ लाख ५४ हजार कित्ता छुट्याएको छ । प्रभावित क्षेत्रमा २ लाख जनसंख्या छन् ।
अहिलेसम्म आवेदन गर्नेहरु अधिकाँशले अधिकतम सिमा ३० हजार बराबरकै सेयरमा आवेदन गरेका छन् । ३० हजारको आवेदन गर्नेहरु पनि काठमाडौंमा बसोबास गर्नेहरु नै बढी देखिन्छ । आयोजनाका प्रवक्ता. डा. न्यौपानेले अहिलेको आवेदन औसतमा २० हजार प्रतिव्यक्ति परेको बताए । यही अनुपातमा आवेदन भए यही साता नै माग बराबरको आवेदन पर्ने अनुमान गरे । अहिलेसम्म जिल्लामा डेढ लाख बढी फाराम वितरण भएको छ ।
अप्पर तामाकोसीको सेयर जलविद्युत आयोजनाको अहिलेसम्मको सबैभन्दा ठूलो सेयर हो । सरकारले समेत यसलाई उच्च प्राथमिकता दिंदै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन स्वयम् दोलखा आएर संकलनको सुभारम्भ गरेका छन् । स्थानीयका लागि वितरण भएको सेयरमा यो नै सबैभन्दा बढी विक्री हुने अनुमान छ ।

 

Shares

Be the first to comment on "१६ दिनमा उठ्यो, अप्पर तामाकोसीमा दोलखालीको १ अर्ब ७९ करोड"

Leave a comment

Your email address will not be published.


*