अझै पनि टहरामै विद्यालय सञ्चालन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर विश्वकर्मा ÷चरिकोट ः दोलखाको भीमेश्वर नगरपालिका–८ बोचमा अवस्थित देवी मावि अझै पनि टहरामा सञ्चालन भइरहेको छ । ठेकेदारले समयमैं भवन निर्माण सम्पन्न नगर्दा विद्यालय टहरामानैं सञ्चालन गर्न बाध्यात्मक अवस्था आएको हो । २०७२ सालको आम विनाशकारी भूकम्पले क्षतिग्रस्त सो विद्यालयको नयाँ भवन ठेकेदारले अझै सम्पन्न गर्न सकेको छैन ।
भूकम्पले क्षतिग्रस्त अधिकांश विद्यालयका नयाँ र सुविधासम्पन्न भवनहरु निर्माण भएपनि देवी माविको भने नयाँ भवन निर्माणमा ढिलाई हुँदा टहरामा पठनपाठन गर्न बाध्य हुनुपरेको प्रधानाध्यापक किशोर दाहालले गुनासो गर्नुभयो ।
“अरु ठाउँमा पक्की भवनमा विद्यालय सञ्चालन भइरहेको छ । तर हाम्रो विद्यालयले भने टहरामा नैं चलाउनु पर्ने बाध्यता छ ।”दहालले भन्नुभयो “नयाँ भवन निर्माण सुरु भएको तीन वर्ष भइसक्यो । तर, निर्माण कार्य अझै सकिएको छैन ।”
प्रधानाध्यापक दहालका अनुसार एसियाली विकास बैँकको आर्थिक सहयोगमा २०७७ भदौमा खानी निर्माण सेवाले एक वर्ष भित्र सक्ने गरी विद्यालय भवन निर्माण सम्झौता गरेको थियो । तर सो निर्माण कम्पनीले काममा ढिलाई गर्दा अझै पनि विद्यालय भवन पठनपाठन योग्य हुन सकेको छैन । निर्माण कम्पनीले ६ करोड ६८ लाख ७८ हजारमा विद्यालयको तीन तले दुई वटा भवन निर्माण र एउटा भवन सवलीकरणको जिम्मा पाएको थियो । प्रधानाध्यापक दाहालले दुई वटा नयाँ भवन बनेपनि निर्माण कम्पनीले फनिसिङको चरणमा पुगेर काम रोक्दा भवन अलपत्र भएको बताउनु भयो । कम्पाउन्ड, फर्निचर र सोलार जडानसहित फिनिसिङको काम बाँकी रहेको उहाँको भनाई छ ।
उहाँका अनुसार अहिले विद्यालयको पठनपाठन कार्य दुई सिफ्टमा सञ्चालन हुँदै आएको छ । अस्थायी टहारामा कक्षाकोठा अभावका कारण त्यसो गर्नु परेको हो । छाना तथा बार जस्ताको भएको कारण कक्षाहरुमा अहिले जाडो मौसममा चिसो हुने, एकअर्का कक्षाकोठाको आवाज आउने हुनाले पठनपाठनमा समस्या भएको छ । प्रधानाध्यापक दाहालले मुख्य ठेकेदारको पहिचान थाहा नपाउँदा निर्माण कार्य छिटो सक्न दबाब दिन नसकिएको बताउनु भयो ।

Shares

Be the first to comment on "अझै पनि टहरामै विद्यालय सञ्चालन"

Leave a comment

Your email address will not be published.


*